बिहीबार, वैशाख १८, २०८२

सूर्योदयका लागि सिद्धिथुम्का

सिद्धिदेवी मन्दिरका पुजारी बिहानै थुम्की पुग्छन् र शंंख फुक्छन्। त्यसपछि क्षितिजको अँध्यारो सतहबाट रातो–उज्यालो घाम झुल्किन सुरु गर्छ। लाग्छ, ती पुजारीले नै शंख फुकेपछि मात्रै घाम निस्किएको हो। 
 |  बुधबार, मंसिर १७, २०७७

विनय सापकोटा

विनय सापकोटा

बुधबार, मंसिर १७, २०७७

इलाम– थुप्रै कुराले परिचित छ इलाम। त्यसमध्येको एउटा यो सूर्योदय अवलोकन। इलाममा यस्ता तीन अग्ला डाँडा छन्, जहाँबाट झुल्के घाम अर्थात् सूर्योदयको दृश्यावलोकन गर्न सकिन्छ। त्यहीमध्यको एक हो, सिद्धिथुम्का। 

पूर्र्वमा श्रीअन्तु र उत्तरमा सन्दकपुर डाँडा छन्, जसले झुल्के घाम हेर्ने पर्यटकलाई आकर्षित गर्ने गर्छ। तर, सिद्धिथुम्का सूर्योदय र सूर्याअस्तको अवलोकन गर्न सकिने इलामको पश्चिमी बिन्दुका रूपमा प्रख्यात छ। 

सन्दकपुर (३,६३६ मिटर) सामुद्रिक सतहबाट सबैभन्दा अग्लो र श्रीअन्तु (२,३०० मिटर) दोस्रो हो। यी दुई डाँडा अवलोकन गरेका पर्यटकले पनि सिद्धिथुम्काबाट देखिने झुल्के घामको दृश्य पृथक रहेको बताउँछन्। 

यदि घाम झुल्किनुअघि नै पुग्न सक्नुभयो भने तपाईंंलाई भँवराले स्वागत गर्नेछन्। सिद्धिदेवी मन्दिरका पुजारी बिहानै थुम्की पुग्छन् र शंंख फुक्छन्। त्यसपछि क्षितिजको अँध्यारो सतहबाट रातो–उज्यालो घाम झुल्किन सुरु गर्छ। लाग्छ, ती पुजारीले नै शंख फुकेपछि मात्रै घाम निस्किएको हो। 

शंखको ध्वनिसँगै झुल्के घामको दृश्यले सायदै कसैको मन नछोला। लोभलाग्दो दृश्य देखेपछि तपाईंको मुखबाट अनायासै निस्कने छ– वाह ! यस्तो पो त ठाउँ । 
यो दृश्य केही मिनेटको मात्रै हो। बढीमा दुई मिनेट। तर, दिल–दिमागमा भने सधैँका लागि बस्छ। 

Metro Mart
worldlink

तपाईं सोच्दै हुनुहुन्छ होला, दुई मिनेटका लागि मात्रै पुग्नुपर्ने हो त सिद्धिथुम्का ? अहँ होइन, घाम झुल्किसकेपछि पनि यहाँबाट हिँडिहाल्नु भने पर्दैन। 

यहाँ घुम्न, हेर्नलायक ठाउँ अरू पनि छन्। 

सिद्धिथुम्काबाट इलामका १० बटै स्थानीय तहका लगभग सबै भाग देख्न सकिन्छ। साविकको फाकफोक गाविसबाहेक अन्य सबै ठाउँ यो थुम्कीबाट देखिन्छ। 

यहाँबाट देखिने सुन्दर दृश्यले तपाईंको समय थाहै नपाई कट्छ। थुम्कीबाट देखिने सबैभन्दा राम्रो भ्यू चाहिँ लोदियाको बगर हो, जहाँ मंसिर–पुसको बिहान पाठ (भुइँकुहिरो) लागेर सेताम्य हुँदाको दृश्य मनबाट कहिल्यै हट्दैन। बगरको कुहिरोमाथि देखिने हरिया डाँडाकाँडा कम मनमोहक छैनन्।

लोदिया र माइको बगर, सोयाक, श्रीअन्तु साथै पारि गोदक अनि सिलपुरको पहिरो र सन्दकपुरसमेत यहाँबाट अवलोकन गर्न सकिने ठाउँ हुन्।

सन्दकपुर त कञ्चनजंंघा हिमालसँगै देखिन्छ। माथि कञ्चनजंंघा हाँसिरहेको र सन्दकपुरले हिमाललाई लुगा लगाइदिएको जस्तो भान हुन्छ। 

डाँडामा पश्चिम फर्केर ठाउँ पहिल्याउँदै गफिने हो भने घण्टौं बिताउन सकिन्छ। यहाँबाट पत्र–पत्र डाँडाहरू देखिन्छन्। पहिलो जितपुर, चिलिङदिन अनि पारिका चाहिँ चमैता, आम्चोक, लुम्बक, लुम्दे, लारुम्बा (मासेबुङ)। 

यस्तै फुङफुङे झरना, गुफापोखरी, गुम्बा र पानीटार पनि हेर्नलायक ठाउँ हुन्। धार्मिकरूपमा पनि यो ठाउँ परिचित छ। थुम्कीसँगै रहेको विशाल ढुंगामा सिद्धिदेवी स्थापना गरिएको छ।

