मेलम्चीमा साउन १६ गते आएको बाढी पनि हामीले सोचेभन्दा फरक छैन। यसपटक पनि बाढी आउनुको मुख्य कारण घ्रेमाथाङको पहिरो नै हो। घ्रेमाथाङमा ठूलो चउर भएको उपत्यका छ। उक्त स्थानमा बालुवा थुप्रिएको र प्रशस्तै लेदो जमेको छ। अहिले मेलम्चीमा बगिरहेको लेदो त्यही हो। अझै केही समय यसरी नै बगिरहने देखिन्छ। घ्रेमाथाङ क्षेत्रमा शनिबार राति पानी परेको थियो। त्यो पानीसँगै पहिरो गएपछि मेलम्चीमा बाढी आएको हो।
असार १ गते पनि मेलम्चीमा बाढी आएको थियो। यसको प्रकृति पनि उस्तै हो। असार ३ गते प्राप्त फोटोको आधारमा घ्रेमाथाङ उपत्यका क्षेत्रको २० प्रतिशत भूभाग खसेको अनुमान थियो। त्यो बाढीले घ्रेमाथाङको तल्लो क्षेत्रमा लेदो थुपारेको थियो। तर यसपटक त्योभन्दा धेरै ठूलो भाग खसेको देखिन्छ।
हालै घ्रेमाथाङ पुगेर खिचिएको हेर्दा अझै धेरै ठूलो भूभाग बग्न सक्ने देखिन्छ। ठ्याक्कै अंकमा त भन्न नमिल्ला। तर अभन्दा १० गुणा बढी नै बग्न सक्ने ठाउँ भिडियोको अध्ययनबाट आकलन गर्न सकिन्छ।
घ्रेमाथाङमा पहिरो गइरहने देखिएकाले मेलम्ची नदीमा बाढीको जोखिम उच्च छ। पानी पर्नासाथ घ्रेमाथाङ उपत्यकाको भाग खोल्न सुरु हुने, पहिरो जाने र बग्ने भएकाले यसको जोखिम लामो समयसम्म रहनेछ। मेलम्ची नदीमा बाढीको जोखिम यस वर्षको मनसुनका लागि मात्र नभएर आगामी वर्षका मनसुनमा पनि रहिरहने देखिन्छ। यस वर्ष पनि भदौभरका लागि जोखिम अत्यधिक छ। त्यसपछि पनि यसको जोखिम कम भइहाल्ने वा टर्ने भने होइन।
यसअघि असार १ मा आएको बाढीभन्दा यस पटकको बाढी ठूलो हो। तर असार १ मा घ्रेमाथाङ उपत्यकाको एक छेउबाट पहिरो गएर त्यही पहिरोले पानी थुनिएको थियो। त्यसपछि बनेको पानी जमेर बनेको 'ड्याम' फुट्यो। त्यसले गर्दा ठूलो मात्रामा लेदोसहितको बाढी आएको थियो। यसपालिचाहिँ बाढीको बेग बढी छ, पहिलेको जस्तो थुनिएको छैन।
घ्रेमाथाङ क्षेत्रमा खिचिएको भिडियो हेर्दा पहिरो गइरहेको देखिन्छ। ठूलो पहिरो एकैपटक गयो र नदीको प्रवाह रोकियो भने पुनः ठूलो 'ड्याम' बन्न सक्ने खतरा छ। ड्याम बनेर फुट्यो भने मेलम्ची नदीको बाढीले पहिलेको भन्दा उग्र रूप लिन्छ। ड्याम बनेर एकैचोटि फुट्यो भने पुनः ठूलो लेदो बाढी आउने सम्भावना हुन्छ। यसअघिको बाढी पनि यही प्रकृतिको थियो। त्यसले गर्दा मेलम्ची बजार क्षेत्रमा आएर लेदो जमेको थियो। ड्यामिङ नभए माथिबाट लेदो बगाएर ल्याउँछ, लैजान्छ। त्यसरी पहिलेको जस्तो थुपार्ने जोखिमचाहिँ कम हुन्छ। अलिअलि लेदो थुपारिहाले पनि त्यति तीव्र गतिमा हुँदैन। पहिले मेलम्चीमा भरिएको लेदो जति थुपार्नका लागि भने फेरि ड्यामिङ नै हुनुपर्छ। ड्यामिङ नभएकाले नदी किनार क्षेत्रको कटान कम भएको छ।
