बुधबार, असार ४, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • विशाल ग्रुपको वेबसाइट बन्द, कामदारका सोसल मिडिया अकाउन्ट डिएक्टिभ

विशाल ग्रुपको वेबसाइट बन्द, कामदारका सोसल मिडिया अकाउन्ट डिएक्टिभ

व्यापारिक घराना विशाल ग्रुपले आफ्नो आधिकारिक वेबसाइट विशालग्रुपडटकम बन्द गरेको छ। विशाल ग्रुपका जानकारी दिने अन्य वेबसाइट पनि बन्द भएका छन्। 
 |  सोमबार, असोज १९, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, असोज १९, २०७७

काठमाडौं– व्यापारिक घराना विशाल ग्रुपले आफ्नो आधिकारिक वेबसाइट विशालग्रुपडटकम बन्द गरेको छ। विशाल ग्रुपबारे जानकारी दिने अन्य वेबसाइट पनि बन्द भएका छन्। 

म्याद नाघेका चक्लेट, फुड सप्लिमेन्ट, पौष्टिक आहार, बिस्कुट आदिमा नयाँ लेबल लगाएर बजारमा पठाइरहेको आयान डिस्ट्रिब्युटर्स, अमेजन डिस्ट्रिब्युटर्स र युनाइटेड डिस्ट्रिब्युटर्स नेपालसँग विशाल ग्रुपको सम्बन्ध पुष्टि हुने जानकारी भएका वेबसाइट सबै बन्द गरिएका हुन्।

आइतबार साँझसम्म सञ्चालनमा रहेको विशाल ग्रुपको वेबसाइट सोमबार बिहानैदेखि बन्द भएको छ। 

नेपाल समयले आइतबार विशाल ग्रुपको वेबसाइटलाई उद्धृत गर्दै समाचार प्रकाशित गरेको थियो। 

आधिकारिक वेबसाइटबाट सम्पूर्ण सूचना प्रवाह भएको भन्दै विशाल ग्रुपले डाउन गर्न लगाएको विशाल गु्रप निकट स्रोतले जानकारी दियो। 

स्रोतका अनुसार नेपाल गुणस्तर तथा नापतौल विभागबाट पनि विशाल ग्रुपका विभिन्न कम्पनीलाई कारबाही गरिएको जानकारी बाहिर गएको, यो समूह र हालै कारबाहीमा परेका अन्य डिस्ट्रिब्युटर्सबीचको सम्बन्धका सूचना पनि वेबसाइटमार्फत आम सर्वसाधारणबीच फैलिरहेकाले वेबसाइट बन्द गर्न लगाइएको छ। 

यसबारे नेपाल नापतौल तथा गुणस्तर विभागका प्रवक्ता दिनानाथ मिश्र भने असहमति जनाउँछन्। उनले भने, ‘वेबसाइट मर्मतको प्रक्रियामा रहेकाले हाल बन्द भएको हुन सक्छ।’ 

वाणिज्य विभागले पनि विशाल ग्रुपअन्तर्गतको आयान डिस्ट्रिब्युटर्स र अमेजन डिस्ट्रिब्युटर्सको गोदाममा छापा मारी आयान डिस्ट्रिब्युटर्सका म्यानेजर रोनक बोथ्रालाई पक्राउ गरेयताको दैनिक अनुगमन विवरण अद्यावधिक गर्न छोडेको छ भने कारबाही विवरणको पनि अभिलेख राखिएको छैन। 

जिल्ला प्रशासन कार्यालय, वाणिज्य विभाग र महानगरीय अपराध महाशाखाको टोलीले १५ असोजमा विशाल गु्रपको अमेजन र आयान डिस्ट्रिब्युटर्सको गोदाममा छापा मार्दा ओरियो बिस्कुट, स्निकर्स र मार्स चक्लेट, ट्याङ जुस, बर्नभिटा लगायतका म्याद सकिएका सामग्रीमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै गरेको फेला पारेको थियो।

