काठमाडौं– नेपालमा विदेशी मुद्रा सञ्चिति हालसम्मकै उच्च भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा विदेशी विनिमय सञ्चिति १४ खर्ब एक अर्ब ८४ करोड पुगेको छ।
गत आर्थिक वर्षको आयातलाई आधार मान्ने हो भने यसले १४.४ महिनाको वस्तुको आयात धान्न पुग्ने राष्ट्र बैंकले जनाएको छ। गत आर्थिक वर्षमा ११ खर्ब ९६ अर्ब रुपैयाँ बराबरको आयात भएको थियो।
राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा विदेशी मुद्रा बढ्ने सबै सूचांकहरू राम्रा रहे।
नेपालमा विशेषतः दुई प्रकारले विदेशी मुद्रा आय हुने गरेको छ– पहिलो रेमिट्यान्स र दोस्रो पर्यटन। त्यस्तै, निर्यात र विदेशमा भएको लगानीबाट आउने फिर्ता पनि विदेशी मुद्रा सञ्चितिका आधार हुन्।
गत आर्थिक वर्षमा रेमिट्यान्समार्फत ८ खर्ब ७५ अर्ब तीन करोड, पर्यटनबाट ६० अर्ब ८९ करोड र निर्यातबाट ९ अर्ब ७७ करोड रुपैयाँ भित्रिएको थियो।
त्यस्तै विभिन्न मुलुकका बण्डहरूमा गरिएको लगानीबाट आएको लाभांश र अघिल्ला वर्षहरूमा भएको कमाइ गरी नेपाल सरकारसँग उच्च विदेशी मुद्रा सञ्चित भएको राष्ट्र बैंकका प्रवक्ता डा.गुणाकर भट्टले जानकारी दिए।
विदेशी मुद्रा सञ्चिति घट्नुमा आयात मुख्य कारण हो। गत आर्थिक वर्षमा आयात १५.६३ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब रुपैयाँमा सीमित भएको छ। ‘आयात गर्दा विदेशी मुद्रा दिनुपर्ने हुन्थ्यो, जसले विदेशी मुद्राको सञ्चितिमा कमी ल्याउन सक्थ्यो तर आयात नै कम भएपछि विदेशी मुद्राको सञ्चिति बढेको हो,’ भट्टले भने।
अघिल्लो आर्थिक वर्षमा आयात १४ खर्ब १८ अर्ब रुपैयाँको भएको थियो। उक्त अवधिमा विदेशी मुद्राको सञ्चिति जम्मा १० खर्ब १२ अर्ब रुपैयाँको मात्र थियो।
आर्थिक वर्ष २०७५–०७६ मा भन्दा गत आर्थिक वर्षमा विदेशी विनिमय सञ्चिति ३ खर्ब ८९ अर्ब अर्थात् ३८.४३ प्रतिशतले बढेको छ।
त्यस्तै विदेशी मुद्राको सञ्चिति घट्नुमा अर्को मुख्य कारण नेपालीको विदेश भ्रमण पनि हो। आव २०७५–०७६ को तुलनामा गत आर्थिक वर्षमा भ्रमण खर्च ४०.९ प्रतिशतले घटेको छ।
कोरोना महामारीका कारण आवतजावतमा कडाइ भएपछि भ्रमणका लागि हुने खर्च पनि घटेको हो। नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्षमा भ्रमण व्यय ५३ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ। जबकि आव २०७५–०७६ मा ८९ अर्ब ९१ करोड रुपैयाँ खर्च भएको थियो।
‘अर्थतन्त्र कति मजबुत छ भनेर हेर्ने एउटा सूचक वैदेशिक मुद्राको सञ्चिति पनि हो,’ अर्थशास्त्री डा. चन्द्रमणि अधिकारी भन्छन्, ‘कुनै देशसँग विदेशी मुद्रा सञ्चिति पर्याप्त छ भने उक्त देशको आर्थिक अवस्था मजबुत रहेको बुझिन्छ। किनकी आयातको स्रोत नै विदेशी मुद्रा हो।’
भारतमा मनमोहन सिंह अर्थमन्त्री हुँदा सन् १९९२ मा जम्मा १६ दिनको आयात धान्ने मात्र विदेशी मुद्रा सञ्चिति थियो। अधिकारी भन्छन्, ‘जसका कारण भारतले आर्थिक समस्या भएको घोषणा गरी आर्थिक उत्थानका प्याकेज सार्वजनिक गरेको थियो।’