मंगलबार, जेठ ७, २०८२

ओली ‘राष्ट्रवाद’ को प्रवर्द्धनमा सगरमाथाको अवरोध !

एउटा कुरा बिर्सन मिल्दैन– यो दुई पक्षीय वार्ता होइन, एउटा विदेशी च्यानलले लिएको अन्तर्वार्ता हो। अन्तर्वार्तामा ओलीले राष्ट्रियतासँग जोडेर धेरै कुरा गरेका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि जोडेका छन्।
 |  बुधबार, पुस २९, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, पुस २९, २०७७

प्रधानमन्त्री केपी शर्मा ओली फेरि एकपटक राष्ट्रवादको पगरी गुथ्न सफल भएका छन्। भारतीय टेलिभिजन च्यानल जी न्युजमा सोमबार प्रसारित ओलीको अन्तर्वार्तापछि उनका समर्थकमा राष्ट्रवाद जुर्मुराएको देखिन्छ। यसअघि भारतले एकतर्फी रूपमा नाकाबन्दी गर्दा उनका समर्थकमा यस्तै उत्साह देखिएको थियो। 

नेपाली राजनीतिक नेतामध्ये अत्यन्तै वाक्पटु ओली चतुर र चलाख खेलाडी मानिन्छन्। आफ्ना कुरा पुष्टि गर्न उनी आफ्ना तर्कमा  इतिहास, अध्यात्म र धर्म–संस्कृतिका यथेष्ट सन्दर्भ गाँस्छन्। 

जी न्युजमा डीएनए (डेली न्यूज एनालाइसिस) कार्यक्रमका प्रस्तोता पत्रकार सुधीर चौधरीसँगको अन्तर्वार्तामा ओलीले आफ्ना यी सबै क्षमताको उपयोग गरे र धेरैबाट प्रशंसित पनि भए।

डीएनए कार्यक्रमका प्रस्तोता पत्रकार सुधीर चौधरीसँगको कुराकानीमा ओली आफैं पनि प्रसन्न देखिन्थे। तर उनको प्रसन्नता लामो समय टिक्न सकेन। ओलीको राष्ट्रवादको मार्गमा उनै चौधरी बाधक बनिदिए–  टेलिभिजन कार्यक्रममार्फत सगरमाथाको नामै परिवर्तन गर्नुपर्ने धारणा अघि सारेर। 

चौधरीले मंगलबार प्रस्तुत गरेको आफ्नो कार्यक्रममा सन् १८५२ देखिको प्रसंग उप्काउँदै सगरमाथाका सन्दर्भमा भारतीय पक्षपोषण मात्र गरेनन् यसको नामसमेत परिवर्तन गर्नुपर्ने ‘लबिङ’ गर्न भ्याए। 

कतिपयले नेपाल–चीन सीमामा रहेको सगरमाथाबारे एउटा भारतीय पत्रकारले आफ्नो दाबी गर्नु निकै हल्का विषय हो भनेका छन्। तर पत्रकार चौधरी जुन बेला यसरी प्रस्तुत भएका छन्, त्यो अर्थपूर्ण छ। नेपालले नयाँ नक्सा जारी गरेपछि नेपाल–भारत सम्बन्ध त्यति सुमधुर देखिएको छैन।

यस्तो बेला चौधरीको नेपाल भ्रमणलाई अस्वाभाविक र सन्देहका दृष्टिले विश्लेषण गर्न थालिएको छ। संसद्को हठात् विघटनपछि प्रधानमन्त्री ओली नेपालभित्र निकै अलोकप्रिय छन्। संविधानको मर्मविपरीत आफ्नो ‘हठ’ पूरा गर्न ओलीले संसद् विघटन गरेको भन्ने आमधारणा छ। यस्तो पृष्ठभूमिमा आम नेपालीले पनि बुझ्ने गरी ओलीले हिन्दी भाषामा दिएको अन्तर्वाताले उनको प्रतिरक्षा गरेको कुरामा शंका छैन। तर त्यो प्रतिरक्षा नियोजित थियो भन्ने पनि केहीको तर्क छ। 

यद्यपि, यस्तै हिन्दी भाषाको प्रयोग अन्य नेता, विशेष गरी मधेसी अनुहारले गरेको भए नेपालमा त्यसको कस्तो प्रतिक्रिया उत्पन्न हुन्थ्यो होला? उक्त व्यक्तिको राष्ट्रियताबारे कसरी टिप्पणी गरिन्थ्यो होला? 

