काडमाडौं– ठिक एक वर्ष अघि, अंग्रेजी नयाँ साल सुरु हुँदै गर्दा नेपाली खेलकुदमा धेरै कुराहरु प्रतिक्षित थिए। एकातिर खेलाडी, प्रशिक्षक र खेल अफिसियलमा १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा ल्याएको ऐतिहासिक सफलताको बहार सकिएकै थिएन। पोहोरको मंसिर २७ गते नै त हो झरीमा रुझ्दै खेलाडीले नगर परिक्रमा गरेको।
त्यसको सम्झना त अझै ताजा नै छ।
अर्काेतिर एउटा महत्वपूर्ण खुड्किला पार गरेको नेपाली खेलकुद अर्को चुनौतीको खोजीमा थियो। सागमा थाकेका खेलाडी विश्राम सकेर खेलकुद फर्कने आशामा पर्खिबसेका थिए।
तर त्यसअघि नै अखिल नेपाल फुटबल संघ (एन्फा)ले सहदि स्मारक ए डिभिजन लिग सञ्चालन गरेरे चौथो चरणका खेल सकिँदै थिए। तर नेपालले लिग फुटबलमा दर्शक पाउन नसकेको पीडा कायम थियो। दशरथ रंगशालामा खेल थियो, दर्शक थिएनन्।
नेपाली फुटबल इतिहासले सम्झन लायक एउटा रेकर्ड कायम भयो। च्यासल युथ क्लबका सन्तोष साहुखलाले लिग खेलमा सय गोल पूरा गरे। साहुखलाले राष्ट्रिय कीर्तिमान बनाउँदा ब्याडमिन्टनका प्रिन्स दहाल विश्व वरियताको चौधौं स्थानमा उक्लिएको खुसी नेपाली खेलले मनाउँदै थियो।
फुटबलले गति लिन सुरु गर्दा क्रिकेटमा पनि सुनौलो खबर आयो। ईपीएल (एभरेष्ट प्रिमियर लिग)को नयाँ मिति घोषणापछि क्रमशः दिग्गज विदेशी खेलाडी नेपाल आएर खेल्न तयार हुँदै गए।
भर्खरै मात्र निलम्बन फुकुवा भएको क्यानले खेलाडीलाई पुस २६ मा बन्द प्रशिक्षणमा बोलाएको थियो। त्यसले अन्तरराष्ट्रिय क्रिकेट नजिकिँदै गरेको संकेत दिन्थ्यो।
एक वर्ष त भइसकेको थियो नेपालले एक दिवसीय नखेलेको पनि। त्यसैले आईसीसीले आयोजना गर्ने विश्वकप लिग दुईको एउटा शृङ्खलाको लागि क्यानले नेपाली टिम तयार गर्दै थियो।
बन्द प्रशिक्षणमा सामेल क्रिकेटर पारख खड्काले क्यान निलम्बनको फुकुवासँगै नेपाली क्रिकेटले चाँडै नयाँ उचाइ लिने विश्वास व्यक्त गरेका थिए। नयाँ वर्षमा नयाँ महत्वाकाक्षाका साथ सुरु भएको थियो वर्ष २०२०।
बिर्सन नहुने एउटा कुरा के हो भने चर्चित हास्य टेलिशृङ्खला मेरी बास्सैका धुमुस अन्तरराष्ट्रिय रंगशाला बनाउन महायज्ञ लगाउने तरखरमा थिए।
नयाँ वर्षमा खेलहरु पनि नयाँ सिराबाट चल्न थाले। एभरेष्ट राष्ट्रिय तेक्वान्दो सम्पन्न भयो, एमए कप क्रिकेट आर्मीले जित्यो, एपीएफले राष्ट्रिय महिला क्लब भलिबल जित्यो। पुरुषतर्फको क्लब भलिबल भने हेल्प नेपालले कब्जा गर्यो।
सागपछि विस्तारै जम्न थालेको खेल किन रोकिन्थ्यो। प्रधानमन्त्रीले सागमा घोषणा गरेको पुरस्कार विर्सिएर खेलाडी खेलमा निस्कन थाले।
