बुधबार, वैशाख १७, २०८२

टोलटोलमा गएर पढाउन थाले शिक्षक 

कोरोना महामारीका कारण विद्यालय खुल्ने टुंगो नभएपछि पोखरिया माध्यमिक विद्यालयले घुम्ती कक्षा चलाएको हो।
 |  बुधबार, असोज १४, २०७७

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

बुधबार, असोज १४, २०७७

विराटनगर– मोरङको एउटा स्कुलका शिक्षक टोलटोलमा खटिएर पठनपाठनमा जुटेका छन्। कोरोना महामारीका कारण विद्यालय खुल्ने टुंगो नभएपछि पोखरिया माध्यमिक विद्यालयले घुम्ती कक्षा चलाएको हो।  शिक्षकहरूले शैक्षिक सामग्री र गृहकार्य विद्यार्थीको हातहातमै लगिदिन थालेका छन्।

यसबाट अनलाइन कक्षामा नसमेटिएका विद्यार्थीका अभिभावकबाट सकारात्मक प्रतिक्रिया आएपछि शिक्षक झन् उत्साहित भएका छन्।
अनलाइनमा सबैको पहुँच नपुगेकाले टोलटोलमा गएर पठनपाठन सुरु गरिएको प्रधानाध्यापक खेमराज भट्टराईले बताए।  

विद्यालयले इन्टरनेटको पहुँचमा रहेका विद्यार्थीका लागि अनलाइन कक्षा चलाइरहेको छ। उनले भने, ‘४० प्रतिशत विद्यार्थी अनलाइनमा समेटिएनन्। उनीहरूका लागि घुम्ती कक्षा सुरु गरिएको हो।’ 

टाेलमा पुगेर पठनपाठन गर्दै पोखरिया माध्यमिक विद्यालयका शिक्षक। तस्बिर : नेत्र पी अधिकारी

विद्यालयले परीक्षणका रुपमा दसैंसम्म घुम्ती कक्षा सञ्चालन गरेको जनाएको छ। घुम्ती कक्षामा अन्य विद्यालयका विद्यार्थी पनि समेटिएका छन्।

शिक्षकहरु टोल टोलमा गएर पढाउन थालेपछि अभिभावक पनि खुसी भएको प्रधानाध्यापक भट्टराईले बताए। विद्यार्थीको चाहना कक्षामै उपस्थित भएर पढ्ने भए पनि तत्कालका लागि सम्भव नदेखिएको प्रधानाध्यापक भट्टराईको भनाइ छ।

Metro Mart
worldlink

उनले भने, ‘चाडपर्व सकिएपछि १५–२० जना सम्म विद्यार्थी राखेर पठनपाठन गर्न सकिन्छ कि भनेर तयारी गरिरहेका छौं।’

विराटनगर महानगरपालिका क्षेत्रभित्रको नमुना विद्यालय पोखरियामा २२ सय विद्यार्थी अध्ययनरत छन्। २०७० अघि तीन सय ५० विद्यार्थी रहेको पोखरियामा अंग्रेजी माध्यमबाट पठनपाठन सुरु गरेपछि विद्यार्थीको चाप बढेको हो।

प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना लिनुपर्ने अवस्था रहेको प्रधानाध्यापक भट्टराईले बताए। उनका अनुसार भर्नाका समयमा विद्यालयको कोटा भन्दा चारगुणा बढी सम्म विद्यार्थी आउने गरेका छन्। बालमैत्री र प्रविधिमैत्री सिकाइका कारण विद्यार्थीको चाप बढेको उनी बताउँछन्। 

विराटनगर उत्तरतर्फका अधिकांश अभिभावकले केही अघिसम्म आफ्ना छोराछोरीलाई ‘राम्रो नपढे पोखरिया स्कुल हाल्दिन्छु’ भन्ने गर्थे।

यस्तो सुन्दा पोखरिया स्कुलका धेरै शिक्षक नरमाइलो मान्थे। २०५२ सालमा झन्डै आठ सय विद्यार्थी रहेकामा २०६७ सम्म आउँदा विद्यार्थी संख्या घटेर चार सय ५० मा झरेको थियो।

भट्टराईले पनि धेरै पटक आफ्नो विद्यालयलाई होच्याएर भनेको सुनेका थिए। त्यसपछि उनको टोली सक्रिय भयो। विद्यालयले सर्भे गर्‍यो। निजी स्रोतमा शिक्षक राख्न थाल्याे। शिक्षकहरुबीच विद्यालयलाई कसरी अघि बढाउन सकिन्छ भनेर छलफल भयो।

अभिभावकको सहमतिमा अंग्रेजी माध्यममा पढाउन सुरु गरियो। अंग्रेजी माध्यमकै कारण पोखरियामा विद्यार्थी र अभिभावक आकर्षित भएको भट्टराईले बताए। 

प्रकाशित: Sep 30, 2020| 13:35 बुधबार, असोज १४, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्