किंवदन्तीअनुसार थुम्कीमा पहिले एउटै ढुंगा थियो। चट्याङ परेर ढुंगा फुट्यो र छरियो। आजभोलि तलतलबाट अरू पनि ढुंगा ल्याएर, पर्खाल लगाएर त्यहाँको प्राचीन ढुंगालाई संरक्षणको प्रयास थालिएको छ।

ओझेलमै छ सिद्धिथुम्का

सिद्धिथुम्कामा खासगरी इलाम, झापा र पाँचथरका मानिस सूर्योदयको अवलोकन गर्न पुग्ने गर्छन्। तर, अन्य जिल्लाहरूमा भने यो डाँडो खासै परिचित छैन।
प्रचारप्रसार अभाव र यातायातको सहज पहुँच नहुनु नै सिद्धिथुम्का ओझेलमा पर्नुको मुख्य कारण हो। 

बाटो कच्ची भएकाले ढुंगाको चेपमै रहन बाध्य हिराजस्तै छ, सिद्धिथुम्का। सहज यात्राको व्यवस्था मात्रै हुने हो भने पनि पर्यटकको संख्या ह्वात्तै बढ्छ। 

अहिले स्थानीय सरकार आएकाले सडक निर्माणको काम बढे पनि सिद्धिथुम्का जान चाहने पर्यटकका लागि भने अझै सहज छैन। 

देउमाइ नगरपालिकाका मेयर सूर्यप्रसाद पोख्रेल इलाम, झापा र पाँचथरसँग जोडिएका विभिन्न ठाउँमा सडक सञ्जाल सहज बनाउने बताउँछन्। 

प्रदेश सरकारले पनि बिर्तामोड–माइ नगरपालिका–चिसापानी–बेलासे हुँदै देउमाइसम्मको बाटोको ठेक्का दिइसकेको छ। 

‘बाटो बन्दै छ। चिसापानी र गाग्रे भञ्याङ दुवैपट्टिबाट सुरु भएको छ,’ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रसाद दहालले भने, ‘अबको दुई वर्षभित्रमा कालोपत्रे भइसक्छ।’

बाटो कालोपत्रेको काम देउमाइको गाग्रे भञ्याङबाट र उता चिसापानीबाट सुरु भएको छ। यदि भनेअनुसार हृने हो भने यहाँका मानिसले मैदान झर्न इलाम–फिक्कलको लम्बेतान बाटो हिँड्न पर्दैन। साथै पाँचथर र ताप्लेजुङबाट झापा झर्ने अहिलेको बाटो पनि यसले विस्थापन गर्न सक्छ। साथै निकट भविष्यमा सिद्धिथुम्कामा पनि पर्यटकको आवागमन बाक्लिने छ। 

सिद्धिथुम्कामा संरचना निर्माणका लागि विभिन्न कार्यहरू पनि भएका छन्। केही वर्षअघि मात्रै सिद्धिथुम्कामा सिद्धिदेवीको मन्दिर स्थापना गरियो। मन्दिर स्थापनाको स्रोत भने पुराणबाट संकलन गरिएको हो। 

वर्षको एकपटक पुराण लाग्छ। पुराणमा उठेको रकमले थुम्की जाने बाटो बनाइएको छ– रेलिङ र सिँढीसहितको। साथै यहाँ कहिलेकाहँी महोत्सवको आयोजना पनि हुन्छ।

सिद्धिथुम्कामा पर्यटकका लागि बस्ने व्यवस्था भने राम्रो छैन। खानेपानी अभावमा यहाँ पर्याप्त मात्रामा होमस्टे, होटलहरू छैनन्। यद्यपि चारवटा होमस्टे भने सञ्चालनमा छन्। 

नगरपालिकाले पनि होमस्टेमा जोड दिएको छ। 

थुम्कीमै पानी लान अलि गाह्रो भए पनि त्यसमुनि मेला लाग्ने मैदान–मन्दिरसम्म पानीको व्यवस्था गर्ने प्रयास जारी रहेको नरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दहाल बताउँछन्। 

यसरी पुग्ने सिद्धिथुम्का

इलाम सदरमुकाम पुगिसकेपछि सिद्धिथुम्का जाने दुईवटा बाटा छन्। भञ्ज्याङ, सोयाक हुँदै गए साढे दुई घण्टामा र नेपालटार–पानीटारको बाटो हुँदै गए चार घण्टाको गाडी यात्रामा सिद्धिथुम्का पुग्न सकिन्छ।

अर्को बाटो गाग्रे भञ्ज्याङ भएर जानुपर्छ। भञ्ज्याङको छेउबाटै कालोपत्रे बाटोले साथ छोडिदिन्छ। साढे दुई घण्टा जति कच्ची बाटोमा हुइँकिनु पर्छ। 

पहिलो रुटबाट पनि त्यस्तै दुई घण्टा खाल्डाखुल्डी भएको बाटोमा गुड्नुपर्छ। त्यसपछि पञ्चमी पुगिन्छ। खान्द्रुङ नामले परिचित पञ्चमी बजारबाट हिँडेरै गए पनि आधा घण्टामा थुम्कीमा पुगिन्छ। गाडीमा गए त १० मिनेटमात्र।

प्रकाशित: Dec 02, 2020| 00:26 बुधबार, मंसिर १७, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।