स्वास्थ्यका लागि उपयोगी र वातावरणका लागि सुरक्षित साइकलमा विस्तारै आकर्षण बढ्दै गए पनि काठमाडौं उपत्यका अझै साइकल अनुकुल भइसकेको छैन।
सहरका सडकमा साइकल लेन छैनन्। तिब्र गतिमा जथाभावी हुइँकने अन्य सवारी साधन र जीर्ण सडकका कारण साइकल यात्रा सुरक्षित पनि हुन सकेको छैन। तै पनि साइकलतर्फको आकर्षण भने विस्तारै बढ्न थालेको छ।
काठमाडौंंमा पहिलो चरणको लकडाउन खुकुलो बनेपछि साइकलमा यात्रा गर्नेको संख्या बढ्यो। सवारीसाधनमा जोरबिजोर प्रणाली लागू, सार्वजनिक सवारी प्रयोगमा जोखिम तथा सामाजिक दुरी कायम राख्नुपर्ने जस्ता कारणले कतिपयले साइकल यात्रालाई उपयुक्त विकल्पका रूपमा रोजे।
बढ्यो व्यापार तर, अपेक्षभन्दा कम
साइकल व्यवसायीहरु कोरोना महामारीका बेला व्यापार केही बढेको बताउँछन्। लगनखेलस्थित पलाञ्चोकीमाई साइकल स्टोरका सञ्चालक रामहरि कार्की लकडाउन खुकुलो भएपछि साइकलको बिक्री बढेको बताउँछन्। उनी भन्छन्, ‘बिक्री पहिलेभन्दा ५० प्रतिशत बढेको छ, तर यो अपेक्षाभन्दा कम नै हो।’
असन कमलाक्षीस्थित अन्नपूर्ण साइकल पसलका सञ्चालक आकाश श्रेष्ठ पनि साइकल व्यापार सामान्य बढेको बताउँछन्। पहिलो चरणको लकडाउन खुकुलो भएपछि साइकल किन्नेहरु बढ्न थालेको उनको अनुभव छ। तर, कुपण्डोलका प्रकाश साइकल स्टोर र न्यु चौधरी साइकल स्टोरका अनुसार भने व्यापार सामान्य अवस्था जस्तै चलिरहेको छ।
२०७२ सालमा भारतले नाकाबन्दी लगाउँदा साइकल व्यापार निकै बढ्यो। तेल आयात नहुँदा धेरैले साइकललाई सवारीसाधनका रूपमा छनोट गरे। कार्कीले भने, ‘उतिबेला साइकल धेरै बेचेका थियौं।’
कतिपयले त्यतिबेला थन्क्याएका साइकल अहिले प्रयोग गर्न थालेका छन्। त्यसैले सडकमा देखिएका साइकल नयाँ नभएको प्रकाश साइकलका सत्यनारायण गुप्ता बताउँछन्। उनी भन्छन्, ‘व्यापार उस्तै छ, प्रयोगचाहिँ बढेको हो।’
फिटनेस, सामजिक दुरी र जोरबिजोर
कोरोना संकटका कारण जिम, खेलकुद र खेल अभ्यास बन्द छन्। नियमित जिम गर्नेहरु र खेलाडीहरु शारीरिक फिटनेसका लागि साइकल चढ्न थालेका छन्।
साइकललाई व्यायामको सामग्रीका रूपमा लिनेको संख्या बढेको छ। उसो त बिहान–बिहान साइकल चलाउनु स्वास्थ्यका लागि लाभदायक हुने चिकित्सकहरु नै बताउँछन्।
काठमाडौंको बजारमा ८ हजारदेखि दुई लाख रुपैयाँसम्मका साइकल पाइन्छन्। साइकल चढ्दै आएका राजेश लोहार साइकल मर्मत खर्च पनि महँगो नपर्ने बताउँछन्। उनी भन्छन्, ‘साइकल मर्मतमा धेरै खर्च हुँदैन। सार्वजनिक सवारीमा हिँड्नुभन्दा साइकलमा यात्रा गर्दा सुविधा हुन्छ।’
ठूला सवारीसाधनबाट जोखिम
तीव्र गतिमा कुद्ने ठूला सार्वजनिक र निजी सवारी साधनका चालकले सडक साइकल चलाउनेका लागि होइन जसरी हाँक्छन्।
