बुधबार, वैशाख १७, २०८२

पुजारी हत्याकाण्ड : प्रहरीको अनुसन्धानमै शंका

आर्थिक लेनदेनको विवादका कारण पुजारीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, खेसरहिया र करुनियाका स्थानीय यो कुरा मान्न तयार छैनन्।
 |  आइतबार, भदौ २८, २०७७

जयन्त ठाकुर

जयन्त ठाकुर

आइतबार, भदौ २८, २०७७

रौतहट (खेसरहिया)– प्रदेश २ को रौतहटमा पछिल्लो समय हत्याहिंसाको शृृंखला नै चल्यो। यसै क्रममा माधवनारायण नगरपालिका वडा नम्बर २ खेसरहियामा एक मन्दिरका पुजारीको हत्या भयो। साधुको हत्या किन भयो भन्ने प्रश्न सबैको मनमा उब्जिन थाल्यो।

हत्याको दुई सातापछि प्रहरीले खेसरहिया नजिकैको गाउँ देवाही गोनाही नगरपालिका वडा नं. १ करुनियाका ३६ वर्षीय रामनरेश पटेल र २८ वर्षीय बालकुमार पटेललाई नियन्त्रणमा लिएको छ। दुवैलाई भदौ १७ गते नियन्त्रणमा लिई १० दिनको म्याद लिएर अनुसन्धान चलिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आर्थिक लेनदेनको विवादका कारण पुजारीको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। तर, खेसरहिया र करुनियाका स्थानीय यो कुरा मान्न तयार छैनन्। पुजारीका भाइ तथा आरोपितका परिवारले पनि पुजारी र आफूहरुबीच आर्थिक लेनदेन नै नभएको दावी गरेका छन्।

पक्राउ परेका नरेश पटेलका काकाका छोरा सरोज पटेलले आफ्नो दाइ र पुजारीबीच कुनै किसिमको आर्थिक लेनदेन नै नभएको बताए। नरेश भैँसीको किनबेच तथा कृषिको काम गर्थे। करुनियाका स्थानीयको भनाइ मान्ने हो भने नरेश सरल स्वभावका छन्। उनलाई फसाउन खोजिएको हो।

गोली चलेको समय दाइ घरमै रहेको भाइ सरोजले दावी गरे। उनले भने, ‘पुजारीको हत्यापछि प्रहरी एक–दुई दिन हाम्रो गाउँमा पनि आयो। पछि नामै किटान गरेर दाइलाई खोज्न थाल्यो।’ नरेशका दुश्मनले पुजारी हत्याकाण्डमा फसाउन खोजेको सरोजले दावी गरे। प्रहरीले यातना दिएर दुवैलाई पुजारीको हत्या गरेको स्वीकार गर्न लगाएको आशंका स्थानीयको छ।

Metro Mart
worldlink

पक्राउ परेका अर्का आरोपी बालकुमार पटेल ट्याक्टर चलाउँथे। पटेलका हजुरबुवा दुखा भगत आफ्नो नातिलाई फसाउन खोजिएको दुखेसो गर्छन्। बालकुमारका बुवा जवाहिर पटेल नेपाल प्रहरीका पूर्व हवल्दार समेत हुन्। उनले पनि प्रहरीले दोषीलाई उन्मुक्ति दिएर निर्दोषलाई पक्राउ गरेको दावी गरे। ‘अनुसन्धानका लागि आएका प्रहरीको कुकुर जसको घरको अगाडि बस्यो, ऊसँग कुनै सोधपुछ भएन, तर मेरो छोरालाई प्रहरीले नियन्त्रण लियो,’ उनले भने।

केही स्थानीयले भने दुवै आरोपीले गाउँमा गुण्डागर्दी आएको स्वीकार गरे। सोही डरले कोही खुलेर बोल्न नचाहेको उनीहरुको भनाइ छ।

खेसरहियाका एक वृद्धले भने, ‘पुजारी आफैँ मागेर खाने गरेकोले पैसा दिने कुरै भएन, तर पक्राउ परेका दुवैजनासँग गाउँलेहरु डराउँथे।’ गाउँमा को शान्त स्वभावको र को बदमास छ सबैलाई थाहा रहेको उनले बताए।

अर्की एक स्थाीयले भनिन्, ‘हेर्नुहोला, तिनीहरु छुटेर आए भने गाउँमा कसैलाई छोडदैनन्। यहाँको ठूलै गुण्डा हो तिनीहरु।’

कवाडीको काम गर्ने श्रीराम कसरी बने पुजारी ?

