काठमाडौं– गएको चैतयता नेपाली फुटबल ठप्प छ। एसियाली फुटबल महासंघ(एएफसी)ले विश्वकप २०२२ र एसिया कप २०२३ को छनोट एक वर्ष धकेलिदिँदा सुरु हुन लागेको राष्ट्रिय टिमको अभ्यास पनि रोकियो।
यसैबीचमा फुटबल रोकिएर घर फर्किएका कप्तान रोहित चेम्जोङ फेरि घरेलु फुटबल सुरु भएपछि इन्डोनेसियाको क्लब पर्सिजा जकार्ता पुगिसकेका छन्।
श्रीलंकामा खेल्दै खाएका फरवार्ड अभिषेक रिजाल दोस्रो डिभिजनको आई लिग खेल्नका लागि भारतीय टिम मोहम्मदेनमा नयाँ सम्झौता गरेर गएका छन्
अन्य केही खेलाडीले पनि विदेशी लिगमा खेलिरहेका छन्। क्रिकेटका सन्दीप लामिछाने पनि कोरोना महामारीबीच विदेशी लिगमा व्यस्त छन्।
नेपालमा भने खेल सुरु नभएकोमा खेलाडीको व्यापक असन्तुष्टि छ। मंगलबारमात्रै राष्ट्रिय टोलीका कप्तान किरण चेम्जोङले फेसबुकमा लामो स्टाटस लेख्दै खेलाडीका कुरा राखे। उनले सरकार र राष्ट्रिय खेलकुद परिषद्(राखेप)लाई खेलकुद सुरु गर्न माग गरेका छन्। ‘किन एकान दुकान गर्दै बस्दै हुनुहुन्छ ? के खेलाडी सधैं मर्ने नै हो ? तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ भयो त ? खेलाडी सधैं धुलोमा तपाईंहरु चिल्लो गाडीमा ?’ चेम्जोङले प्रश्न गरेका छन्।
फुटबल खेलेरै परिवार पाल्ने खेलाडीलाई ७ महिनासम्म खेलकुद रोकिँदा गाह्रो परेको उनले बताएका छन्। त्यसो त नेपाली खेलाडीलाई मात्र होइन, फुटबल रोकिँदा विदेशी खेलाडीलाई पनि गाह्रो परेको छ। नेपालमा फुटबल खेल्न आएका अफ्रिकी खेलाडी फ्लारेन्ट कोरा ७ महिनादेखि खेलविहीन छन्। उनी घर जान चाहन्छन् तर पाएका छैनन्।
‘मसँग घर जाने पैसा पनि छैन। क्लबले पनि वास्ता गरेको छैन,’ उनले नेपाल समयसँग भने। नेपालमा त्यत्तिकै ५–६ महिना बसेपछि केही खेलाडी विदेश फर्किए भने धेरैजसो विदेशी खेलाडी आर्थिक अभावले यहीँ बसिरहेका छन्।
कप्तान चेम्जोङले नेपालमा खेल र खेलाडीका लागि कोही पनि नबोलिदिनाले यस्तो भएको बताएका छन्। ‘आखिर कहिलेसम्म हामीले नेपाली फुटबलको लोकदोहोरी फेसबुकमा हेरेर बस्ने ? नेपाली फुटबलको विकासमा कसैले केही गरेको पनि देखिएन। ७ महिनादेखिको खेलाडीको क्षतिपूर्ति कसले व्यहोर्छ ?’ कप्तानको प्रश्न छ।
यता लामो समयसम्म फुटबल सुरु नभएपछि खेलाडीहरु विदेश जाने लाइनमा छन्। अब खेलाडीले कुन क्लब राम्रो छ भन्दा पनि कुन देश राम्रो होला भनेर छान्ने बेला भइसकेको फुटबलका जानकारहरु बताउँछन्। कप्तान चेम्जोङले पनि यही कुरा उठाएका छन्।
युवा तथा खेलकुद मन्त्रालयले भने खेलको स्वीकृतिका लागि मन्त्रालयल जानु नपर्ने र राखेपले नै स्वीकृति दिनेगरी व्यवस्था मिलाएको बताएको छ।
‘सानो सानो ग्रुप बनाएर अभ्यासका लागि अनुराध गर्ने टिमहरुका लागि हामीले अनुमति दिएका पनि छौं,’ युवा तथा खेलकुद मन्त्रालयका प्रवक्ता रामबन्धु सुवेदी भन्छन्, ‘अब राखेपले विभिन्न संघहरुको सहकार्यमा वार्षिक क्यालेन्डर बनाएर कार्यक्रम पठाएपछि हामीले स्वीकृत गर्ने हो। हामीले सुरक्षाका विधि अपनाएर खेल्ने गरेमा कुनै खेलमा पनि रोक लगाएका छैनौँ।’
