बिहीबार, जेठ १६, २०८२

बैंकमा तरलता बढ्यो, संस्थागत निक्षेपकर्ता बेचैन 

बैंक तथा वित्तीय संस्थामा तरलता बढेसँगै संस्थागत निक्षेपकर्ताहरुलाई अहिले आफूसँग भएको रकम व्यवस्थापन गर्न कठिन भएको छ।
 |  आइतबार, असोज ११, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

आइतबार, असोज ११, २०७७

काठमाडौं–  बैंक तथा वित्तीय संस्थामा तरलता बढेसँगै संस्थागत निक्षेपकर्ताहरुलाई अहिले आफूसँग भएको रकम व्यवस्थापन गर्न कठिन भएको छ। 

नेपाल दुरसञ्चार प्राधिकरण, नागरिक लगानी कोष, प्रहरी कल्याणकारी कोष, सैनिक कल्याणकारी कोष, एनसेल, कर्मचारी सञ्चय कोष, बीमा कम्पनीहरु, बीमा संस्थान, लघुवित्त संस्था सहकारी बैंक लगायत संस्थागत निक्षेपकर्ताहरुलाई कसरी आफूसँग भएको रकम व्यवस्थापन गर्ने भन्ने चिन्ताले सताएको हो।

किनभने संस्थागत निक्षेपकर्ताले एकै पटक ठूलो रकम जम्मा गर्ने हुँदा तरलता अभावमा रहेका बैंकहरुले ब्याजदर राम्रै दिन्थे। अहिले भने कर्जाको माग नभएर तरलता बढेपछि ब्यांक तथा वित्तीय संस्थाले निक्षेपको ब्याजदर निकै कम गरेका छन्। 

संस्थागत निक्षेपकर्ताहरुको वित्तीय विवरण हेर्ने हो थाहा हुन्छ, केहीले कुल नाफाको करिव ५० प्रतिशतसम्म ब्यांकमा राखेको निक्षेपकोे व्याज हुने गर्थ्यो। 

तर ब्यांक तथा वित्तीय संस्थाले धेरै ब्याज दिन नसकिरहेको अहिलेको अवस्थामा उनीहरुको  मुनाफामा कमी आउने छ। 
अहिले कोरोनाको संक्रमणका कारण विभिन्न संस्थासँग भएको रकम अन्यत्र लगानी गर्न पनि जोखिम छ। 

यसअघि बजारमा अवस्था सामान्य हँुदा ऋणको माग बैंक तथा वित्तीय संस्थालाई धान्न धौ धौ हुन्थ्यो। तरलता अभाव बढ्दै जाँदा वाणिज्य बैंकहरुले निक्षेपमा दिने ब्याज दोहोरो अंकमा पुग्थ्यो। 

ठूला निक्षेपकर्ताको आम्दानीको ठूलो भाग ब्याजबाट आर्जन हुने अवस्था थियो। बीमा कम्पनीहरुको मुख्य आय स्रोत नै बैंक तथा वित्तीय संस्थामा राखेको निक्षेप रकममा पाइने ब्याज थियो। 

त्यस्तै कतिपय लघुवीत्त संस्थाले पनि विभिन्न बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिने र सोही कर्जालाई धेरै व्याज दिने बैंक तथा वित्तीय संस्थामा निक्षेप राखेर व्याज आम्दानी गर्थे। लघुवित्त संस्थाको हकमा त अहिले राष्ट्र बैंकले तीन महिना भन्दा बढी समय बैंक तथा वित्तिय संस्थामा निक्षेप राख्न नपाइने व्यवस्था समेत गरिदिंदा उनीहरुलाई रकम व्यवस्थापनको झनै समस्या भएको छ। 

बजारमा पर्याप्त तरलता हुँदा बैंक तथा वित्तीय संस्थाले निक्षेपको व्याजदर घटाएर पाँच प्रतिशत भन्दा पनि कम गरेको एक बैंकरले बताए।

उनका अनुसार संस्थागत निक्षेपकर्ताको हकमा ठूला तथा पुराना बैंकहरुले त २ देखि ३ प्रतिशतको हाराहारीमा मात्र व्याज दिने गरेका छन्।  तर साना तथा नयाँ बाणिज्य बैंकहरुले बढीमा ५ प्रतिशतसम्म दिएका छन् ।  

