बिहीबार, वैशाख १८, २०८२

हलो विस्थापित गर्दै हाते ट्याक्टर

सुरुमा स्थानीय सयपत्री कृषि सहकारी संस्थाको सहयोगमा गाउँमा एउटा हाते ट्याक्टर भित्रिएको थियो। आधा रकम अनुदान र आधा सहकारीको लगानीमा भित्र्याइएको ट्याक्टर अहिले स्थानीय विवेक बुढोथाकीले सञ्चालन गरिरहेका छन्।
 |  बिहीबार, मंसिर ११, २०७७

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, मंसिर ११, २०७७

इलाम– एक हल गोरुले दिभरीमा जोत्ने मेलो हाते ट्याक्टरले दुई घण्टामै जोतेको देखेपछि इलामका चक्रपाणि सापकोटाले गत साता हाते ट्याक्टर किने।

तरकारी, फलफूल बिक्री गरेर र मेलापातबाट जोहो गरेर एक लाख रुपैयाँ जम्मा गर्न हम्मेहम्मे परेको थियो उनलाई। सो रकम जोहो भएपछि उनले लगानीको राम्रो प्रतिफल आउने देखेर हाते ट्याक्टर किनेका हुन्।

उनी हिजोआज इलाम नगरपालिका–५ आसपासका क्षेत्रमा ट्याक्टरले खेतबारी जोतिरहेको भेटिन्छन्। पढाइले ब्याचलर अध्ययन गरेका सापकोटाको रुची गाउँमै केही गर्ने भए पनि कृषिबाट लाभ हुने नदेखेपछि केही समय शिक्षण पेशामा आबद्ध भए।

तर एकजनाको कमाइले परिवार पाल्नै मुश्किल परेपछि शिक्षण पेशामा टिक्न सकेनन्। राम्रो कमाइ हुने मनसायले वेदेशिक राजगारीका लागि कोरियन भाषाको अध्ययनसमेत गरे। टाटा मोटर्सको मार्केटिङ साइड जबका रुपमा थियो।

कोरोनाको महामरी सुरु भएपछि भने काम पनि भएन, कोरियन भाषाको पढाइ पनि रोकियो। ‘अब विदेश जान मन छैन। जहाँ गए पनि गरेरै खाने हो,’ उनले भने।

Metro Mart
worldlink

महामारीका कारण लामो समय घरमा त्यत्तिकै बित्यो उनको। विदेश जाने सपना पनि तुहियो। ‘जागिर गरेर बाबुबाजेले धानेको किसानको धर्म पनि नधानिने भइयो,’ उनले सुनाए।

उनको सोच कृषिमा प्रविधि जोडेर आत्मनिर्भर हुँदै राम्रो आम्दानी गर्ने छ। यसकारण करिब एक सय बाख्रा क्षमताको गोठ निर्माण कार्यमा जुटेका छन्। सापकोटाजस्ता धेरै किसानको हातमा अहिले हाते ट्याक्टरको ह्यान्डिल छ। 

यसबाट फाइदा देखेपछि स्थानीय डम्मर ढकालले पनि गोरु बेचेर ट्याक्टर नै किने। कुलबहादुर सबेलले पनि गोरुको सट्टामा मेसिनलाई पाएका छन् भने युवराज घिमिरे, दीपक भट्राईजस्ता धेरै किसान हाते ट्याक्टरमा फाइदा देखर त्यसतर्फ आकिर्षित हुँदै गएका छन्।

तर ट्याक्टरलाई पहाडको बाटोमा हिँडाउन भने सास्ति हुने गरेको हाते ट्याक्टर चालक किसानको अनुभव छ। साथै कान्ला ओराल्न र उकाल्न पनि समस्या हुने गरेको छ। तर गोरुलाई पनि सहज हुने भने होइन। गोरुले अरुको बाली खाइदिने डर हुन्छ, ट्याक्टरमा त्यो हुँदैन।

सहज अवस्थामा दिनको ७ घण्टासम्म जोत्न सकिने दीपक बताउँछन्। यो तीन हल गोरुको एक दिनको मेलो हो। अप्ठ्यारो ठाउँमा चाहिँ पाँच घण्टा जति।

