बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मन्त्री खतिवडाको कार्यकाल २० गतेसम्म, कसले सम्हाल्ला अर्थ मन्त्रालय ?

मन्त्री खतिवडाको कार्यकाल २० गतेसम्म, कसले सम्हाल्ला अर्थ मन्त्रालय ?

अर्थ मन्त्रालयबाट मन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको चर्चा फेरि सुरु भएको छ।
 |  शुक्रबार, भदौ १२, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, भदौ १२, २०७७

काठमाडौं– अर्थ मन्त्रालयबाट मन्त्री डा. युवराज खतिवडाको बहिर्गमनको चर्चा फेरि सुरु भएको छ।

अढाई वर्षअघि राष्ट्रियसभा सदस्यमा मनोनीत खतिवडालाई प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थमन्त्रीमा नियुक्त गरेका थिए।

राष्ट्रियसभाको दुईवर्षे कार्यकाल गत फागुन १९ मा सकिएपछि मन्त्री पदबाट राजीनामा गरेका खतिवडा २४ घण्टा नबित्दै पुनर्नियुक्त भए।

संविधानको धारा ७८ मा राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा संघीय संसद्को सदस्य नभएको कुनै व्यक्तिलाई मन्त्री पदमा नियुक्त गर्न सक्ने र मन्त्रीले शपथग्रहण गरेको मितिले ६ महिनाभित्र संघीय संसद्को सदस्य हुनुपर्ने प्रावधान छ।

पुनर्नियुक्त भएपछि प्रधानमन्त्री ओलीका विश्वासपात्र खतिवडाले अर्थ मन्त्रालयसँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको जिम्मेवारी समेत पाए। तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटा भ्रष्टाचार काण्डमा मुछिएपछि उक्त पद खाली थियो।

Metro Mart
worldlink

खतिवडा दोस्रो पटक मन्त्री भएको यही भदौ २० गते ६ महिना पुग्दैछ। उनी सांंसद नरहेकाले फेरि दोहोरिने सम्भावना कम छ।

उसो त पार्टीका नेता–कार्यकर्ताको कुरा नसुनेको भन्दै उनीप्रति नेकपाभित्र ठूलो असन्तुष्टि छ।

विवादमा परे

पहिलो वर्षको बजेटका कारण प्रशंसा पाएका खतिवडाको दोस्रो इनिङ भने विवादरहित भएन।

चालू आर्थिक वर्षको बजेट बनाउँदा व्यवसायीको स्वार्थअनुसार चकलेटमा कर कम गरेको, विद्युतीय सवारीसाधनमा कर बढाएको आरोप उनीमाथि लागेको छ।

सेयर बजारले उनलाई कहिल्यै सकारात्मक रुपमा हेरेन। सेयर बजारप्रति उनले सार्वजनिक रुपमा व्यक्त गरेका धारणा नकारात्मक रहे। त्यसैले जब जब उनको बहिर्गमनको चर्चा सुरु हुन्छ, तब सेयर बजार उकालो लाग्न थाल्छ। अहिले पनि मन्त्री खतिवडाको बहिर्गमनको चर्चासँगै सेयर बजार उकालो लागिरहेको छ।

ढुवानीमा भ्याट लगाउने, पुस्तक आयातमा कर लगाउने जस्ता कामबाट पनि उनी आलोचित भए।

पार्टीभित्रको असन्तुष्टि साम्य पार्न बहिर्गमन !

नेकपाभित्रको असन्तुष्टि साम्य पार्न पनि अर्थमन्त्री खतिवडाको बहिर्गमन आवश्यक रहेको नेकपाकै नेताहरु बताउँछन्।

पार्टीभित्र माधवकुमार नेपाल प्यानलले खुलेरै खतिवडाको विरोध गरिरहेको छ।

नेकपाका एक नेताका अनुसार ओलीले खतिवडालाई फेरि राष्ट्रियसभा सदस्य बनाएर पार्टीभित्र थप असन्तुष्टि पैदा गर्ने काम गर्ने छैनन्। ती नेता भन्छन्, ‘जारी विवाद मिलाउन गाह्रो भइरहेका बेला ओलीले नयाँ विवाद सिर्जना गर्ने छैनन्।’

