काठमाडौं– म्याद नाघेका खाद्य सामाग्री पुन: लेवलिङ गरेर बजारमा पठाउन लागेको आरोपमा पक्राउ परेकी आयान डिस्ट्रिब्युटर्स प्रालिकी सञ्चालक पुष्पा अग्रवाललाई मुक्त गर्न वाणिज्य राज्यमन्त्री मोतीलाल दुगडले दबाब दिइरहेका छन्।
म्याद नाघेका खाद्य सामग्री फेरि लेबलिङ गरिरहेको अवस्थामा विशाल ग्रुपसँग सम्बद्ध आयानकी सञ्चालक अग्रवालसहित नौजना बिहीबार कलंकीबाट पक्राउ परेका थिए।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल भने जस्तोसुकै दबाब आए पनि जनस्वास्थ्यमा खेलवाड गर्नेमाथि कारबाही हुने बताउँछन्।
स्रोतका अनुसार पक्राउ परेकी पुष्पा मन्त्री दुगडकी आफन्त पर्छिन्। अनुसन्धानमा अन्य आफन्त पनि तानिने भएपछि दुगडले अग्रवाललाई तत्काल छाड्न दबाब दिएका हुन्।
महानगरीय अपराध महाशाखाको नेतृत्वमा वाणिज्य विभाग र जिल्ला प्रशासन कार्यालयका कर्मचारीको संयुक्त टोलीले बिहीबार आयान डिस्ट्रिब्युटर्स प्रालिको कलंकीस्थित गोदाममा छापा मारेको थियो।
त्यति बेला गोदामका कर्मचारी स्निकर्स चकलेट, ट्याङ जुस पाउडर, प्रिंगल्स ब्रान्डको चिप्स, ओरियो बिस्कुटलगायतका म्याद सकिएका खाद्य सामग्रीमा धमाधम पुनः लेबलिङ गर्दै थिए।
म्याद सकिएका सामाग्रीमा नयाँ लेबल लगाएर बजार पठाउने उनीहरुको तयारी थियो।
विशेष सूचनाका आधारमा महानगरीय अपराध महाशाखाले आयानको गोदाममा छापा मारेर लेबलिङ गर्ने मेसिनसहित नौ जनालाई पक्राउ गरेको थियो।
प्रमुख जिल्ला अधिकारी दाहालले भने, ‘हामीले ठूलो माछा समाएका छौं। जनस्वास्थ्यमाथि खेलवाड गर्नेलाई जस्तोसुकै दबाब आए पनि छोड्ने छैनौं।’
उनले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सहयोगमा थप सूचना संकलन भइरहेको बताए।
‘खाद्य वस्तुमा नयाँ मिति राखेर बजारमा पठाउनु जनस्वास्थ्यमाथिको गम्भीर खेलवाड हो। जनस्वास्थ्यमा खेलवाड गर्नेलाई हामी कुनै हालतमा छोड्दैनौं’, दाहालले भने।
अहिले एक करोड रुपैयाँभन्दा बढी मूल्यका अखाद्य वस्तुसहितको गोदाम सिल गरिएको छ। यसबारे थप अनुसन्धान अघि बढाइएको वाणिज्य विभागले जनाएको छ।
विभागका अनुसार गोदाममा युनिलिभरका उत्पादन रिलेबलिङ गरिएको पाइएको छ। ठूलो परिमाणमा खान अयोग्य वस्तु भेटिएपछि बजारमा गएका स्निकर्स चकलेट, चिप्स र ट्याङ जुसको गुणस्तरमा पनि प्रश्न उठेको विभागका निर्देशक सागर मिश्रले बताए।
आयानले धेरै अघिदेखि म्याद गुज्रिसकेका सामान सस्तोमा उठाएर पुनः लेबलिङ गरी फेरि बजारमा पठाउँदै आएको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीले बताए। यस्तो कार्य विशाल ग्रुपको निर्देशनमा भइरहेको स्रोतको भनाइ छ।
आयान र विशाल ग्रुपसँगको सम्बन्ध
आयान डिस्ट्रिब्युटर्स नेपालमा स्निकर्स चकलेट, बोर्नभिटा, ट्याङ जुस, फिन्गर चिप्सलगायतका खाद्य वस्तु बिक्री गर्ने स्थानीय विक्रेता हो।
कम्पनीले सबैखाले खाद्य वस्तु तथा सामग्री विशाल समूहको युनाइटेड डिस्ट्रिब्युटर्स र लाइफ केयर इन्टरनेसनलबाट खरिद गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको महानगरीय अपराध महाशाखाका एक प्रहरी अधिकृतले बताए।
