बुधबार, वैशाख १७, २०८२

‘विवाहपञ्चमी महोत्सव प्रभावित हुनुमा महन्थ दोषी’

‘राम मन्दिरकै साधुुसन्तलाई सहभागी गराएर सम्पूर्ण विधि पूरा गर्ने योजना छ।’
 |  मंगलबार, मंसिर ३०, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

मंगलबार, मंसिर ३०, २०७७

जनकपुरधाम– मंसिर शुक्ल पञ्चमीमा मनाइने विवाहपञ्चमी महोत्सवलाई मिथिलाञ्चलको सबैभन्दा ठूलो पर्व मानिन्छ।

विगतमा महोत्सवको केही दिनअघि नै जनकपुरधाममा श्रद्धालुको चहलपहल देखिन्थ्यो। महोत्सव श्रद्धा, निष्ठा र उत्साहसाथ भव्यतापूर्वक मनाइन्थ्यो।

यस्तै साधुसन्त तथा श्रद्धालु बस्न विभिन्न स्थानमा ठूलठूला पण्डाल लगाइन्थ्यो। सात दिनसम्म मनाइने महोत्सवका लागि सातै दिनको तयारी गरिन्थ्यो।

मन्दिरका महन्थदेखि, साधुसन्त तथा श्रद्धालु र स्थानीयवासीको सहभागिता हुन्थ्यो। यस पटक जनकपुरधाम सुनसान छ। 

महोत्तरी पिपराबाट विवाहपञ्चमी महोत्सव हेर्न जनकपुरधाम आएका रोशन कामत निराश भएर घर फर्किए। मिथिलाञ्चलको सबैभन्दा ठूलो उत्सव विवाहपञ्चमी महोत्सव यसपटक खल्लो भएको उनको भनाइ छ। 

Metro Mart
worldlink

रोशनजस्तै धेरै श्रद्धालु निराश भएर फर्किएका छन्। यसपटक जानकी मन्दिर प्रांगणमा मात्र पण्डाल लगाइएको छ। 
जहाँ प्रत्येक दिन साँझ रामलीला मञ्चन गरिन्छ।

मञ्चमै विवाहपञ्चमी महोत्सवको सातै दिन विधिका लागि झाँकी प्रदर्शन गर्ने तयारी गरिएको जानकी मन्दिरका महन्थ राम तपेश्वर दास वैष्णवले बताए। 

दासले भने, ‘प्रशासनले भीड नगर्न अनुरोध गरेपछि त्यो भव्यता दिन सकेका छैनौं।’ महोत्सवको सबै विधिविधान हुने र सीमित श्रद्धालुको पनि सहभागिता रहने उनले बताए। 

विवाह महोत्सव २०६३ सालदेखि सप्ताहव्यापी रुपमा मनाउन थालिएको हो। त्यसअघि महोत्सव एक दिन मात्र मनाइन्थ्यो।

महोत्सवमा भारतबाट पनि हजारौं श्रद्धालु आउँथे। यसपटक सीमा नाका बन्द भएका कारण अयोध्यामा समेत निमन्त्रणा पठाउन नसकिएको दासले बताए। 

उनले भने, ‘राम मन्दिरकै साधुुसन्तलाई सहभागी गराएर सम्पूर्ण विधि पूरा गर्ने योजना छ।’

उनले विवाहपञ्चमी महोत्सवमा सहभागी हुन कुनै पनि अतिथिलाई आमन्त्रित नगरिएको बताए। 

प्रत्येक वर्ष यस वैवाहिक समारोहमा सहभागिताका लागि मंसिर शुक्ल द्वितीयाका दिन अयोध्याबाट साधुसन्तको जन्तीको डफ्फा आउँथ्यो। 

जन्तीलाई मिथिलावासीले मटिहानी, जलेश्वर, पिपरा, लादोबेला र जनकपुरधाममा भव्य स्वागत गर्थे। यस वर्ष कोरोनाले यी सबै कार्यक्रम प्रभावित भएको दासले बताए।

स्थानीय बासिन्दाले भने विवाहपञ्चमी महोत्सव प्रभावित हुनुमा जानकी मन्दिर व्यवस्थापन दोषी रहेको आरोप लगाएका छन्। 

मन्दिरका महन्थ रामतपेश्वर दास वैष्णवको एकलौटी निर्णयका कारण रामजानकी विवाहपञ्चमी महोत्सव उल्लासका साथ मनाउन नपाइएको स्थानीय रमेशप्रसाद अधिकारीले बताए।

‘विवाहपञ्चमी सुरु भएपछि भरिभराउ हुने जनकपुरधाममा अहिले चहलपहल छैन’, उनले भने, ‘यसको सम्पूर्ण दोषी महन्थ दास हुन्। दलहरुको सभा सम्मेलन जारी छ। प्रशासनले धार्मिक गतिविधिमा मात्रै रोक लगाउनु उचित देखिएन।’  
महन्थ दास यी सबै आरोप निराधार रहेको बताउँछन्। उनले भने, ‘मलाई पनि महोत्सव अझै भव्य बनाउने इच्छा थियो। तर प्रशासनले रोक लगाउँदा मेरो मन खल्लो भएको छ।’

मंसिर शुक्ल पञ्चमीका दिन त्रेतायुगमा भगवान राम र सीताको विवाह जनकपुरमा भएको सम्झनामा परापूर्वकालदेखि नै जनकपुरमा धुमधामसँग विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ। 

त्रेतायुगमा मर्यादा पुरुषोत्तम श्रीराम र आदर्शनारी सीताबीच भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा मिथिला नगरी जनकपुरधाममा विवाह महोत्सव (विवाह पञ्चमी) आयोजना गरिन्छ।

विवाहपञ्चमीमा सहभागी हुने श्रद्धालुलाई पारिवारिक सुख प्राप्त हुने जनविश्वास छ। 
 

प्रकाशित: Dec 15, 2020| 09:59 मंगलबार, मंसिर ३०, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।