ओली निकट एक नेताका अनुसार आफू विवादमा तानिएपछि खतिवडाले प्रधानमन्त्रीसमक्ष राजीनामा गर्ने आशय पनि प्रकट गरेका थिए। तर, प्रधानमन्त्री उनलाई अरुका कुरा नसुनी आफ्नो जिम्मेवारी निर्वाह गर्न भनेका थिए।

‘भदौ २० पछि कस्तो अवस्था आउँछ भन्न सकिँंदैन तर, अहिलेसम्मको सिनारियो हेर्ने हो भने अर्थमन्त्रीमा खतिवडाको कार्यकाल थप होला जस्तो लाग्दैन,’ नेपाल निकट एक नेता भन्छन्।

राजदूत कि सल्लाहकार ?

अर्थमन्त्रीबाट डा. खतिवडाको बहिर्गमन भए पनि उनलाई ओलीको साथ रहिरहने ओली निकट नेता बताउँछन्।

अंकमा खेल्न सक्ने डा.खतिवडाले देशको अर्थतन्त्र कोभिड– १९ को महामारीका बेलामा पनि राम्रो रहेको विश्वास दिलाउन सफल भएका छन्।

राष्ट्र बैंकको तथ्यांकले पनि अर्थतन्त्रका सबै सूचक सन्तोषजक देखाएको छ। त्यसैले विश्वासपात्र खतिवडालाई ओलीले अमेरिकाका लागि राजदूत बनाउने सम्भावना छ। यो किन पनि सम्भव छ भने अमेरिकाका लागि राजदूत पद रिक्त छ। भदौ १ गते सरकारले पाकिस्तान, जर्मनी, बेल्जियम र युरोपियन युनियनका लागि राजदूत नियुक्त गरेको थियो।

कारणवस खतिवडालाई राजदूत नियुक्त गर्न नसकेमा उनी प्रधानमन्त्री ओलीका आर्थिक सल्लाहकारका रुपमा रहने नेताहरुको बुझाइ छ।

भाग्यमानी खतिवडा

खतिवडा माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा राष्ट्र बैंकको गभर्नर नियुक्त भएका थिए। डा. प्रकाशचन्द्र लोहनी अर्थमन्त्री हँुदा उनी राष्ट्रिय योजना आयोगका सदस्य थिए भने सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा २०५९ मा उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष नियुक्त भएका थिए।

जसको सरकार भए पनि अवसर पाइराख्ने खतिवडालाई कसैले भाग्यमानी भन्छन् त कतिले अवसरवादीको आरोप लगाउँछन्।

अर्थमन्त्रीका आकांक्षी धेरै

नेकपाभित्र अर्थमन्त्रीका आकांक्षी धेरै छन्। रक्षा मन्त्रालय सम्हाल्दै आएका उपप्रधानमन्त्री ईश्वर पोखरेलले यसअघि नै अर्थ मन्त्रालय ताकेका थिए।

पूर्वअर्थमन्त्री रहिसकेका सुरेन्द्र पाण्डे पनि अर्थमन्त्रीका बलिया दाबेदार हुन्। पार्टीभित्र समीकरण मिलाउन पनि उनको सम्भावना बलियो देखिन्छ।

पूर्वगृहमन्त्री जनार्दन शर्मा र ऊर्जामन्त्री वर्षमान पुनको पनि अर्थ मन्त्रालयमा दाबेदारी छ।

प्रधानमन्त्री हुन पाउने भएमात्रै राष्ट्रिय सभामा जाने अडान राखेका नेकपा उपाध्यक्ष वामदेव गौतमसमेत अर्थमन्त्री पाए राष्ट्रियसभा सदस्य बन्न तयार भएको नेकपाका एक नेता बताउँछन्।

नारायणकाजी श्रेष्ठ, विष्णु पौडेल पनि अर्थमन्त्रीको दौडमा छन्।

प्रकाशित: Aug 28, 2020| 07:36 शुक्रबार, भदौ १२, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्