असार १६ को बाढीले मेलम्ची बजारबाट उत्तरतर्फको चनौटे बजारमा यसपालिको बाढीले बढी क्षति पुर्याएको छ। अस्तिको बाढीले नै उक्त क्षेत्रमा पनि लेदो थुपारेको थियो। थुप्रिएको उक्त लेदोलाई डोजर लगाएर खोल्ने प्रयास गरिएको थियो। तर नदीको बग्ने स्थान 'बेड' नै उकासिइसकेको छ। नदी बग्ने क्षेत्र नै उकासिइसकेपछि सामान्य बाढीबाट पनि बढी क्षति गर्ने सम्भावना हुन्छ। खोलाको 'बेड' नै उकासिएकाले चनौटे क्षेत्रको रातोपुल बगाएको हो। नदीको सामान्य धारमा बग्ने ठाउँ भएकाले अस्तिको बाढी आएकै स्थानतिर बाढी पसेको हो। सामान्य धारमा नदी बग्ने स्थानमा बालुवा ढुंगा भरिएकाले नदी बस्ती प्रवेश गरेको हो। नदीले सामान्य धारमा बग्न नपाएकाले क्षति गर्ने सम्भावना हुन्छ।
अब तत्काल क्षति कम गर्न नदी किनारका बस्ती खाली गर्नुपर्ने हुन्छ। यस वर्षको मनसुनभरका लागि त ती क्षेत्र अत्यधिक जोखिमयुक्त छन्। मानिस बाढी आउन्जेल त्रसित हुने तर बाढी घट्ने बित्तिकै बजारमा भवन बनाउन थालिहाल्छन्। यस्तो गर्न दिइनु भएन। यसले जोखिम बढाउँछ।
नदी किनारका बस्ती सुरक्षित स्थानमा स्थानान्तरण गरेपछि बाढीको क्षति न्यूनीकरणका अन्य कामतर्फ लाग्नुपर्छ। त्यसपछि नदीलाई सामान्य धारमा फर्काउने, तटबन्धनको काम गर्ने र ग्रेबियन वाल लगाउने काम पर्छन्।
मेलम्चीमा बाढी आइरहने भएकाले यसको विस्तृत अध्ययन गर्न जरुरी देखियो। सरकारले हेलम्बुको माथिल्लो क्षेत्र र मेलम्ची नदीको मुहान क्षेत्रको विस्तृत अध्ययन गर्नुपर्छ। ठूलो विपद् सिर्जना गरिरहन सक्ने माथिल्लो भेगका विषयमा अध्ययन भएकै छैन। यो अध्ययन नहुनु सबैभन्दा ठूलो गल्ती भइरहेको छ। समग्र अध्ययनपछि मात्र बाढीले कहिलेसम्म र कस्तो असर गरिरहन्छ भन्न सकिन्छ। आइतबार पनि गृह मन्त्रालयको टोली त्यसतर्फ प्रस्थान गरेको छ। त्यसले फोटो खिचेर मात्र आउने हो। तत्काल सबै नापजाँच र अध्ययन हुन सक्दैन। यो अध्ययन गर्ने कामचाहिँ एकदमै ढिला भइरहेको छ। यसका लागि सरकारी पक्षले तदारुकता देखाउन जरुरी छ।
(मेलम्ची क्षेत्रको वातावरणीय र भौगर्भिक अध्ययनमा लामो समय काम गरेका निरौलासँग गरिएको कुराकानीमा आधारित)