शुक्रबार, जेठ २४, २०८२

पोखरा महानगरले खोल्यो आफ्नै प्राविधिक शिक्षालय

पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ।
 |  बुधबार, भदौ ३१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, भदौ ३१, २०७७

पोखरा– पोखरा महानगरपालिकाद्वारा सञ्चालित गण्डकी बहुप्राविधिक शिक्षालयमा डिप्लोमा इन सिभिल इन्जिनियरिङ र डिप्लोमा इन अटोमोबाइल इन्जिनियरिङको पढाइ हुने भएको छ।

३ वर्षे कोर्षको लागि शिक्षालयले भर्नाका लागि आवेदन खुला गरिसकेको पोखरा महानगरपालिका शिक्षा महाशाखाले जानकारी दिएको छ।

एसईई उत्तीर्ण विद्यार्थीले असोज १५ गतेसम्म अध्ययनको लागि आवदेन दिन सक्ने शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्यले जानकारी दिए। २ विषयमा ४८–४८ कोटा निर्धारण गरिएको छ भने विभिन्न छात्रवृत्तिको पनि व्यवस्था गरिएको आचार्यले बताए। १० वटा पूर्ण छात्रवृत्ति र ६ वटा कोटा सहुलियत र ३२ वटा कोटा खुला छन्।

पोखरा महानगरपालिकाले बजारको मागका आधारमा दक्ष प्राविधिक जनशक्ति उत्पादनको लक्ष्यसहित ‘गण्डकी बहुप्राविधिक शिक्षालय’ स्थापना गरेको हो। अटोमोबाइल इन्जिनियरिङ सम्बन्धी आवश्यक सीपको अभावमा यहाँका युवा बेरोजगार बस्नुपर्ने बाध्यता रहेको अवस्थामा पोखरा महानगरपालिकाले यस क्षेत्रमा आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य अनुसार अटोमोवाइल इन्जिनियरिङको अध्यापन सुरु गरेको हो।

महानगरले प्राविधिक शिक्षा तथा तालिम परिषद् (सीटीईभीटी) बाट सम्बन्धन लिएर वडा नं २९ भण्डारढीकमा स्थापना गरेको बहुप्राविधिक शिक्षालयबाट प्राविधिक विषयमा अध्यापन हुनेछ।

पछिल्ला वर्षहरुमा तीव्र विकास भएको क्षेत्रमा अटोमोबाइल पर्छ। स्वदेशभित्रै गाडीका पार्टपुर्जा तथा उपकरणहरुको उत्पादन नभए पनि छिमेकी मुलुकबाट आयात हुन्छ। गाडी तथा यसका पार्टपुर्जाको आयातसँगै यसको मर्मत सम्भारको काम गर्ने अधिकांश जनशक्ति समेत विदेशी नै छन्।

उच्च रोजगारी प्राप्तिको क्षेत्र भए पनि देशभित्र सो कामका दक्ष जनशक्ति नहुँदा ठूलो धनराशी बाहिरिएको छ। सिभिल इन्जिनियरिङ अधिकांश प्राविधिक शिक्षालयहरुमा पढाइ हुने भए पनि अटोमोबाइल पढाइ हुने कलेज तथा क्याम्पसहरु नगन्य छन्।

इन्जिनियरिङ अध्ययन संस्थान अन्तर्गतको पश्चिमाञ्चल क्याम्पसमा केही वर्षअघि अटोमोबाइल विषय अध्यापन गरिए पनि पनि हाल सोको पठनपाठन हुँदैन ।

यस वर्ष पहिलोपटक २ विषयमा प्राविधिक विषय अध्यापन गरिए पनि शिक्षालयको पूर्वाधार निर्माणपछि प्राविधिक धारका कक्षाहरु समेत थप गरिने छ। सिभिल इन्जिनियरिङका लागि ३ वर्षको १ लाख ९५ हजार शुल्क छ भने अटोमोबाइलको एक लाख ७५ हजार तोकिएको छ ।

आफ्नै पूर्वाधार नबन्दासम्म शुरुआतमा महानगरले जनप्रकाश माध्यमिक विद्यालयमा कक्षा सञ्चालन गर्ने योजना बनाएको छ। पोखरा महानगरपालिकाका केही वडा कार्यालयहरुले आफ्नो वडामा बसोबास गर्ने विद्यार्थी मध्येबाट १ जनालाई वडा कार्यालयकै खर्चमा पढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रकाशित: Sep 16, 2020| 17:37 बुधबार, भदौ ३१, २०७७
प्रतिक्रिया दिनुहोस्