पत्रकार चौधरीले ओलीसँगको कुराकानीमा अधिकांश समय नेपाल–भारत सम्बन्धमा खर्चिएका छन्। यस सन्दर्भमा ओली नेपालको स्वार्थका पक्षमा दरोसँग उभिएको देखिएका छन्। सायद चौधरीसँग ओलीले गरेको कुराकानीको उद्देश्य पनि यही नै थियो।

एउटा कुरा बिर्सन मिल्दैन– यो दुई पक्षीय वार्ता होइन, एउटा विदेशी च्यानलले लिएको अन्तर्वार्ता हो। अन्तर्वार्तामा ओलीले राष्ट्रियतासँग जोडेर धेरै कुरा गरेका छन्। कालापानी, लिपुलेक र लिम्पियाधुरा पनि जोडेका छन्। प्रधानमन्त्रीका रुपमा ओलीको यो अडान  महत्त्वपूर्ण हो। आशा गरौं, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारत भ्रमणका क्रममा यससम्बन्धी कुरा उठान गर्नेछन् र सीमा विवादलाई सदाका लागि किनारा लगाउनेछन्।   

एउटा कुरा निश्चित हो, विगतमा ओरालो लागेको ओलीको लोकप्रियताको ग्राफ सोमबारको अन्तर्वार्तापछि केही सुधार भयो। ‘ड्यामेज’ हुँदै गरेको उनको ‘इमेज’ को केही भए पनि मर्मत हुन पुग्यो। 

ओलीसँगको कुराकानी लगत्तै पुरस्कारका रुपमा सायद सरकारकै व्यवस्थापनमा चौधरीले सगरमाथाको आधार शिविर कालापत्थरसम्म पुग्ने अवसर पाए र त्यहाँ पुगेर उनले सगरमाथाको नाम परिवर्तन गर्नेसम्मको कुरा गर्न भ्याए। 

सोमबारको कुराकानीपछि सच्चिएको अनुभव गरिएको ओलीको लोकप्रियताको ग्राफ मंगलबार चौधरीको सगरमाथा प्रस्तुतिपछि ओरालो लागेको छ। सगरमाथाबारे नेपालको राष्ट्रियतामाथि आघात पुर्‍याउने उनको अभिव्यक्ति बढी नै आलोचित भएको छ।

पुराना कुरा र सन्दर्भ छिटै बिर्सने आम प्रवृत्ति हो नै। यसमा नेपाली पनि अपवाद हुन सक्दैनन्। नेपालमा नाकाबन्दीको औपचारिक घोषणा भएको थियो कि थिएन? नाकाबन्दी के कारणले भएको थियो र नाकाबन्दी किन र कहिलेदेखि खुल्यो? नाकाबन्दीबाट संस्थागत र व्यक्तिगत रूपमा सबैभन्दा बढी लाभहानि कस–कसलाई भएको थियो? नाकाबन्दीबाटै राष्ट्रवादी छवि निर्माण गर्न ओली कति सफल भए? यसको लाभ ओली र उनको पार्टीलाई तीनै तहको निर्वाचनका सन्दर्भमा मिल्यो कि मिलेन?

यतिखेर यी प्रश्नको जवाफ खोज्नु किन पनि जरुरी छ भने ती सबै प्रकरणमा भारतीय सञ्चारमाध्यम कतै न कतै जोडिएका छन्। त्यसमा पनि जीटीभीको भूमिका जगजाहेर छ। 

यतिमात्र होइन, यिनै चौधरीले आफ्नो कार्यक्रममा विगतमा ‘अनर्गल’ सामग्री प्रसारण गरेको कुरा नेपालीको मनमस्तिष्कबाट विस्मृतिमा गइसकेको छैन। उक्त सामग्री प्रसारणपछि नेपालमा जीटीभीको प्रसारण नै बन्द गरिएको थियो। पछि यिनै चौधरीले त्यस सामग्रीका सम्बन्धमा क्षमायाचना गरेका थिए। 

अहिले यिनै चौधरीले बालुवाटारमा सहज प्रवेश पाई अन्तर्वार्ता लिएका छन् र नाकाबन्दीपछि एकपटक पुनः प्रधानमन्त्री ओलीको राष्ट्रिय छवि निर्माणमा सहयोग पु¥याएका छन्। त्यसैले उनको अन्तर्वार्तालाई लिएर अनेक शंका उत्पन्न भइरहेका छन्। 

उसो त चौधरीका यी दुवै ‘कभरेज’ स्वाभाविक हुन् कि अस्वाभाविक? चौधरीको भ्रमणलाई संयोगमात्र मान्न सकिएला त? यी प्रश्नको उत्तर पाउन  केही समय पर्खनु नै उचित हुन्छ। तर के निश्चित हो भने जी न्युजले यति बेला प्रधानमन्त्री ओलीको अन्तर्वार्ता लिनुको उद्देश्य टेलिभिजनको टीआरपी बढाउनु मात्र होइन। 

एक सय ३० करोड जनसंख्या भएको देशको टेलिभिजनका लागि तीन करोड जनसंख्या भएको देशको टीआरपीले खासै महत्त्व राख्दैन।
 

प्रकाशित: Jan 13, 2021| 10:51 बुधबार, पुस २९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...