सोमबार, असार २, २०८२

पहेंलपुर सुवर्णपुर

पर्साको पश्चिम ठोरी गाउँपालिकास्थित  सुवर्णपुर यति बेला तोरी फुलेर पहेंलपुर भएको छ।
 |  शुक्रबार, मंसिर २६, २०७७

जियालाल साह

जियालाल साह

शुक्रबार, मंसिर २६, २०७७

पर्सा– पर्साको पश्चिम ठोरी गाउँपालिकास्थित  सुवर्णपुर यति बेला तोरी फुलेर पहेंलपुर भएको छ।

ठोरी गाउँपालिका–५ मा पर्ने सुवर्णपुरका अधिकांश किसान तोरीखेतीमा संलग्न छन्। सिँचाइ कम भए पनि हुने र वन्यजन्तुले उति हानि नगर्ने भएकाले यहाँका किसान  तोरीखेतीमा आकर्षित भएका हुन्। 

तोरीखेतीलाई ठोरी क्षेत्रका किसानले वैकल्पिक बालीका रुपमा लिन थालेको स्थानीय किसान विष्णु गिरी बताउँछिन्। पछिल्ला केही वर्षयता स्थानीय किसान यो नगदे बालीबाट आम्दानी पनि गर्न थालेका छन्।

एक पटक छरेपछि गोडमेल  खासै गर्नुनपर्ने भएकाले तोरीखेती सहज भएको अर्का किसान पदमबहादुर गौतमले बताए। उनले १० कठ्ठामा तोरीखेती गरेका छन्। 

उनले भने, ‘एक त हिउँदमा गहुँबाली लगाउन हामीसँग सिँचाइ सुविधा छैन। त्यसमाथि पर्सा निकुञ्जबाट गाउँ पस्ने घोडगदा, हात्ती, बँदेल, चित्तलजस्ता जंगली जनावरले बाली नाली नष्ट पारेर हैरान बनाउने गरेका छन्।’  गहुँ बालीको विकल्पमा तोरीखेती रोजेको उनको भनाइ छ।  

यस वर्ष सुवर्णपुर क्षेत्रमा आठ सय बिघा खेतमा स्थानीयले तोरीखेती गरेको अर्का किसान फुर्वा रुम्बाले बताए। उनले १० कठ्ठा खेतमा तोरी बाली लगाएका छन्। 

छिमेकी गाउँ निर्मलबस्तीका किसान पनि केही वर्षयता तोरीखेतीमा आकर्षित हुन थालेको किसानको भनाइ छ। यो भेगमा पछिल्लो केही वर्षयता भूमिगत जलस्रोत सुक्दै गएकाले स्यालो ट्युबवेल बोरिङबाट पानी आउन छाडेको छ। 

सिँचाइको अन्य विकल्प नरहेकाले आकाशे पानीको भरमा धान, तोरी र मकैबाहेक अन्य अन्न बाली उब्जाउन नसकिएको निर्मलबस्तीका किसान बताउँछन्।  

मनसुनी वर्षा पर्याप्त नभएको वर्ष किसानलाई धान र मकैबालीबाट खानै समस्या हुने गरेको छ। आकाशे भरमा भदैयाबाहेक अन्य धान उत्पादन हुँदैैन।

नजिकमा बोटबिरुवा तथा जंगल भएर पनि बलौटे र चट्टानी माटो भएकाले पानीको सतह भेट्न मुस्किल पर्छ। त्यति तलबाट बोरिङ गरेर पानी तान्न किसानको आर्थिक क्षमताले भ्याउँदैन। 

यसतर्फ जिल्ला कृषि विकास कार्यालय र नारायणी सिँचाइ डिभिजन कार्यालयको समेत ध्यान पुग्न नसकेको किसान फुर्वा रुम्बाले बताए।

जिल्ला कृषि ज्ञान केन्द्र पर्साले पछिल्लो केही वर्षयता तोरीखेती उत्साहजनक रूपमा बढेको जनाएको छ। 

कच्चा पदार्थका रुपमा विभिन्न उद्योगले समेत नगदै तिरेर किन्न थालेकाले यसतर्फ आकर्षण बढेको कृषि ज्ञान केन्द्रका वागवानी अधिकृत श्यामकिशोर सेढाईंले बताए।

उनका अनुसार तोरीखेती जंगलछेउका मात्र होइन, दक्षिणी भेगका किसानको पनि रोजाइमा पर्न थालेको छ।

प्रकाशित: Dec 11, 2020| 06:05 शुक्रबार, मंसिर २६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।