त्यही खेलको तरंगमा त हो नेपाली खेलकुद फेरि एकपटक तरंगित बनेको। जब युनिभर्स बोस क्रिस गेल ईपीएल खेल्न नेपाल आउने समाचार सार्वजनिक भयो।
फेब्रुअरीमा नेपालले तामझामका साथ विश्वस्तरको लिग २ अन्तर्गतको त्रिपक्षीय शृङ्खला आयोजना गर्यो। यो नेपालको पहिलो आयोजनासमेत थियो, जसमा नेपालले पचास प्रतिशत जित निकाल्यो। अमेरिकालाई जित्यो र ओमनसँग हार्यो।
अनि फेरि नेपाली क्रिकेटमा एउटा समाचार प्रवाहित भयो– मुख्य प्रशिक्षक उमेश पटवालले राजीनामा दिए। उनको राजीनामासँगै एसिया कपका लागि पूर्वी क्षेत्रीय छनोट खेल्न थाइल्यान्डमा गएको बलियो टिम नेपालले टी–२० क्रिकेटमा जित निकाल्न सकेन।
यता, ए डिभिजन फुटबलमा ६ वर्षपछि थ्रिस्टार क्बलका सञ्जोक राईले ह्याट्रिकको चमत्कार देखाए। यही वर्षमा फागुनको ३ गते त हो एपीएफका आशिष लामाले सर्वाधिक ९ गोल गरेका, मछिन्द्रले पहिलो पटक लिग जितेको अनि सरस्वती क्लबले रेलिगेसनको क्षति बेहोरेको।
अनि, त्यही दिन थियो, प्रशिक्षक योहान कालिनले विश्वकप छनोट खेल्ने नेपाली टिम घोषणा गरेका। त्यसैले, खेलमा मन्त्रमुग्ध भएर लागिरहेको बेला थियो त्यो।
शिशिर सकिँदै गर्दा माईभ्यालीदेखि खप्तड गोल्ड कपसम्म, दिदीबहिनी कपदेखि प्रदेशस्तरीय भलिबलसम्म, बक्सिङ–स्क्वासदेखि मदन भण्डारी दौडसम्मका खेल पनि सकिँदै थिए।
तर फागुन २२ गते ईपीएल आयोजकले प्रतियोगिता नगर्ने बतायो। कोरोना भाइरसका कारण नेपालमा पहिलो पटक त्यही प्रतियोगिता रोकिएको थियो।
त्रिभुवन विश्वविद्यालयको मैदानमा चैत १ गतेबाट आयोजना हुँदै थियो ईपीएल। तर आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक अमिर अख्तरले सोल्टी होटलमा फागुन २२ गते कार्यक्रम गर्दै प्रतियोगिता स्थगित भएको कुरा बताएपछि नेपाली खेलकुदमा पनि कोरोनाको कहर सुरु भयो।
त्यही दिन एन्फाले महिला लिगको तालिका सार्वजनिक गरेको थियो। अर्काेतिर सोही दिन युवा तथा खेलकुद मन्त्रालयले खेलकुद स्थगित गर्न सम्बद्ध संस्थालाई आग्रह गर्यो। मन्त्रालयको कदम पछ्याउँदै राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल रोक्न निर्देशन नै दियो।
अनि रोकियो नेपालमा खेल गतिविधि।
बेलायतसँगको २०४ वर्षे दौत्य सम्बन्धमा पहिलोपटक नेपाली टोलीले इंग्ल्यान्डको टोलीसँग खेल्दै थियो। त्यो पनि रोकियो। अर्कातिर विश्वकप र एसिया कप छनोट पनि सर्यो।
व्यस्त खेलाडी आ–आफ्नो घर लागे। कोरोनाले मैदान, संघ, राखेप सबै बन्द गरिदियो। देशै बन्द जस्तो भयो खेलकुदको मात्र के कुरा भयो र ?
