बुधबार, वैशाख १७, २०८२

प्रदेश १ मा ‘हेलो विद्यार्थी’ कार्यक्रम

कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि मन्त्रालयले टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारी गरेको हो।
 |  बिहीबार, मंसिर ४, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बिहीबार, मंसिर ४, २०७७

विराटनगर– प्रदेश १ मा ‘हेल्लो विद्यार्थी कार्यक्रम’ सुरु गरिने भएको छ। अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीलाई लक्षित गरी सामाजिक विकास मन्त्रालयले कोरोना प्रभावित क्षेत्रका विद्यालयलाई लक्षित गरी सिकाइलाई निरन्तता दिने उद्देश्यले ‘हेलो विद्यार्थी कार्यक्रम’ सुरु गर्न लागेको हो। 

कोरोना महामारीका कारण विद्यालय प्रत्यक्ष रुपमा खुल्न सक्ने अवस्था नभएको र अनलाइन कक्षामा थोरै विद्यार्थीको मात्र सहभागिता भएपछि मन्त्रालयले टेलिफोनबाट सिकाउने कार्यक्रम सुरु गर्ने तयारी गरेको हो।

मोबाइलबाट शिक्षकले विद्यार्थीलाई सिकाउने र विद्यार्थीले शिक्षकलाई नबुझेको कुरा सोध्न सक्ने गरी कार्यक्रमको प्रवन्ध गरिएको छ। पहिलो चरणमा ३ महिनाका लागि सुरु गर्न लागिएको कार्यक्रममा सामाजिक विकास मन्त्रालय र स्थानीय तहको साझेदारी रहने छ। 

मन्त्रालयले चाँडै कार्यक्रम सुुरु गर्नका लागि स्थानीय तहसँग सम्झौता सुरु गरेको छ। पहिलो चरणमा ६ जिल्लाका १० वटा स्थानीय तहमा कार्यक्रम सुरु गर्ने तयारी गरिएको प्रदेश शिक्षा निर्देशनालयका निर्देशक राजेन्द्र बुढाथोकीले बताए। उनका अनुसार धनकुटा, मोरङ, सुनसरी, झापा, इलाम र तेह्रथुमका १० वटा स्थानीय तहमा कार्यक्रम सुरु गरिने छ।

धनकुटाको पाख्रीवास नगरपालिका र साँगुरीगढी गाउँपालिका, तेह्रथुमको छथर गाउँपालिका, सुनसरीको बर्जु र गढी गाउँपालिका, झापाको कचनकवल र कमल गाउँपालिका र मोरङको केराबारी गाउँपालिकामा सम्झौता भइसकेको निर्देशक बुढाथोकीले बताए। मोरङको मिक्लाजुङ र इलामको चुलाचुली गाउँपालिकामा सम्झौता गर्न बाँकी रहेको उनले बताए। 

Metro Mart
worldlink

नेपाल टेलिकमको पाठशाला (क्लोज युजर ग्रुप) सियुजी सिममार्फत विद्यार्थीलाई सिकाउन लागिएको शिक्षा निर्देशक बुढाथोकीको भनाइ छ। विद्यार्थी र शिक्षकले मात्र प्रयोग गर्न मिल्ने सियुजी सिममा १२९ रुपैयाँले १ महिना पुग्ने उनले बताए। बुढाथोकीका अनुसार विद्यार्थीका लागि सितैमा सिम दिइनेछ र ३ महिनाका लागि शिक्षक र विद्यार्थीको सिममा ब्यालेन्सको व्यवस्था  गरिने छ। 

नेपाल सरकारको सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार अनुसार इन्टरनेट, टिभी र कम्प्युटरको सुविधा नभएका विद्यार्थीका लागि सिम र रिचार्जको व्यवस्था गरिने बताइएको छ। 

स्थानीय तहका २५० शिक्षक र ५०० विद्यार्थीको कोटा निर्धारण गरिएको छ। रिचार्ज गर्नुपर्ने विद्यार्थीको विवरण स्थानीय तहले तयार गर्ने निर्देशक बुढाथोकीले बताए। उनका अनुसार विद्यार्थी छनौट गर्दा गरिव भित्रको पनि गरिव छनौटलाई गर्नुपर्ने छ।

विद्यार्थीलाई पुस्तक वितरण गरिसकिएको र अभिभावकको मोबाइलमा सिम र रिचार्ज गर्नाले कार्यक्रम प्रभावकारी बन्ने शिक्षा निर्देशनालयको विश्वास छ। अभिभावकको मोबाइल हुने हुँदा विद्यार्थीको पठनपाठनबारे अभिभभावकसँग पनि जानकारी लिन सकिने बुढाथोकीले बताए। 

‘हेलो विद्यार्थी कार्यक्रम’का लागि सामाजिक विकास मन्त्रालयले १ लाख ५० हजार र स्थानीय तहले १ लाख रुपैयाँ व्यहोर्ने छन्। 

अनलाइन कक्षाले समेट्न नसकेका विद्यार्थीका लागि टेलिफोनबाट सिकाउने गरी कार्यक्रम तयार गरिएको सामाजिक विकास मन्त्री जीवन घिमिरेले बताए। कोरोनाको संक्रमण कहिलेसम्म भन्ने यकिन नभएकाले पठनपाठन कार्यलाई अघि बढाउन मन्त्रालयले टेलिफोनबाट शिक्षण सिकाइ सुरु गर्ने तयारी गरेको उनले बताए।

प्रकाशित: Nov 19, 2020| 05:55 बिहीबार, मंसिर ४, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्