बुधबार, वैशाख १७, २०८२

महासंघको चुनावी रौनक, कसले मार्ला बाजी? 

नेपाल उद्योग वाणिज्य महासंघ चुनावी संघारमा छ।
 |  आइतबार, मंसिर ७, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, मंसिर ७, २०७७

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघ चुनावी संघारमा छ। ११ देखि १३ गतेसम्म हुने महासंघको साधारणसभासहितको चुनावी माहोलले यतिबेला उद्योगी व्यवसायीलाई तताएको छ। 

महासंघको वरिष्ठ उपाध्यक्ष पदको लागि आईएमई ग्रुपका अध्यक्ष  चन्द्रप्रसाद ढकाल र विराटनगरका व्यवसायी किशोरकुमार प्रधानको उम्मेदवारी परेको छ। महासंघमा वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको लागि अध्यक्ष हुने व्यवस्था छ। 

महासंघको ६४ पदका लागि १२७ जनाको उम्मेदवारी परेको छ। 

वरिष्ठ उपाध्यक्षका उमेदवारद्वय चुनावी प्रतिष्पर्धाको लागि मतदाता फकाउनमा व्यस्त छन्। उनीहरू दुवैले महासंघका लागि आफ्नोे आवश्यकता भएको बताउँदै आएका छन्। 

वर्तमान अध्यक्ष भवानी राणा किशोर प्रधानलाई अध्यक्ष बनाउनका लागि दिलोज्यान दिएर लागि परेकी छन्। हालका वरिष्ठ उपाध्यक्ष एवं आगामी अध्यक्ष शेखर गोल्छा पनि प्रधानको पक्षमा खुलेर लागेका छन्। प्रधानलाई पूर्वअध्यक्षमध्ये चन्ढीराज ढकाल बाहेक सबैको साथ र सहयोग छ। 

Metro Mart
worldlink

प्रधान प्यानलका चुनाव प्रचारप्रसार समितिका संयोजक अरुणराज सुमार्गीका अनुसार कम्तीमा ६० प्रतिशत मतले प्रधान प्यानलले चुनाव जित्ने सम्भावना छ। 

ढकाल प्यानलका केन्द्रीय सदस्यका उम्मेदवार डिबी बस्नेत पनि आफ्नो प्यानलले ७० प्रतिशतले चुनाव जित्ने दाबी गर्छन्।

कुन क्षेत्रमा कसको पकड?

प्रधान पक्षधरका अनुसार प्रदेश–१ प्रधानकै क्षेत्र भएकोले त्यहाँबाट करिब ९० प्रतिशत मत पाउनेमा आशावादी छन्। प्रदेश–१ मा २३ मत छ। 

प्रदेश–२ को १३ मतमध्ये एक वा दुई भोट ढकाल पक्षलाई गए पनि बाँकी प्रधान पक्षलाई आउने उनीहरूको दाबी छ। 

त्यस्तै बाग्मतीको सिन्धुली, रामेछाप र धादिङ बाहेक सम्पूर्ण मत आफूलाई आउने प्रधान पक्षको भनाइ छ। महासंघका अनुसार बागमतीमा १६ मत छ।

गण्डकी प्रदेश ढकालको क्षेत्र भएकोले ४÷५ मत आफ्नो पक्षमा आउने प्रधान प्यानलको बुझाइ छ। गण्डकीमा १५ मत छ। 

लुम्बनी प्रदेशमा ढकालको पक्षमा ७० र प्रधानको पक्षमा ३० प्रतिशत मत जाने प्रधान पक्षले अनुमान गरेका छन्। 

कर्णाली र सुदूरपश्चिम प्रदेशका अधिकांश व्यवसायी प्रधानको पक्षमा रहेको उनीहरूको विश्लेषण छ।

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा क्रमशः २०, १० र १० मत छ। 

ढकाल पक्षको पनि आफ्नै दाबी छ। प्रदेश–१ को २३ मतमध्ये २२ ढकालको पक्षमा भएको उनीहरूको भनाइ छ। 

त्यस्तै प्रदेश–२ मा आधा–आधा, बागमती प्रदेशका १६ मतमध्ये १२, गण्डकी प्रदेशको ९० प्रतिशत मत आफ्नो प्यानललाई आउने ढकाल पक्षको दाबी छ। 

लुम्बिनीमा उपाध्यक्ष पदका उम्मेदवार गुणनिधि तिवारीको क्षेत्र भएकोले पूरै मत आउने ढकाल पक्षको अनुमान छ। 

त्यस्तै कर्णालीको केही मत आउने र सुदूरपश्चिम प्रदेशमा ढकाल पक्षका केन्द्रीय सदस्यका उम्मेदवार निरक केसीको क्षेत्र रहेकोले सम्पूर्ण मत आफ्नो प्यानललाई आउने ढकाल पक्षको दाबी छ। 

रमाइलो चाहिँ दुवै पक्षले गरेको सभामा जिल्लाका सबै मतदाता उपस्थित हुने गरेको पाइएको छ। उपस्थितिका आधारमा दुवै पक्षले आफू जित्ने दाबी गरिरहेका छन्।

लाखौं खर्च गर्दै महासंघ

यो वर्ष महासंघले जिल्लाबाट आउने हरेक प्रतिनिधिलाई पाँचतारे होटल एभरेष्टमा राख्ने बन्दोबस्त गरेको छ। 

चुनावका लागि गरिएको खर्च यो वर्ष अहिलेसम्मकै बढी भएको एक केन्द्रीय सदस्यले बताए। उनका अनुसार प्रधानलाई जिताउनका लागि महासंघ हरहिसाबले लागेको छ। 

ढकाल पक्षले पनि आफ्नो ‘नेटवर्क’ प्रयोग गरिरहेको छ। यतिबेला सम्पूर्ण पूर्वअध्यक्षमाथि एक पूर्वअध्यक्ष चन्ढीराज ढकाल भारी भएका छन्। 

छोटो समयमा ठूलो महत्वकांक्षाका साथ महासंघको वरिष्ठ उपाध्यक्षको उम्मेदवार बनेको र आफूभन्दा सिनियरलाई समेत पाखा लगाएर आफू आउन लागेको भन्दै ढकालको आलोचना गर्नेहरू महासंघमा धेरै देखिएका छन्। 

ढकाललाई हराउनका लागि चण्ढीराज बाहेक सबै पूर्वअध्यक्षदेखि हालको अध्यक्ष र भावी अध्यक्षसमेत एक भएका छन्।

त्यसैले भावी अध्यक्ष गोल्छाको सबैभन्दा बढी आलोचना भइरहेको छ। 

आफू अध्यक्ष हुने निश्चित भएकोले ढकाल र प्रधान दुवैलाई मिलाएर लानुपर्नेमा आफैंले गुट खडा गरेको भन्दै गोल्छाको आलोचना भइरहेको छ। 

ढकाललाई वरिष्ठ उपाध्यक्षमा आउन नदिनको लागि प्रत्यक्ष रुपमा प्रधानलाई बोकेर हिँडेका गोल्छाले आगामी दिनमा ढकालले चुनाव जितेमा कसरी काम गर्लान्? त्यो भने हेर्न बाँकी छ। 
 

प्रकाशित: Nov 22, 2020| 10:02 आइतबार, मंसिर ७, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्