मंगलबार, असार ३, २०८२
  • गृहपृष्ठ
  • संवाद
  • लामो अनुभव र सबैको साथले म जित्छु : किशोर प्रधान (अन्तर्वार्ता)

लामो अनुभव र सबैको साथले म जित्छु : किशोर प्रधान (अन्तर्वार्ता)

"कम्तीमा पनि म कुनै नेताको घरमा गएको छैन। मेरो नेता भनेकै उद्योगी व्यवसायी साथीहरु हुन्। उनीहरुकै भोटले जित्ने हो, उनीहरुप्रति नै समर्पित हुने हो।" 
 |  बिहीबार, मंसिर ११, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, मंसिर ११, २०७७

नेपाल उद्योग वाणिज्य महासंंघले नयाँ पदाधिकारी चयनका लागि मंसिर १३ मा निर्वाचन गर्ने भएको छ। महासंघको वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालका लागि स्वतः अध्यक्ष हुने नियम छ। यसै सन्दर्भमा वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवार गरेका किशोर प्रधानसँग नेपाल समयका लागि शर्मिला ठकुरीले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

उद्योग वाणिज्य महासंघमा उम्मेदवारी दिनुभएको छ। वरिष्ठ उपाध्यक्ष नै किन? 

२७ वर्षदेखि महासंघको केन्द्रीय समितिमा रहेर काम गरिरहेको छु। दुई पटक जिल्ला नगरको उपाध्यक्ष र एकपटक पूर्वाञ्चल उद्योग वाणिज्य महासंघको अध्यक्ष पनि भैसकेको छु। मेरो अनुभव, क्षमता र साथीहरुको हौसलाले अब म जाने भनेको नेतृत्व तहमै हो । त्यसैले वरिष्ठ उपाध्यक्षमा उमेदवारी दिने निर्णय गरेको हुँ। 

मैले गरेका कामको उचित मूल्यांकन गरेर आगामी अध्यक्ष, हालका अध्यक्ष लगायतले पनि मलाई समर्थन गर्नुभएको छ। 

निर्वाचित हुनुभयो भने के नयाँ गर्नुहुन्छ? 

महासंघको छवि अझ उत्कृष्ट बनाउने र कोभिड–१९ को प्रभावबाट थलिएकोे अर्थतन्त्र उकास्नकै लागि काम गर्नुपर्नेछ। यसबारे ठोस नीति बनाउन नेतृत्वलाई सघाउने र कार्यान्वयनमा प्रमुख भूमिका निर्वाह गर्ने मेरो सोच छ। 

साना, मझौला र ठूला व्यवासायीहरुको साझा संस्थाका रुपमा महासंघलाई अझ अघि बढाउनु छ। मेरो पहिलो प्राथमिकतामा साना तथा मझौला व्यवासाय र दोस्रोमा ठूला व्यवसायी छन्। 

यद्यपि, वरिष्ठ उपाध्यक्षका आफ्नै खास अजेन्डा हुँदैनन्। अध्यक्ष लगायतको टिमले तय गरेको अजेन्डामा छलफल गरी लागू गर्न मुख्य भूमिका निर्वाह गर्ने हो।

त्यसका लागि त टिम पनि सशक्त चाहिएला नि? 

हाम्रो टिममा एकदमै खारिएका, व्यावसायिक र सशक्त व्यवसायी छन्। हाम्रो कार्यकाल नै नमुना कार्यकाल हुनेछ। मेरो आफ्नै झण्डै तीन दशक लामो अनुभव छ। यसबीच मैले नीति–निर्माणमा प्रभावकारी भूमिका निर्वाह गरेको छु। 

पब्लिक प्राइभेट पार्टनरसिप (पीपीपी मोडल) मैले नै अगाडि ल्याएको हुँ। म नै त्यसको संस्थापक अध्यक्ष थिएँ। त्यस्तै लोकल इकोनोमिक डेभलपमेन्ट (एलईडी) को पहिलो अध्यक्ष पनि म नै हुँ। जुन महासंघले लबिङ गरेर स्थापित गराएको हो। 