‘अप्ठ्यारो ठाउँमा गोरुले पनि कम नै जोत्छ नि,’ भट्टराईले हाँस्दै भने। ट्याक्टरले जोतेपछि छेउकुना खन्नु नपर्ने भएकाले किसान खुसी देखिन्छन्। ‘गोरुले जोतेको भन्दा राम्रो जोत्छ, छेउकुना खन्नु पर्दैन। माटो पनि फुरुरु हुन्छ, डल्ला पनि बस्दैन,’ चक्रपाणि सापकोटाले जोतेको माटो देखाउँदै भने। 
दीपक भन्छन्, ‘ट्याक्टर चलाउन रमाइलो भइरहेको छ। हामीले ०५७ सालसम्म गोरु पाल्ने गरेका थियौँ। त्यसयता चाहिँ अरुकै गोरु खोजेर खेतबारी जोतिन्थ्यो। अहिले हाते ट्याक्टर किनेको।’

उनी पहिला गोरुले नै खेत जोत्थे। भन्छन्, ‘जोतिन्थ्यो पहिला, तर सधै घाँस हाल, खोले पकाउ, भकारो सोहोर ! सबै आफैं गर्नुपर्ने । कतै जानुपरो भने पनि विहान बेलुका त्यसलाई स्याहार गर्नुपर्ने झन्झट थियो, त्यसैले बेचियो।’ बीचमा चाहिँ खेतबारी जोतेको दाम बढ्दै गयो। गोरु पाल्न पनि गाह्रो, मान्छे लगाएर जोत्न पनि महँगो पर्दै गयो अनि अहिले आएर उनले हाते ट्याक्टर किने।

तर ट्याक्टरको त मल पनि हुँदैन नि ? भन्ने प्रश्नमा भट्टराई भन्छन्, ‘मल त किन्न जत्ति पनि पाइहालिन्छ नि। खासमा व्यक्तिगत कारणले नै किनेको। साथमा आम्दानी पनि राम्रो भएको छ।’
०००
सुरुमा स्थानीय सयपत्री कृषि सहकारी संस्थाको सहयोगमा गाउँमा एउटा हाते ट्याक्टर भित्रिएको थियो। आधा रकम अनुदान र आधा सहकारीको लगानीमा भित्र्याइएको ट्याक्टर अहिले स्थानीय विवेक बुढोथाकीले सञ्चालन गरिरहेका छन्।

उनले ट्याक्टर चलाएको शुल्कबापत प्रतिघण्टा दुई सयका दरले सहकारीमा बुझाउँथे। सेवाग्राहीबाट लिइने प्रतिण्टा पाँच सयबाट उनलाई तीन सय प्राप्त हुन्छ।

तर व्यक्तितग रुपमै यसलाई चलाउन सजिलो हुने भएकाले उनले सहकारीबाट ट्याक्टर किनेर एक्ल्याए। अहिले व्यावसायिक रुपमा सञ्चालन गरिरहेका छन्।

‘यो निकै फाइदाजनक हुन्छ। मर्मतका काम सहकारी र म मिलेर गर्यौं। एक वर्ष भयो आफैं लिएको छु,’ बुढाथोकीले भने, ‘काम राम्रो अनि गाह्रो। मर्मत त गरिहनुपर्छ। एक वर्षमा झन्डै ५० हजार मर्मत खर्चमा गयो। एक पटक त इन्जिन नै फेर्नुपर्ने भयो।’ 

हिँडाउन चाहिँ बाटो हेरि सजिलो र अप्ठ्यारो हुन्छ। तर जेत्ने समयमा संयमित भएर नजोते जोखिम हुने बुढाथोकी बताउँछन्। ‘फालीहरु भाँचिइरहन्छन्, वेल्डिङ गरिरहनु पर्यो। जोखिम पनि छ,’ उनले भने, ‘फाली ढुंगाहरु उछिट्टिने, घाउचोट हुने सम्भावना धेरै हुन्छ।’