स्निकर्स, ओरियो बिस्कुट, हर्लिक्स, मार्स चकलेट, किल्डे, बन्टी तथा मिल्की र चिप्सको आयातकर्ता विशाल समूह हो। यी सामान समूहको भगिनी संस्था युनाइटेड डिस्ट्रिब्युटर्सले बजारमा पुर्याउँछ।
अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार म्याद गुज्रेर नष्ट गर्नुपर्ने वस्तु आयानले रि–लेबलिङ गरेको, आयनले ती वस्तु युनाइटेडमार्फत किनेको देखिएकाले अनुसन्धान विशाल ग्रुपसम्म पुगेको छ।
युनाइटेड डिस्ट्रिब्युटर्सका सञ्चालक विशाल गु्रपका निर्देशक अनुज अग्रवाल हुन्। उनले विदेशी कम्पनीका खाद्य वस्तु नेपालमा ल्याएर स्थानीय विक्रेतामार्फत बजारमा पठाउँदै आएका छन्।
युनाइटेड डिस्ट्रिब्युटर्सका सञ्चालक अग्रवालको मोइबाल अफ गरिएको छ। कार्यालयमा कर्मचारीसँग सम्पर्क गर्दा कुरा गर्न मानेनन्।
युनाइटेड डिस्ट्रिब्युटर्स तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालबाट सबैभन्दा बढी कर तिर्ने कम्पनीका रूपमा सम्मानित भएको थियो। विशाल गु्रपले चकलेटमा १० प्रतिशत भन्सार कर घटाउन पूर्वअर्थमन्त्री डा. युवराज खतिवडासम्म नै लबिङ गरी सफल पनि भएको थियो।
के हो विशाल ग्रुप?
विशाल गु्रप नेपालको ठूलो व्यापारिक समूह हो। समूहको बैंक, फाइनान्स, बिमालागयतका क्षेत्रमा पनि लगानी छ।
यस्तै विशाल गु्रप खाद्य वस्तु आयात गर्ने ठूलो कम्पनी हो। यसले महँगा गाडी र विलासिताका सामग्री पनि आयात गर्छ।
ग्रुपले भारतका विभिन्न कम्पनीसँग मिलेर नेपालमा व्यापार गरिरहेको छ। ग्रुपका अध्यक्ष जगदीशप्रसाद अग्रवाल हुन्।
छापा मार्ने सीडीओ, नाम विभागको
कम्पनीमा बिहीबार जिल्ला प्रशासनको नेतृत्वमा छापा मारिएको थियो। महानगरीय प्रहरी अपराध महाशाखामा सूचना आएपछि छापा मार्ने अनुमति जिल्ला प्रशासन कार्यालयले दिएको थियो। प्रमुख जिल्ला अधिकारी दाहालका अनुसार खाद्य सामग्री भएकाले वाणिज्य विभागका कर्मचारीलाई पनि साथमा लगिएको थियो।
जिल्ला प्रशासन कार्यालयका एक अधिकारीले वाणिज्य विभागले छापा मारेको भनेर नियोजित रूपमा समाचार बाहिर ल्याइएको बताए।
ती अधिकारीले भने, ‘विभागलाई जिम्मेवारी दिने हो भने एक देखि तीन लाख रुपैयाँसम्म जरिबाना लिएर तत्काल छोडिदिन्छ। अहिले नै छापा मारेको ‘केस’ विभागलाई सुम्पन दबाब आइरहेको छ।’
छापा मार्ने टोलीमा विभागका निर्देशक सागर मिश्रसहित पाँच जना संलग्न थिए। यस्तै प्रहरीका तर्फ अपराध महाशाखाका एसपी ईश्वर कार्कीको नेतृत्वमा टोली परिचालन भएको थियो।
कानुनी प्रावधान
उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता ज्योति बानियाँ म्याद सकिएका खाद्य वस्तुलाई पुनः लेबलिङ गरी बिक्री गरेर आयानले जनस्वास्थ्यमाथि ठूलो खेलवाड गरेको बताउँछन्। उनका अनुसार वाणिज्य विभागले कारबाही प्रक्रिया अगाडि बढाएमा उपभोक्ता संरक्षण ऐनअन्तर्गत तीन महिनादेखि एक वर्षसम्म कैद वा बढीमा तीन लाख जरिबाना गर्न सक्छ।
खाद्य ऐनअनुसार न्यूनस्तरको खाद्य पदार्थ उत्पादन, बिक्रीवितरण, निकासी वा पैठारी गर्ने व्यक्तिलाई दुई हजार जरिवाना लाग्नेछ।
उनले प्रशासन कार्यालयले कारबाही गरेमा कालोबजारी ऐन र फौजदारी ऐन आकर्षित हुने बताए। बानियाँले भने, ‘कालोबजारी र फौजदारी ऐनअन्तर्गत कारबाही अगाडि बढेमा तीन वर्ष जेल, सामान जफत तथा बिगो जरिवाना गर्नुपर्ने प्रावधान छ।’