इलाम – मंसिर दोस्रो सातासम्म पनि इलामका किसान धान थन्क्याउन व्यस्त छन्।
इलाम नगरपालिका ५ का किसान बिहानै घरको काम सकेर खाना खाई मेलापात–अर्मपर्मका लागि बेसीतिर निस्किने गर्छन्।
‘लेकतिरका खेतमा धानको काम सकेर बाँझो जोतिसक्दा पनि बेसीमा भने धानको काम बाँकी छ,’ खेतमा काम गर्दै गरेका चन्द्र पौडेलले भने।
माइबेसीमा रामतुलसी, बएर्नी, चुल्ठे जातका धान लगाइन्छ।
‘पहिलापहिला त खाम्ती, कुँडुरे, बेलगुटी पनि लगाइन्थ्यो। भात मोटो हुने भएकाले ती धानले भाउ पाउँदैनन् अनि मासिँदै गए,’ स्थानीय किसान हुतराज सापकोटाले भने, ‘तुलसी, बएर्नीचाहिँ मसिना धान हुन्।’
यी जातका धानको बेर्ना छिटै राख्नुपर्छ। पाक्न भने निकै समय लाग्छ। त्यसैले मंसिर अन्तिमसम्म पनि किसान धान थन्क्याउन व्यस्त हुन्छन्।
‘बेलगुटी, भँगेरे जस्ता धान अगुवा हुन् तर ती धानको पराल लुलो हुने भएकाले बेसीतिर टिक्न सक्दैन,’ सापकोटाले भने, ‘यहाँ बलिया पराल हुने धान लगाउनुपर्छ।’
सापकोटाले धानको बिउ जेठ दोस्रो साता राखेका हुन्। उनले असार अन्तिममै धान रोपेका थिए। लामो समय लागे पनि यसको स्वाद भने अन्य चामलसँग तुलना हुँदैन।
माईखोला आसपासमा फल्ने तुलसी जातको धान बास्नादार हुने भएकाले टाढाटाढाबाट पनि मानिसहरु धान किन्न बेंसी पुग्ने गरेका छन्।
यी जातका धान इलामका माइजोगमाई, देउमाई र रोङ गाउँपालिकाका बेसीमा पनि लगाइन्छ।
‘यहाँको धानले राम्रो भाउ पाउँछ। ग्राहक खोज्नै पर्दैन। आफैं आउँछन्,’ सापकोटाले भने, ‘तुलसी, बएर्नी मुरीको ३५ सयका दरले बिक्री हुन्छ भने खस्रो धान तीन हजारमा बिक्री हुन्छ।’
साथै धानखेत नहुने लेकतिरका मानिस पराल किन्न बेसी झर्छन्। पराल एक मुठाको १५ रुपैयाँ पर्ने किसान सापकोटा बताउँछन्। ‘मुठा ठूला हुँदै गएमा मूल्य पनि बढ्दै जान्छ,’ उनले भने।