अहिले गाउँमा धान काटेर बाँझोे जोत्ने बेला भएपछि उनको पनि व्यस्तता बढेको छ।

०००
माईपोखरी एग्रो मेसिनरीका सञ्चालक मनकुमार खतिवडा मेसिन जोत्नकै लागि चाहिँ गोरुको ‘रिप्लेसमेन्ट’ गर्न योग्य रहेको बताउँछन्। ‘बिक्री एकदम राम्रो छ। गोरु पाल्ने सबैसँग मेसिन भइसक्यो अब त। गोरुको रिप्लेसमेन्टका लागि हाते ट्याक्टर एकदमै सक्षम छ,’ उनले भने, ‘गोरुभन्दा फाइदा छ। माटो राम्रो हुन्छ र मुख्य त समयको बचत हुन्छ।’

विक्रेता खतिवडाले मेसिन बिग्रिँदा पनि आफैँ मर्मत गर्छन्। गाउँमा गएर मेसिन बनाउन सिकाइदिन्छन्। ‘यो मेसिन मोटरसाइकल मर्मत गर्नभन्दा धेरै सजिलो छ। नजान्दा भने त्यही अप्ठ्यारो पनि छ,’ खतिवडा भन्छन्, ‘म आफैं मिस्त्रि पनि हो। मैले ट्रेनिङ गराएर केही साथीहरु त थपिनु भएको छ। तर पूर्ण चाहिँ भएको छैन।’

ट्याक्टरमा समस्या देखिए उनी किसानलाई नै मर्मत गर्न सिकाउँछन्। एउटै खाले समस्या दोस्रो पटक पनि देखिएमा किसानको पैसा बचत होस् भन्ने हेतुले सिकाउने गरेको खतिवडा बताउँछन्। मोबाइलबाट फोन गरेर पनि सिकाउने गरेका छन्।

तर पछिल्लो सयम आएको केही मेसिनको क्वालिटीमा समस्या पाइने गरेको छ। चलाउँदै गर्दा बिचबिचमा मर्मत गरिरहनु पर्ने भएको छ। मेसिन बिग्रिएर किसानलाई धोका हुने पनि हुन्छ।

अलिक राम्रो ब्राण्डको हुने हो भने यो अझै प्रभावकारी हुने खतिवडा बताउँछन्। ‘कृषकको हितमा काम गर्ने हो भने, प्रथमतः मेसिन ल्याउने कम्पनीले ब्राण्डेड मेसिन ल्याउनु पर्यो। वारेण्टीसँग मेसिन दिन सक्नुपर्यो,’ खतिवडा भन्छन्, ‘अहिले चाहिँ कस्तो छ भने, पैसाको पछि मात्र लाग्ने परम्परा छ।’

सरकारले पनि टेन्डर गर्ने र सबैभन्दा सस्तो मेसिन कुन छ त्यहि मगाउने गरेको खतिवडाको दाबी छ। ‘त्यसमा क्वालिटी के हो, त्यो मेसिन यो ठाउँमा कत्तिको सफल छ  भन्ने कुरा नहेरी सरकारले मेसिन पुर्याउने प्रविधिको समाधान खोज्नु पर्छ,’ उनी भन्छन्, ‘प्राविधिकलाई चेक गराएर त्यसको स्पेसिफिकेसन गरेर मात्र भित्र्याउन सके किसानको हातमा लामो सयमसम्म मेसिन बस्न सक्छ। अनि मात्र दिए त हुन्थ्यो।’

अहिले त कति मेसिन एकसाले मात्र पनि भएका छन्। यसले गर्दा लागतमात्र उठ्छ। कतिपयको त लागत पनि उठ्दैन। खतिवडा भन्छन्, ‘धेरै टिकेको मेसिन अनुभव गरेर अहिले बिक्री गर्दै आएको छु। स्थानीय सरकारले पनि हाते ट्याक्टरका लागि सहुलियत दिएको छ, अनुदान पनि छ तर कमजोर क्वालिटीको सामान दिने प्रवृत्ति भने कायमै छ।’

प्रकाशित: Nov 26, 2020| 07:19 बिहीबार, मंसिर ११, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।