आइतबार विशाल ग्रुपले विज्ञप्ति जारी गर्दै आयान डिस्ट्रिब्युटर्स र युनाइटेड डिस्ट्रिब्युटर्स नेपालसँग आफ्नो कुनै सम्बन्ध नरहेको जनाएको थियो। 

तर, वेबसाइटमा रहेका विभिन्न जानकारीबाट यी कम्पनीबीचको सम्बन्ध पुष्टि हुने भएपछि वेबसाइट नै बन्द गरिएका हुन्। 

त्यति मात्र होइन, विशाल ग्रुपसँग सम्बन्धित व्यक्तिहरुको फेसबुक र लिङ्क्डइन अकाउन्ट पनि बन्द गरिएको छ। पक्राउ परेका रोनक बोथ्रा र विशाल ग्रुपबीचको सम्बन्ध पुष्टि हुने रोनकको लिङ्क्डइन अकाउन्ट र फेसबुक अकाउन्ट पनि डिएक्टिभ गरिएको छ। 

अमेजन डिस्ट्रिब्युटर्सको म्यानेजिङ डाइरेक्टर्स जितु अग्रवालको पनि लिंक्डइन र फेसबुक अकाउन्ट डिएक्टिभ गरिएको छ। 

विशाल ग्रुपको फलामे छड पनि गुणस्तरहीन 

विशाल ग्रुपअन्तर्गतको कमला रोलिङ मिल्सद्वारा उत्पादित फलामे छड  गुणस्तरहीन पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले असार २६ गते उक्त मिल्समाथि कारबाही गरेको थियो। 

मिल्सले वर्षाैँदेखि गुणस्तरहीन छड उत्पादन गर्दै आएको भन्दै विभागले तीन महिनाका लागि इजाजतपत्र रद्द गरेको थियो । 

विभागले रद्द गरेको इजाजतपत्रको समय असोज २६ गते सकिनेछ। विभागले इजाजतपत्र तीन महिनाका लागि रद्द गरेपछि कम्पनीले छड उत्पादन पनि बन्द गरेको विभागका प्रवक्ता दीनानाथ मिश्रले बताए। 

उनका अनुसार विभागले छडकोे गुणस्तर नेपाल गुणस्तर (प्रमाण चिह्न) अनुरुप नरहेको भन्दै गुणस्तर नियमावली २०४० को नियम १६ अनुसार इजाजत रद्द गरेको हो। 

अनुगमनका क्रममा छडको गुणस्तरहीन भएको पाएपछि विभागले असार १२ गते कमला रोलिङ मिल्स स्टिल्सलाई स्पष्टीकरण सोधेको थियो। 

स्पष्टीकरण सोध्दा चित्तबुझ्दो उत्तर नआएपछि विभागले असार २६ गते इजाजतपत्र तीन महिनाका लागि रद्द गरेको मिश्रले जानकारी दिए । 

विभागका अनुसार विशाल गु्रपद्वारा प्रवद्र्धित कमला रोलिङ मिल्सबाट उत्पादित एफई ५०० टीएमटी बार १० एमएम, १६ एमएम, २० एमएम र २५ एमएमको छड गुणस्तरहीन रहेको पाइएको हो। 

विभागले सो कम्पनीलाई तत्काल बजार पठाएको छड फिर्ता ल्याउन र बिक्रीवितरण गर्नसमेत प्रतिबन्ध लगाउँदै उत्पादन इजाजत स्थगन गर्ने निर्णय गरेको थियो।

म्याद गुज्रेेका अखाद्यवस्तु बजारमा पठाउने आयान र विशाल ग्रुपको यस्तो छ सम्बन्ध 

म्याद नाघेका खाद्यवस्तुमा नयाँ लेबल लगाएर बजारमा पठाउँदै विशाल ग्रुप, सीडीओ भन्छन्– बल्ल भेटेको ठूलो माछा छाडिन्न

प्रकाशित: Oct 05, 2020| 12:55 सोमबार, असोज १९, २०७७
प्रतिक्रिया दिनुहोस्