त्यतिबेलाबाट रोकिएको खेल अझै राम्रोसँग सुरु हुन पाएको छैन।
महामारीको त्यो भेलले प्रतियोगिता, खेलाडीको अभ्यास, खेलकुद संघको कार्यक्रम, सम्मान सबै बगाएर लग्यो। अनि घरमै थन्किएका खेलाडी र अफिसियल, पत्रकारले सम्झिए सागको पुरस्कार।
प्रधानमन्त्री केपी शर्मा ओलीले सागका स्वर्ण विजेता खेलाडी र प्रशिक्षकलाई ठूलो पुरस्कारको सपना देखाए पनि सरकारले दिएको थिएन। त्यसको आवाजले सामाजिक सञ्जालमा चैत महिना बुलन्द बन्यो। नभन्दै सोही महिनाको अन्तिम र वैशाखमा गरी सबै खेलाडीले पुरस्कारको रकम पाए। प्रशिक्षकले केही समयपछि पाए।
संसार नै रोकिएको वा पछि धकेलिएको भन्ने टिप्पणी आइरहँदा नेपाली खेल अधिकारीले पनि सोही कदम पछ्याउँदै खेल पुनः सुरु गर्न गाह्रो हुने बताइरहेका थिए।
यो पनि पढ्नुहोस्: खेल क्षेत्रमा कोरोना आक्रमण
नेपालमा खेल रोक्नका लागि सुझाव आइरहँदा इटाली, स्पेन, इंग्ल्यान्डमा खुरुखुररु खेल हुन थाले। नेपालको सन्दर्भमा सुरुमा एक हप्ता मात्र खेल रोक्ने निर्णय भएको थियो। तर सरकारले लकडाउन लगाएपछि खेलकुद संस्थाहरुको केही जोर चलेन।
एक पटक भत्किसकेको तालिका मिलाउन राखेप र विभिन्न संघहरुले अझैसम्म पनि सकेका छैनन्। नेपालमा मात्र होइन। विश्वभरी नै खेल तालिका लयमा फर्किसकेको छैन।
यो पनि पढ्नुहोस् : खेल ठप्प भएपछि के गर्दैछन् क्रिकेटर ?
मैदानमा खेल नभएपछि कतिपय खेलाडीहरु महामारीका कारण मारमा परेका मानिसलाई सहयोग गर्न जुटे भने कति खेलाडीलाई नै महामारी पीडाको विषय बन्यो।
राखेपले कोभिड–१९ राहत खातामा रकम राखेर खेलाडीलाई सहयोग गर्यो। एन्फाले केही खेलाडीलाई राहत हस्तान्तरण गर्यो भने सागको पुरस्कार वितरणले पनि खेलाडीलाई महामारीको समयमा राहत पुग्यो।
तर खेलाडीलाई पुरस्कार भन्दा प्रतियोगिता महत्वपूर्ण हो। केही अनलाइन प्रतियोगिताबाहेक भौतिक रुपमा उपस्थित भएर गरिने प्रतियोगिता देशभर शून्य थियो।
यस्तोमा कराँतेका काता विधाका र तेक्वान्दोका पुम्से विधाका केही खेलमा नेपाली खेलाडीले राम्रो प्रदर्शन गरे। १३ औं सागमा स्वर्ण जितेका कमल श्रेष्ठले केही अन्तर्राष्ट्रिय प्रतियोगितामा समेत स्वर्ण हात पारे।
फट्टफुट्ट अनलाइन प्रतियोगिताबाहेक ठप्प थियो नेपाली खेलकुद। साथै विश्व खेलकुद। तर जेठको पहिलो साता सकिनै लाग्दा भने जर्मनमा फुटबल सुरु भयो।
विश्वभरीका दुई तिहाइ मानिस घरमै बस्नुपर्ने अवस्थामा जर्मनीमा सुरु भएको फुटबलले खेल क्षेत्रमा ठूलो आशा जगायो। नेपाली खेल प्रेमीका लागि पनि खेल सुरु हुने आशाको दियो थियो बुन्डेसलिगा।
खेल सुरु हुँदै गर्दा विभिन्न नयाँ नियम समेत बन्न थाले। कोरोनाबाट बच्नका लागि विभिन्न नयाँ उपाय सोच्न थालियो। त्यसको एक महिना पछि त हो, युरोपमा खेल गतिविधि सुरु हुन थालेको। त्यसयता कति प्रतियोगिता रद्द भए कति एक–दुई वर्ष पछि सारियो।
एकाध प्रतियोगिताबाहेक नेपालमा कहिलेसम्म खेल स्थगन गर्ने वा कसरी सुरु गर्ने भन्न निर्णय त खासै भएनन् तर मानिसले थाहा पाउँदै गए यो वर्ष खेलकुद सम्भव छैन। तर असार लागेसँगै नेपाली खेलकुद ब्युँझन थाल्यो। कराँते, ब्याडमिन्टन, बक्सिङ फुटबलका खेल सुरु हुने आशा पलाउन थाल्यो।
संघहरुले खेलाडीलाई बीमा गरिदिन थाले। जसले खेलाडीलाई खेलमा लाग्न मनोवैज्ञानिक रुपमा तयार गर्न सहयोग गर्ने खेल अधिकारीले बताएका थिए।