तर अहिलेसम्म खेल संघहरुले नै खेल अघि बढाउन नखोज्दा अभ्यास र प्रतियोगिता हुन नसकेको हो। मन्त्रालयले एक महिनाअघि बैठक बसेर कार्ययोजना कसरी तयार गर्ने भनेर छलफल गरेको थियो।
तर, कुनै संघहरुले कोरोनाको खेल गाइडलाइन बनाएका छैनन्। एन्फाले पनि राष्ट्रिय टोलीको लागिमात्र गाइडलाइन बनाएको छ। खेलाडीहरु आफैं सुरक्षित भएर हलभित्र हुने केही खेलको अभ्यास भने सुरु गरेका छन्।
अहिले खेल सुरु गर्नका लागि राखेपले स्वीकृति दिए पुग्ने मन्त्रालयका प्रवक्ता सुवेदीले बताएका छन्। तर, एन्फाले यसअघिको राष्ट्रिय टिमको अभ्यासको लागि राखेपमार्फत सीसीएमसीबाट स्वीकृति लिनु परेको थियो। यो पटक पनि सोही विधि अपनाएर स्वीकृति लिनका लागि राखेपमा असोज १ गते नै पत्र पठाएको राष्ट्रिय टोलीका व्यवस्थापक मधुसुधन उपाध्याय बताउँछन्।
सात महिना बेरोजगार बसेका खेलाडीलाई क्षतिपूर्ति होला त भन्ने प्रश्नमा उनले भने, ‘धेरै अप्ठ्यारो परेको भए संघ सहयोग गर्न तयार छ। तर महामारीले विश्वनै अप्ठ्यारोमा परेका कारण खेलाडीले यो परिस्थितिलाई स्विकार गर्नुपर्छ जस्तो लाग्छ।’
खेलाडीलाई त क्षतिपूर्तिभन्दा भन्दा महत्वपूर्ण कुरा खेल हो। एन्फाले पनि खेल सुरु गर्नका लागि पहल गरिरहेको एन्फा उपाध्यक्ष उपाध्यायले बताए। ‘चाडवाड नजिकै आएकाले झट्टै खेल गराइहाल्ने अवस्था पनि छैन। त्यसैले म क्लबमा पनि एन्फामा पनि भएको आधारमा के भन्छु भने, जति खेल स्थगित भएका छन्, पहिले त्यसलाई सकौँ। मोफसलका खेल पनि गराउँ। अनि नयाँ सिजन सुरु गराउँला।’
फुटबलका बी, सी, महिला लिग, राष्ट्यि लिग, प्रदेश लिगका साथै चैत पहिलो हप्तायता आयोजना गरिएको मोफसलका खेल स्थगित भएका छन्।
यसकारण स्थगित भएकै खेल पहिले गराउने एन्फाको मत रहेको उपाध्यक्ष उपाध्याय बताउँछन्। तर, राखेपमा पत्र अड्किएकाले एन्फाले यसै गर्न सक्छ भन्ने अवस्था उपाध्यायले बताए। ‘फुटबल खेल सुरु गर्न केही समय भने अवश्य लाग्छ। कतिपय बी, सी र महिला क्लबको आफ्नै भवन छैन। उनीहरुले खेलाडीलाई होटलमा राख्नुपर्ने हुन्छ। साथै अन्य समयको भन्दा अतिरिक्त सावधानी पनि अपनाउनुपर्ने भएकाले सुरु गर्न धेरै गाह्रो छ,’ उनले भने।
यसबारे एन्फा र क्लबले छलफल नै सुरु गरेका छैनन्। क्लबहरु आर्थिक संकटका कारण सबै काम आफैंँ गर्नसक्ने अवस्थामा पनि छैनन। यस्तो बेलामा सरकार र एन्फाको सहयोग क्लबलाई चाहिन्छ। साथै खेलाडी लामो समयसम्म अभ्यासमा नरहेकाले खेलमा फर्कन पनि निकै समय चाहिन्छ। यस्तो अवस्थामा अधिकांश क्लब कसरी खेल सुरु गर्ने भन्ने अन्योलमा छन्।
त्यस्तै, पछिल्लो समय राखेपको एउटा कामले खेलाडीलाई निराश बनाएको छ। राखेपले त्रिपुरेश्वरस्थित दशरथ रंगशाला म्युजिक भिडियोको सुटिङको लागि उपलब्ध गराएको थियो। यही विषयलाई लिएर खेलाडीहरु खेलकुद निकायप्रति आक्रोशित बन्न थोलेका छन्।
‘खेल्दा चाहिँ कोरोना लाग्ने म्युजिक भिडियो सुटिङ गर्दा चाहिँ कोरोना नलाग्ने ?’ अधिकांश खेलाडीको प्रश्न छ। सीमित खेलको अभ्यासबाहेक राम्रा खेल र अभ्यासको काम छिटै सुरु गरिने बताउँदै आएका सम्बन्धित निकायले काम गर्न भने रुची देखाएका छैनन्।