बुधबार, वैशाख १७, २०८२

ब्रिटिस सेनालाई हराएको पर्सागढीमा भव्य विजयोत्सव

पर्सागढीमा वि.सं. १८७१ भएको युद्धमा गाउँले र नेपाली सेना मिलेर इस्टइन्डिया कम्पनीलाई हराएका थिए। सोही खुसीयालीमा २०५ वर्षपछि विजयोत्सव मनाइएको हो।
 |  आइतबार, पुस १९, २०७७

जियालाल साह

जियालाल साह

आइतबार, पुस १९, २०७७

पर्सा– नेपालले तत्कालीन ब्रिटिस साम्राज्यलाई पराजित गरेको ऐतिहासिक पर्सागढीमा आइतबार भव्य विजयोत्सव मनाइएको छ ।

नेपाली सेनाले निकालेको विजयोत्सवमा ऐतिहासिक युद्ध र योद्धाको पहिचान झल्किने पोसाक तथा बाजागाजासहित झाँकी प्रस्तुत गरिएको थियो।

उत्सवमा स्थानीयले तरबारसहितका घरेलु हतियार प्रदर्शन गरेका थिए।

पर्सागढीमा वि.सं. १८७१ भएको युद्धमा गाउँले र नेपाली सेना मिलेर इस्टइन्डिया कम्पनीलाई हराएका थिए। सोही खुसीयालीमा २०५ वर्षपछि विजयोत्सव मनाइएको हो।

विजययात्रामा सर्वसाधारणको ठूलो संख्यामा सहभागिता थियो। विजयोत्सव पर्सागढी नगरपालिकाका मेयर लोकनारायण यादवको सभापतित्वमा भएको थियो।

Metro Mart
worldlink

विजयोत्सव मनाउने क्रममा सदरमुकाम वीरगन्जबाट बिहान ८ बजे सुरु भएको साइकलयात्रा करिब १८ किलोमिटर पूरा गरी पर्सागढी पुगेको थियो।

कार्यक्रमकी प्रमुख अतिथि प्रदेश सभासद असियादेवी थरुनीले अंग्रेज सेनालाई नेपाली फौजले परास्त गरेको गौरवमय इतिहास बोकेको पर्सागढीको संरक्षण र संवद्र्धनमा सरोकारवालाको ध्यान जानुपर्ने बताइन्।

पर्सागढीकी उपमेयर अर्चना चौधरीले पर्सागढीको संरक्षण र प्रवद्र्धन गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाइन्।

नेपाली सेनाका कर्नेल मदनजंग राणाले पर्सागढीको इतिहास नेपाली सेना र फौजसँग जोडिएकाले संरक्षणमा जुटेको बताएका थिए।

सशस्त्र प्रहरी उपरीक्षक राजेन्द्र खढका, होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, पर्यटन पत्रकार संघका संयोजक शंकर अचार्यलगायतले सम्बोधन गरेका थिए।

स्थानीय युद्धकलाबाट जितेको त्यो युद्ध

वि‍.सं. १८७१ मा पर्सागढीमा भएको युद्धमा नेपाली सेनालाई स्थानीय रञ्जित चौधरीले वरपरका पाँच गाउँबाट सहयोग जुटाएका थिए। 

चण्डीप्रसाद गण श्रीपुर वीरगन्जका प्रमुख सेनानी (कर्नेल) मदनजंग राणाका अनुसार नेपाली सेनाका कमान्डरले स्थानीय रञ्जित चौधरीसँग सल्लाह गरी युद्ध रणनीति बनाएका थिए। 

चौधरीले अपनाएको स्थानीय युद्धकलाअनुसार नेपाली सेनाले ब्रिटिस सेनामाथि अंग्रेजी नयाँ वर्षका दिन आक्रमण गरेको इतिहास छ। 

पश्चिमको तिलाव र पूर्वको सिंघाई खोलामा बाँध बाँधेर नेपाली सेना र स्थानीय उत्तरबाट ब्रिटिस सेनामाथि जाइलागेका थिए। 

अत्याधुनिक हतियारसहित पर्सागढी हुँदै मकवानपुरमा आक्रमण गर्न आएका जेनिट मार्ललाई नेपाली सेनाले रोकेको थियो। 

चौधरीको अगुवाइमा कोही स्थानीयले नदीमा बाँध बाँधेका थिए। कसैले भोजनको बन्दोबस्त गरेका थिए त कसैले हतियार संकलन गरेका थिए। केही स्थानीयले गाउँबाट राँगा संकलन गरेका थिए। 

राणाका अनुसार नेपाली सेनाले रातिको समयमा राँगाको सिङमा मसाल बनाई इस्ट इन्डिया कम्पनीविरुद्ध धावा बोलेको थियो।

नयाँ वर्षको रमझममा रहेका ब्रिटिस सेनाले आक्रमणको भेउ पाउन सकेनन्। उनीहरू सिङमा मसाल बालेका राँगाको हुललाई सैनिकको भीड सम्झिएर निकै त्रसित भएर आक्रमणमा उत्रिए। यस क्रममा कोही डरले भागे भने केही नदीमा बगेर मरेका थिए। 

अत्याधुनिक हतियारले सम्पन्न ब्रिटिस सेनाको गोलाबारुद राँगामाथि प्रहार गर्दा सकिएको थियो। त्यसपछि खुकुरी, खुर्पा, हँसियालगायत घरेलु हतियारको सहयोगमा नेपाली सेनाले ब्रिटिस सेनालाई हराएको इतिहासमा उल्लेख छ। 

कतिपयलाई त नेपाली सेनाले लखेटी–लखेटी मारेको सेनाको इतिहास उल्लेख गर्दै प्रमुख सेनानी राणाले जानकारी दिए। 
राणाका अनुसार त्यति बेला इस्ट इन्डिया कम्पनीले नेपालका पाँचवटा नाकामा आक्रमण गरेको थियो।

पश्चिम क्षेत्रबाट डेबिट अकटल, गडबालबाट मेजर जनरल जेलेप्सी, गोरखपुरबाट जनरल सूर्यमान र पर्सागढी हुँदै मकवानपुरबाट जेनिट मार्लले आक्रमणको नेतृत्व गरेका थिए।

तीमध्ये तीन वटा नाकामा नेपाल पराजित भएको थियो भने दुई वटामा विजयी भएको थियो। विजयी गढीमध्ये पर्सागढी एक हो। 

तत्कालीन राजा गीर्वाणयुद्धका पालामा १८७१ चैत ८ गते भीमसेन थापा, यादव गिरी, शमशेर शाम, रणध्वज थापा र दलभञ्जन पाण्डेमार्फत जारी लालमोहरमा स्थानीय रञ्जित चौधरीको सहयोगमा ब्रिटिसलाई हराएको उल्लेख रहेको उनका छैटौं पुस्ताका अगुवा बृजमोहन बताउँछन्।

गढीमा रञ्जित चौधरीको कुलदेवता बन्हर बाबाको मन्दिर र विजयस्तम्भ छ। 

 

प्रकाशित: Jan 03, 2021| 12:43 आइतबार, पुस १९, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।