श्रीराम साह आफ्नो घरका जेठो सन्तान थिए। उनका ४ भाइ र २ बहिनी छन्। भाइबहिनी सानै छँदा आमाबुवाको निधन भइसकेको थियो। उनले आफ्ना भाइबहिनीको बुवासरह पालनपोषण गरेका थिए।

विवाहपछि उनको एक छोरी भइन्, तर केही वर्षमै मृत्यु भयो। त्यसलगत्तै श्रीराम श्रीमती गाउँमै छोडेर पैसा कमाउने उद्देश्यले काठमाडौँ पसेका थिए। श्रीरामको दाम्पत्य जीवन पनि सुमधुर रहन सकेन। १० वर्ष अगाडि श्रीमतीको पनि मृत्यु भयो। त्यसपछि श्रीराम फेरि खेसरहिया फर्के।

खेसरहियामा रहेको आफ्नो जग्गा बेचेर हनुमान मन्दिर निर्माण गरे र सोही मन्दिरमा बस्न थाले।

पुजारीका कान्छा भाइ उपेन्द्र साहले दाइ एकदमै शान्त स्वभावको भएको सुनाए। ‘कसैसँग विवाद नै गर्न सक्नु हुन्नथ्यो। मन्दिर निर्माण भएपछि दाइ घर आउनु हँुदैनथ्यो। गाउँमा मागेर पुनः मन्दिरमै गएर पूजापाठ तथा खाना खाने गर्नुहुन्थ्यो। पुजारीको हत्या भयो भनेर गाउँका मान्छेहरु दौडँदै गए। हामी पनि गयौं। त्यहाँ पुग्दा गाउँका स्थानीय र प्रहरीसमेत पुगिसकेका थिए,’ भाइले भने।

परिवारलाई समेत शव नजिक जान नदिएको उपेन्द्रले बताए। प्रहरीले पुजारीको हत्याको कारण सार्वजनिक गरेको कुरा गलत रहेको उनको दावी छ। ‘जुन व्यक्ति आफैँ मागेर खान्छ, त्यो व्यक्तिसँग पैसा कहाँबाट आयो ? प्रहरीले भनेको कुरा एकदम गलत हो। प्रहरी झुटो बोलिरहेको छ,’ उनले भने।

पुजारी साह निःसन्तान रहेकाले उनको भाइका छोरा अजित साहले मुखाग्नि दिएका थिए। उनको हत्यापछि गाउँकै कैलाश साह र गोबर्धन दासले मन्दिरमा पुजा गर्दै आइरहेका छन्। पुजारीको हत्यापछि ५ दिनसम्म मन्दिरको पूजा नै बन्द भएको थियो।

मन्त्री भन्छन्– प्रहरीको अनुसन्धानमा शंका गर्ने ठाउँ छैन

प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले एक साधुको हत्या हुनु दुर्भाग्यपूर्ण रहेको बताउँदै यस विषयमा गम्भिरतापूर्वक अनुसन्धान भइरहेको बताए।

प्रहरीको अनुसन्धानमा शंका उब्जिरहेको छ नि भन्ने प्र्रश्नमा मन्त्री यादवले भने, ‘प्रहरीले तीन कोणबाट अनुसन्धान गरिरहेकोले अनुसन्धानमा शंका नगर्नुस्।’ कुन–कुन कोणबाट अनुसन्धान भइरहेको छ भन्ने विषयमा भने उनले केही खुलाउन सकेनन्। ‘अनुसन्धान हुँदैछ, चाँडै वास्तविकता सार्वजनिक हुनेछ,’ मन्त्री यादवले भने, ‘प्रदेशमा शान्ति सुरक्षा कायम राख्न कुनै कसर बाँकी राख्ने छैन।’

प्रदेश २ का प्रहरी प्रमुख धीरजप्रताप सिंहले पुजारी साहका भाइले दिएको उजुरीकै आधारमा अनुसन्धान भइरहेको जानकारी दिए।

भदौ ४ गते राति रौतहटको माधवनारायण नगरपालिका वडा नं. २ खेसरहियामा खाना खानका लागि बसेका ६५ वर्षीय पुजारी श्रीराम साहको अज्ञात समूहले गाली हानी हत्या गरेको थियो।

प्रकाशित: Sep 13, 2020| 07:03 आइतबार, भदौ २८, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।