बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • कोरोना महामारीमा अर्थतन्त्र : कालो बादलमा चाँदीकाे घेरा 

कोरोना महामारीमा अर्थतन्त्र : कालो बादलमा चाँदीकाे घेरा 

कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा मुलुकको समग्र अर्थतन्त्र निराशाजनक देखिए पनि केही सूचकहरू सकारात्मक देखिएका छन्। 
 |  सोमबार, असोज १२, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

सोमबार, असोज १२, २०७७

काठमाडौं– कोरोना महामारीका कारण आर्थिक गतिविधि ठप्प हुँदा मुलुकको समग्र अर्थतन्त्र निराशाजनक देखिए पनि केही सूचकहरू सकारात्मक देखिएका छन्। 

नेपाल राष्ट्र बैंकले जारी गरेको चालू आर्थिक वर्षको पहिलो वित्तीय विवरणअनुसार साउनमा व्यापार घाटामा कमी आएको छ भने रेमिट्यान्स आप्रवाह घटेको छैन।

केही सूचक भने निराशाजनक छन्। राजस्व संकलनमा कमी आएको छ। पुँजीगत खर्च निकै कम छ। बैंक तथा वित्तीय संस्थामा निक्षेप थुप्रिएको छ, कर्जा प्रवाह छैन। 

अर्थशास्त्रीहरू भने एक महिनाको तथ्यांकका आधारमा समग्र अर्थतन्त्रको मूल्यांकन गर्न नसकिने बताउँछन्।

वरिष्ठ अर्थशास्त्री विश्वम्भर प्याकुरेल भन्छन्, ‘विश्वकै आर्थिक अवस्था डामाडोल भएको अवस्थामा एक महिनाको विवरण हेरेर केही भन्न सकिँदैन। तीन महिनाको विवरण आएपछि केही संकेत देखिनेछन्।’ उनले अर्थतन्त्रप्रति निराश भइहाल्नुपर्ने अवस्था भने नरहेको बताए।

Metro Mart
worldlink

आर्थिक गतिविधि चलायमान हुनेबित्तिकै सकारात्मक संकेत देखा पर्ने प्याकुरेलको भनाइ छ।

सन् २०२० को डिसेम्बरसम्म नेपालको आर्थिक वृद्धि नकारात्मक हुने उनको अनुमान छ।

उनी भन्छन्, ‘कर्जा प्रवाह भएन भने निक्षेपकर्ताले राम्रो ब्याज पाउँदैनन्। लगानीकर्ताले लाभांश पाउँदैनन्। आपूर्ति शृंखला समस्यामा परिरहेको छ।’
उनले वैदेशिक मुद्रा सञ्चिति हालसम्मकै उच्च हुनु नौलो नभएको बताए।

मानिस विदेश जान पाएका छैनन्, आयात घटेको छ, रेमिट्यान्सको आप्रवाह बढेको छ। त्यसैले विदेशी मुद्राको सञ्चिति बढेकोे देखिएको हो।

पूर्वअर्थ सचिव शान्तराज सुवेदी भने एक महिनाको सूचकले  अर्थतन्त्र कमजोर बन्दै गएको स्पष्ट भइसकेको बताउँछन्। 
उनी भन्छन्, ‘पूर्वाधारमा खर्च नहुँदा रकम चलायमान भएको छैन, अर्थतन्त्रको गति निकै सुस्त रहेको स्पष्ट छ।’ 

एक महिनाको वित्तीय विवरणका केही सूचक 
व्यापार घाटा २२.१७ प्रतिशतले कमी
एक महिनाको अवधि (साउन) मा वैदेशिक व्यापार घाटामा २२.१७ प्रतिशतले कमी आएको छ। निर्यात ८.९ प्रतिशतले बढ्दा आयात १९.६० प्रतिशतले घटेको छ। 

भन्सार विभागका अनुसार पछिल्लो समय विलासिता तथा उपभोग्य वस्तुको आयातमा वृद्धि हुन थालेको छ।

साउनमा सबैभन्दा बढी आयात हुने सामाग्रीको सूचीको पहिलो नम्बरमा मोबाइल सेट परेको छ। भन्सार विभागका अनुसार चार अर्ब २६ करोड रुपैयाँ बराबरको मोबाइल सेट आयात भएको छ। यो गत वर्षको यसै अवधिको तुलनामा ७६.६ प्रतिशत बढी हो। 

भटमासको कच्चा तेलको आयात १०३.७ प्रतिशतले बढेको छ। चामल आयात गत वर्ष साउनको तुलनामा ९५ प्रतिशतले बढेको छ। 

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अनुसार सबैभन्दा बढी प्रशोधित भटमासको तेल गत वर्षको तुलनामा ४०३.७ प्रतिशतले बढेको छ। नेपालमा आयात हुने भटमासको कच्चा तेल प्रशोधनपछि  भारतमा निकासी गरिन्छ। 

रेमिट्यान्स आप्रवाह २३ प्रतिशत वृद्धि 
 

विदेशमा रहेका नेपालीले पठाउने रकम रेमिट्यान्स बढेको छ। साउनमा ९२ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ जुन गत आर्थिक वर्षको पहिलो महिनाको तुलनामा २३ प्रतिशतले बढी हो। असारमा एक खर्ब १६ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो।