त्यस्तै हाम्रो टिमका दिनेश श्रेष्ठ (जिल्ला नगर उपाध्यक्षका उमेदवार) कमोडिटीको उपाध्यक्ष रहिसक्नुभएको छ। उहाँ आर्थिक मामिलामा विज्ञ नै हुनुहुन्छ। श्रेष्ठजी काठमाडौं जिल्ला नगर उद्योग वाणिज्य संघको अध्यक्ष र बागमती प्रदेशको पनि अध्यक्ष हुनुहुन्छ। अञ्जनकुमार श्रेष्ठ (वस्तुगत उपाध्यक्षका उम्मेदवार) पनि महासंघमा लामो समयदेखि काम गरिरहेका स्थापित व्यवसायी हुनुहुन्छ। नाडाको अध्यक्षसमेत रहिसक्नुभएका श्रेष्ठजीसँग विभिन्न समितिमा रहेर काम गरेको अनुभव छ। त्यस्तै सौरभ ज्योति (एसोसिएट उपाध्यक्ष) अध्यययन, व्यवस्थापकीय कुशलता, व्यवसाय सबैमा अब्बल हुनुहुन्छ। उहाँप्रति युवाको आशा र विश्वास छ। र, यो टिमलाई आगामी अध्यक्षको पनि साथ छ। अब भन्नुहोस्, हामी कहाँ कमजोर छौं?

महासंघले साना तथा मझौला उद्योगी–व्यवसायीका कुरा सन्दैन भन्ने आरोप लागिरहन्छ नि? 

हो, यस्तो आरोप छ। त्यसैले पनि हामी महासंघको नेतृत्वमा जानु जरुरी छ। मेरो पृष्ठभूमि पनि त्यही नै हो। मेरा उद्योग पनि बहु–अर्बका छैनन्। 

महासंघको ५३ वर्षे  इतिहासमा दुई जना अध्यक्ष मात्रै जिल्ला नगरबाट नेतृत्वमा पुगेका छन्। अहिले लामो अन्तरालपछि फेरि जिल्ला नगर संघको नेतृत्व गरेको व्यक्तिलाई महासंघको नेतृत्वमा पुर्‍याउने अवसर आएको छ। त्यससो हुन सक्यो भने अवश्य पनि साना तथा मझौला व्यवसायीको माग सम्बोधन हुनेछ। जसलाई घाउ लागेको छ उसलाई दुखाइको महत्त्व थाहा हुन्छ। विश्वास छ, साथीहरुले यो मौका गुमाउनुहुने छैन। 

आगामी अध्यक्ष शेखर गोल्छाको पनि साथ रहेको भन्नुभयो। तर, उहाँलाई नै महासंघमा गुट चलाएको आरोप छ।

काम गरिरहँदा आरोपप्रत्यारोप लाग्नु ठूलो कुरा होइन। तर, उहाँले गुट चलाउनुभएको छैन। नेतृत्वले आफूलाई सजिलो हुने गरी टिम छनोट गर्न पाउँछ/गर्छ। उहाँले पनि टिम छानेको हो, गुट चलाएको होइन। ज–जसले आरोप लगाउनुभएको छ, त्यो पूर्वाग्रह मात्र हो।टिम छनोट पहिले पनि हुने गर्थ्याे। त्यसबेला गुट भनिएन अहिले आएर गुट भन्नु ठिक हुँदैन। 

तर, महासंघ त राजनीतिक रुपमा नै दुई खेमामा विभाजित छ भन्ने आरोप लागिरहेको छ? 

यो गलत हो । कम्तीमा पनि म कुनै नेताको घरमा गएको छैन। मेरो नेता भनेकै उद्योगी व्यवसायी साथी हुन्। उनीहरुकै भोटले जित्ने हो, उनीहरुप्रति नै समर्पित हुने हो। 

हुन त यहाँ चुनावका बेलामात्रै देखिने व्यवसायी पनि छन्। उद्योगी–व्यवसायीबीच राम्रो सम्बन्ध र घुलमिल नभएपछि उनीहरु नेताकहाँ धाएका हुनसक्छन्। त्यसैले म भन्दैछु, मलाई सबैको साथ छ र म जित्छु।

तपाईंले जित्ने आधार चाहिँ के ? 

अघि पनि भनें– मेरो अनुभव, क्षमता र सबैको साथ नै प्रमुख कुरा हो। बिना अनुभव नेतृत्वका लागि अघि सर्नु उचित हुँदैन।

यद्यपि, अहिले देशमा कोभिड– १९ का कारण संकटको अवस्था छ। यस्तो बेला सबै मिलेर अगाडि जानुपथ्र्यो। मैले त पूर्व अध्यक्षहरु बसेर गरेको निर्णय स्वीकार्छु भनेको थिएँ । तर, उहाँहरुको प्रयास समेतका बाबजुद कुरा मिलेन। 

मैले मेरो अनुभव र साथीहरुको आशा र भरोसाको सम्मान गर्नुपर्छ। तर, निर्वाचन हुँदैमा निजी क्षेत्र विभाजित छ भन्ने पनि होइन। निर्वाचनको भोलिपल्टदेखि हामी सबै एकैठाउमा हुनेछौं। जसले जिते पनि मिलेरै अगाडि बढ्ने हो । 
 

प्रकाशित: Nov 26, 2020| 05:53 बिहीबार, मंसिर ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...