खेलाडी अभ्यासमा फर्कन थालेका के थिए, कोरोना महामारी ह्वात्तै बढ्यो। काठमाडौं उपत्यकासहित केही ठाउँमा निशेध आदेश जारी गरियो। जसकारण फेरि खेलकुद मुर्झायो।
खेलका लागि कोरोना परीक्षण गरेर अभ्यासका लागि तयार खेलाडीसमेत घर फर्किए। निशेषाज्ञा खुलेसँगै आएको चाड सकिएपछि त हो नेपालमा फेरि खेलकुद सुरु हुँदै गरेको।
दुई महिनायता नेपाली खेलकुदको अवस्था ठूलो बाढी आएपछि टुसाउँदै गरेका बीज जस्तै छ। जहाँ खेलकुदमा ठूला झाडी मासिएका छन्। र, नयाँ आयोजनास्वरुप बुट्यानहरु आकाशतिर लम्किन सुरु भएका छन्। अब ती बुट्यानहरु कहिले वयष्क हुने हो, हेर्न बाँकी छ।
अहिले फुटबल सुरु भएको छ। क्रिकेट चल्दै छ। तर खेल सुरु हुँदै गर्दाको राजनीतिक फेरबदलका कारण युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्कर्मा पदविहीन बनेका छन्।
उनका ठाउँमा दावा लामा मन्त्री बनेका छन्। अब नेपाली खेल अघि बढ्ने कुरामा नवनियुक्त मन्त्रीले पनि ठूलो भूमिका खेल्नेछन्। यता खेलकुद ऐन आएपछि राखेपमा रमेश कुमार सिलवालको पुनः नियुक्ति भएको छ।
बिर्सन लायक क्षण
खेलकुद क्षेत्रमा कहिलेकाहीँ विर्सनलायक घटना हुन्छन्। यो वर्ष पनि भए। गण्डकी प्रदेशसभा सदस्य दिपक मनाङेले कास्कीका जिल्ला फुटबलका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको किस्सादेखि एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाको जिब्रो चिप्लिएको प्रसंग सडकदेखि सदनसम्म सुनियो।
त्यस्तै, ए डिभिजन लिगमा म्याच फिक्सिङ, मछिन्द्र क्लब र मनाङबीच खेलाडीको लडाइँ र रंगशालामा म्युजिक भिडियो पनि दर्शकबाट टाढा रहेनन्।
यति विर्सन खोज्दाखोज्दै नेपाली समर्थकलाई आफ्नो देशले इस्टर्न रिजन टी–२० मा भोगेको हार पनि सम्झिरहन मन लाग्ने छैन। त्यसमाथि कोरोनाले दिएको पीडा त शब्दमा व्यक्त गर्नै नसक्ने खालको छ।
सम्झन लायक क्षण
देश संघीयतामा गएपछि यसलाई सम्बोधन गर्ने खेलकुद विकास ऐन २०७७ बनेको छ। यसले स्थानीय क्षेत्रबाट संघीय सरकारसम्म खेलकुदको संरचनालाई स्पष्ट पारेको छ।
नयाँ ऐनसँगै खेल संघहरु कर्तव्यमा बाँधिएका छन्। र, खेलकुदले एउटा उचाइ लिने विश्वास गरिएको छ। यो वर्षको सबैभन्दा महत्वपूर्ण उपलब्धी खेलकुद विकास ऐनलाई लिन सकिन्छ।
साथै यही वर्ष फुटबल र क्रिकेट खेलाडीका लागि महत्वपूर्ण रह्यो। एन्फाले महिला र पुरुष खेलाडीलाई समान तलबको अवधारणा ल्यायो। यता क्रिकेट संघ क्यानले पहिलो पटक महिला खेलाडीलाई तलबको व्यवस्था गर्यो।
भलै क्रिकेटमा महिला र पुरुष खेलाडीको तलबमा असमानता छ। महिला खेलाडीले पहिलोपटक तलब प्राप्त गर्ने भएपछि खुसी देखिएका छन्। यता पुरुष त्रिकेटरको तलब त दुईपटक बढ्यो।
त्यस्तै, जनवरीबाट लागू हुनेगरी क्यानले राष्ट्रिय क्रिकेट टिमको लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ, डेव वाटमोरलाई। विश्वकप जिताइसकेका प्रशिक्षक वर्ष यो वर्षको क्रिकेटले पाएको ठूला उपलब्धिमध्ये एक हो।
धुर्मुस–सुन्तली फाउन्डेसनले निमार्ण गर्दै गरेको गौतम बुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशालामा पहिलो पटक गौतम बुद्ध कप क्रिकेट सम्पन्न भएको छ। कोरोना महामारीपछि राष्ट्रिय खेलाडी सम्मिलित पहिलो क्रिकेट प्रतियोगिता हो।
थप सामग्रीः