आइतबार, जेठ २६, २०८२

मालपोतमा मेला : २१ कर्मचारी, ४० जनालाई सेवा !

‘अझै पालो आएको छैन, अब चारपाँच दिनमा काम हुन्छ कि भन्ने आस छ’, चपाई भन्छन्, ‘चार दिनसम्म दिनभर लाइन बसें, साँझ उसै फर्किएँ। फेरि कति दिन बस्नुपर्ने टुंगो छैन।’ 
 |  आइतबार, माघ ११, २०७७

देव राना

देव राना

आइतबार, माघ ११, २०७७

सुुर्खेत मालपोतले चुस्त सेवा प्रवाह गर्न नसक्दा सेवाग्राही हैरान छन्।

सुर्खेत– मालपोत कार्यालय सुर्खेतमा विगत केही दिनदेखि सेवाग्राहीको भीड लाग्न थालेको छ। कर्मचारी हुन् वा सेवाग्राही कसैले  पनि भौतिक दुरी पालना गरेको छैन। 

कोरोनासँग सम्बन्धित अन्य स्वास्थ्य मापदण्डको ख्यालै नगरिँदा संक्रमणको जोखिम छ। पर्याप्त कर्मचारी दरबन्दी भए पनि एउटा काम गर्न पनि हप्तौं कुर्नुपर्दा सेवाग्राही मर्कामा परेका छन्।

मालपोतको ढिलासुस्तीबाट यस्तै पीडितमध्येका एक हुन् वीरेन्द्रनगर–१ का यसकुमार चपाई। उनी मालपोत कार्यालयमा धाउन थालेको आइतबार चार दिन बितेको छ।

‘अझै पालो आएको छैन, अब चारपाँच दिनमा काम हुन्छ कि भन्ने आस छ’, चपाई भन्छन्, ‘चार दिनसम्म दिनभर लाइन बसें, साँझ उसै फर्किएँ। अझै कति दिन बस्नुपर्ने टुंगो छैन।’ 

मालपोत कार्यालयले आइतबारदेखि टोकन प्रर्णाली लागू गरेका कारण अब केही दिनमा काम हुन सक्ने उनले बताए।

अर्का पीडित हुन् बनगाड कुपिन्डे नगरपालिका–४ सल्यानका अर्जुन पुन। उनले सुर्खेतमा जग्गा पास गर्न १६ दिन लागेको बताए। 
‘म जग्गा पास गर्न राति दुई बजे नै मालपोतमा जान्थें’ उनी भन्छन्, ‘आगो तापेरै रात बित्थ्यो।’ 

अर्जुनले १६ दिनमा जग्गा आफ्नो नाममा लिए। जग्गा आफ्नो नाममा आएपछि युद्ध जितेजस्तै भएको उनको अनुभव छ।

कोरोना त्रासका कारण रोकिएको जग्गा कारोबार ह्वात्तै बढेको कार्यालयले जनाएको छ। त्यसैले मालपोत कार्यालयमा जग्गाको नामसारी, धितो रोक्का लगायतका सेवा लिनेको भीड लाग्ने गरेको छ। 

सेवाग्राहीको भीड लागे पनि मालपोत कार्यालयले दैनिक ४० जनालाई मात्रै सेवा दिँदै आएको छ। 

‘हामीसँग २१ जना कर्मचारीको दरबन्दी छ। प्रायः सबै डिउटीमै हुनुहुन्छ तर दिनमा ४० जनाभन्दा बढीलाई सेवा दिन सक्ने अवस्था छैन’, मालपोत कार्यालय सुर्खेतका प्रमुख हिक्मतजंग शाही भन्छन्, ‘सानो गल्ती भए कर्मचारी फस्छन्। कागजपत्र जाँचबुझ गरेरमात्रै काम गर्नुपर्ने भएका कारण धेरै समय लागेको हो।’ 

एउटै काम विभिन्न फाँटमा रुजु गर्नुपर्ने भएका कारण समय लाग्ने गरेको शाहीले बताए।  यस्तै पटकपटक सर्बर प्रणालीमा समस्या आउँदा पनि काममा ढिलाइ भएको उनी बताउँछन्।  

कार्याललयले एक साताभित्र सेवा विस्तार गर्ने तयारी गरेको छ। ‘नापी कार्यालय पुरानो भवन प्रयोग गर्ने अनुमति पाइसकेका छौं’, कार्यालय प्रमुख शाहीले भने, ‘दुई ठाउँबाट सेवा प्रवाह भए मात्रै सहज हुन्छ।’ 

सेवा विस्तारका लागि मालपोतले हरेक स्थानीय तहलाई एक कर्मचारी÷एक कम्प्युटर उपलब्ध गराइदिन माग गरेको छ। 

कार्यालयले भेरीगंगा, लेकबेसी, पञ्चपुरी नगरपालिका तथा चिंगाड, चौकुने र बराहताल गाउँपालिकासँग कर्मचारी माग गरेको हो। 
सम्बन्धित स्थानीय तहले १६ गतेपछि मात्रै कर्मचारी पठाउने वचन दिएका छन्।

सेवाग्राहीको चाप बढेपछि वीरेन्द्रनगर नगरपालिकाले यसअघि नै दुई जना प्राविधिक कर्मचारी मालपोत कार्यालयमा खटाइसकेको छ। 
नगरपालिकाका दुई कर्मचारीले हाल बायोमेट्रिक रजिस्ट्रेसनको काम सिकिरहेका छन्। 

त्यस्तै गुर्भाकोट र सिम्ता गाउँपालिकाको सेवा भने मालपोतको मेहलकुना शाखाबाट हुँदै आएको छ।

सेवा विस्तार नहुँदासम्म मालपोत कार्यालयले बार र स्थानीय तहको सेवा प्रवाह गर्दै आएको छ। 

आइतबार र सोमबार चौकने गाउँपालिका, लेकबेसी नगरपालिका, पञ्चपुरी नगरपालिका, भेरीगंगा नगरपालिका, बराहताल गाउँपालिका र चिंगाड गाउँपालिकाका सेवाग्राहीलाई सेवा प्रवाह गरिँदै आएको मालपोतले जनाएको छ।

यस्तै मंगलबार, बुधवार, बिहीबार र शुक्रबार वीरेन्द्रनगर नगरपालिकावासीलाई सेवा प्रवाह गरिन्छ। 

एक कर्मचारीलाई जवाफ दिनै ठिक्क

मालपोत कार्यालयसँग सम्बन्धित दैनिकजसो कुनै न कुनै कार्यालयबाट पत्र आउँछ। जग्गा रोक्का, कित्ता काट, नामसारीलगायतका विषयवस्तुसँग जोडिएका ती पत्रको जबाफ दिन एक कर्मचारी खटिएका छन्।

‘एक जना कर्मचारीलाई त अदालत र प्रहरीको जवाफ फर्काउनै ठिक्क हुन्छ’, मालपोत कार्यालय खरिदार निर्मला भुसालले भनिन्, ‘कर्मचारी अभावकै कारण सेवा प्रवाहमा ढिलासुस्ती भएको हो।’ 

प्रकाशित: Jan 24, 2021| 09:10 आइतबार, माघ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।