ती बैंकर भन्छन्, ‘कतिपय संस्थाहरुलाई सम्बन्धको आधारमा पनि धेरै व्याज दिनुपर्ने हुन्छ तर, नेपाल राष्ट्र बैंकले कल निक्षेपमा साधारण निक्षेपको भन्दा ५० प्रतिशत कम व्याज दिनुपर्ने व्यवस्था गरेको छ जसका कारण संस्थागत निक्षेपमा हामीले बढीमा ४ प्रतिशतभन्दा बढी व्याज दिन सक्दैनौं।’

दूरसञ्चार प्राधिकरणलाई आफूसँग भएको रकम व्यवस्थापनका लागि समस्या भइरहेको केही दिन अगाडि बसेको संचालक समितिको बैठकको निर्णयबाट पनि प्रष्ट हुन्छ। उक्त निर्णयमा भनिएको छ, ‘हालको विषम परिस्थितिलाई दृष्टिगत गरी प्राधिकरण कोषतर्फको रकम बढीमा तीन महिनासम्मका लागि मात्र वाणिज्य बैंकमा मुद्दती निक्षेपमा सकेसम्म अधिकतम प्रतिफल प्राप्त हुने गरी आगामी तीन महिनासम्मका लागि व्यवस्थापन गर्ने।’ 

राम्रो व्याज पाउँदा दुई वर्षसम्मको निक्षेप दिने प्राधिकरणले बढीमा तीन महिना मात्र निक्षेप दिने निर्णय गर्नुबाटै प्रस्ट हुन्छ उसलाई रकम व्यवस्थापन गर्न कठिन भएको छ। 

‘हाल वाणिज्य बैंकहरूमा अत्यधिक तरलता रहन गई केही बैंकले प्राधिकरणको कल खातामा रहेको निक्षेप कम गरिदिन अनुरोध गरेका छन्,’ प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्याल भन्छन्। 

अर्यालका अनुसार अहिले वाणिज्य बैंकहरुको अनुरोध अनुसार नै काम गर्ने र पछि तरलता अभाव हुनेवित्तिकै व्याज बढी लिने गरी विभिन्न बैंकहरुसँग सम्झौता भइरहेको छ। उनले भने, ‘अहिलेको जस्तै अवस्था धेरै समय रह्यो भने हाम्रो नाफामा नै असर गर्छ।’ 

त्यस्तै पुनर्बिमा कम्पनीका कम्पनी सचिव विष्णुप्रसाद उपाध्याय भने केही समयपछि कर्जाको माग बढ्ने वित्तिकै तरलता अभाव हुने र निक्षेपको व्याज बढ्ने बताउँछन्। 

‘अहिले हाम्रो संस्थाको सञ्चालक समितिको बैठकले लगानी विविधिकरण गर्नेतर्फ ध्यान दिइरहेको छ। अन्यत्र नै लगानी गरेर मुनाफा आर्जन गर्ने सञ्चालक समितिको निर्देशन अनुसार हामीले नागरिक लगानी कोषको स्टक डिलरमा १० प्रतिशत, इन्फ्राइस्ट्रक्चर बैंक र क्रेडिट रेटिङ कम्पनीमा ५०÷५० करोड  रुपैयाँ लगानी गरेका छौं।’ 

उनका अनुसार बीमा समितिले खुला गरेका लगानीका विभिन्न क्षेत्रमा संस्थाले लगानी बढाइरहेको छ भने हाइड्रोपावर जस्ता कम्पनीहरुमा पनि लगानी गर्न सुरु गरेको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार गत सातासम्ममा बैंक तथा वित्तीय संस्थासँग दुई खर्ब भन्दा बढी तरलता छ। 
लकडाउन खुलेको र चाडवाड नजिकै आएकोले कर्जाको मागमा बढोत्तरी हुने सम्भावना भएकोले अहिले आत्तिहाल्ने अवस्था नभएको नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहाल बताउँछन्। 
 

प्रकाशित: Sep 27, 2020| 13:01 आइतबार, असोज ११, २०७७
प्रतिक्रिया दिनुहोस्