निक्षेपका रुपमा बैंकमा जम्मा भएको रेमिट्यान्स उत्पादनमूलक क्षेत्रमा उपयोग हुन नसक्दा अर्थतन्त्रमा नकारात्मक असर परेको अर्थविद्को भनाइ छ। 

राष्ट्र बैंकले गरेको एक अध्ययनअनुसार नेपालमा भित्रने करिब ८८ प्रतिशत रेमिट्यान्स रकम उपभोग्य वस्तु खरिदमा खर्च हुने गरेको छ। 

वैदेशिक मुद्रा सञ्चितिमा रेकर्ड 

साउनमा वैदेशिक मुद्रा सञ्चितिमा रेकर्ड कायम भएको छ। साउनमा असारमा भन्दा मुद्रा सञ्चिति २.५ प्रतिशतले बढेर १४ खर्ब ३६ अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।

राष्ट्र बैंकसँग १२ खर्ब ६० अर्ब ३८ करोड रुपैयाँ वैदेशिक मुद्रा सञ्चित छ। यो रकमले मुलुकलाई १५.६ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्ने राष्ट्र बैंकका अधिकारी बताउँछन्।

आयातमा भएको कमी, शिक्षा र अन्य कामका लागि विदेशिने नेपालीको संख्यामा ठूलो गिरावटका कारण विदेशी मुद्राको सञ्चिति बढेको हो।

राजस्व संकलनमा १२ प्रतिशतले कमी 
 

साउनमा राजस्व संकलन गत वर्षको तुलनामा १२ प्रतिशतले कमी आएको छ। 

गत वर्ष साउनमा ६६ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। यस वर्ष ५८ अर्ब ८२ करोड रुपैयाँ मात्र संकलन भएको छ। अर्थ मन्त्रालयका अनुसार यो लक्ष्यभन्दा १२ प्रतिशत कम हो। सरकारले चालू आर्थिक वर्षका लागि १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। 

खर्चमा कमी 
 

साउनमा गत वर्षको तुलनामा ५३.९ प्रतिशत कम खर्च भएको छ। अर्थ मन्त्रालयका अनुसार गत आवको पहिलो महिनामा चार अर्ब २८ करोड रुपैयाँ खर्च भएको थियो। 

यो वर्ष साउनमा एक अर्ब ९८ करोड रुपैयाँ मात्र खर्च भएको छ। कुल खर्चमध्ये चालु खर्च एक अर्ब ७३ करोड, पुँजीगत खर्च १३ करोड र वित्तीय व्यवस्थापनतर्फ १२ करोड रुपैयाँ खर्च भएको मन्त्रालयको तथ्यांक छ। 

निक्षेप १९ प्रतिशत बढ्यो 
 

साउनमा बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १९ प्रतिशतले बढेको राष्ट्र बैंकले जनाएको छ। 
साउनमा मुद्दती निक्षेपको अनुपात भने घटेको छ। बैंक तथा वित्तीय संस्थाले निक्षेपमा धेरै ब्याज नदिएपछि मुद्दती निक्षेपमा राख्नेले रकम बचतमा राख्न थालेका छन्। 

साउनमा बैंक तथा वित्तीय संस्थाको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ७.७ प्रतिशत, ३२.२ प्रतिशत र ५०.६ प्रतिशत छ। अघिल्लो वर्ष यस्तो अंश क्रमशः ७.९ प्रतिशत, ३२.९ प्रतिशत र ४८.० प्रतिशत थियो। 

कर्जा प्रवाह ०.५ प्रतिशत कमी
 

साउनमा कर्जा लगानी पनि पर्याप्त भएन। राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष साउनमा भन्दा यस वर्ष निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ०.५ प्रतिशतले घटेको छ।  अघिल्लो वर्ष सोही अवधिमा यस्तो कर्जा ०.५ प्रतिशत बढेको थियो। 

निजी क्षेत्रमा जाने कर्जा नबढ्नु भनेको उद्योग र व्यापार व्यवसाय नबढ्नु हो।  व्यापार, व्यवसाय वा उद्योग खोल्नुपर्दा निजी क्षेत्रले कर्जा लिन्थ्यो। बैंक तथा वित्तीय संस्थासँग निक्षेप थुप्रने थिएन।  व्यापार व्यवसाय बढ्दा अर्थतन्त्रमा थप गतिशील हुन्थ्यो। आर्थिक वृद्धि हुन्थ्यो। 

राष्ट्र बैंकका अनुसार साउनमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरूको कर्जा प्रवाह ०.६ प्रतिशत र वित्त कम्पनीको ३.१ प्रतिशत घटेको छ भने विकास बैंकहरूको कर्जा प्रवाह ०.९ प्रतिशतले बढेको छ। 

पर्यटक आगमनमा कमी 
 

कोरोना संक्रमणका पर्यटक आगमन घटेको छ। अगस्तमा हवाई मार्गबाट २६५ पर्यटक आएका छन्। अघिल्लो वर्षको सोही अवधिमा ६८ हजार ४८२ जना पर्यटक भित्रिएका थिए। 

पर्यटन विभागको तथ्यांकअनुसार गत चैत १५ देखि भदौ १५ सम्म ६०३ जना पर्यटक नेपाल आएका छन्। यो हवाईमार्गबाट आएका पर्यटकको संख्या हो। 

प्रकाशित: Sep 28, 2020| 13:35 सोमबार, असोज १२, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्