छेउका लेनबाट विस्तारै चलाइरहँदा र मोड तथा चोकहरुमा ठूला सवारीसाधनले पेलेरै ल्याउने गर्दा दुर्घटनाको त्रास रहने भुक्तभोगीहरु बताउँछन्।
ट्राफिक प्रहरीले पनि साइकललाई प्राथमिकता दिँदैन। सरकारले साइकल चालकलाई महत्त्व नदिएको त हाम्रा सडकको संंरचनाबाटै थाहा हुन्छ।
ललितपुर महानगरले पुलचोकदेखि कुपण्डोलसम्म साइकल लेन त बनाइदिएको छ। तर, साइकल लेनमा कुदाउनु र अन्य लेनमा कुदाउनुमा केही फरक छैन।
साइकलको वातावरणीय, शारीरिक, मानसिक र आर्थिक पक्षमा हुने फाइदाका सम्बन्धमा चेतना बढाउनुपर्ने सुझाव व्यापारी श्रेष्ठको छ।
विदेशी अनुभव– धेरै साइकल हराउँछन्
युक्रेनी नागरिक कुमारले पुरानो साइकल चोरी भएपछि लकडाउनअघि नयाँ साइकल किने। ‘साइकल धेरै चोरी हुने सवारी साधन हो। नेपालमा पनि दुई वटा हराइसक्यो,’ आठ वर्षदेखि नेपालमा बसिरहेका उनले भने, ‘युक्रेनमै मेरा पाँचवटा साइकल हराएका थिए।’
आफू साइकलमै चढिरहे पनि अन्य देशमा भन्दा काठमाडौंमा साइकल चलाउनु अप्ठ्यारो भएको उनको अनुभव छ। ‘हुन त मैले काठमाडौंंमा साइकल चलाउन थालेको सात वर्ष भयो तर, यो धेरै असुरक्षित छ’, कुमारले भने, ‘म दुई पटक दुर्घटनामा परिसकेंं। एकपटक धोबीघाटमा र अर्को पटक जाउलाखेलमा।’
रोजाइमा कस्ता साइकल?
सोखले साइकल चढ्ने अधिकांशले काठमाडौंमा ३० हजारदेखि ५० हजार रुपैयाँ सम्म पर्ने माउन्टेन बाइक चढ्छन्। तर, आवश्यकताले र छोटो दुरीमा चलाउनेले १०–१५ हजार रुपैयाँका साइकल किन्ने गरेको र सामान बोक्नेले आठदेखि १२ हजार रुपैयाँका साइकल किन्ने ग रेको विक्रेता श्रेष्ठ बताउँछन्। उनका अनुसार समग्रमा १० देखि ५० हजारसम्मका साइकल धेरै बिक्री हुन्छन्।
‘महँगा साइकल भने खासै बिक्री भएका छैनन्,’ उनले भने। विक्रेता कार्की काठमाडौंको भूबनोट पनि माउन्टेन बाइक सुहाउँदो रहेको बताउँछन्। ‘काठमाडौंमा लाइट साइकल फिट हुन्छ। तराईमा भए हेभी साइकल पनि गाह्रो हुन्न,’ उनले भने।
गत वर्ष तीन लाख साइकल आयात
भारत चीन लगायतका पाँच देशबाट गत वर्ष चार लाख ८४ हजार न्युमाटिक टायर आयात भएको थियो। विदेशबाट साइकल दुई तरिकाले आउँछ – सिकेडी (स्पेयर पार्ट मात्र अर्को एसकेडी ९६५ प्रतिशत तयार भएको)।
एसकेडीको बाँकी ३५ प्रतिशत यहीँ एसेम्बल गरिन्छ। त्यसमा ह्यान्डल, प्याडल, स्ट्यान्ड, ब्रेक र आवश्यकताअनुसार गियर, लाइट, घण्टीलगायत राखेर पूर्ण बनाइन्छ।
साइकलको पार्ट धेरै आउँछ। त्यसैले नयाँ साइकल कति भित्रिन्छ त्यसको रेकर्ड छैन। विगत एक वर्षमा दुई लाख ९२ थान बाइसाइकल र ट्राइसाइकल भित्रिएको भन्सार विभागको तथ्यांक छ। यसको ठूलो हिस्सा भने तराईमा प्रयोग हुन्छ। साइकलका स्पेयर्स पार्ट १३ देशबाट आयात हुन्छ।
पढ्नुस् :
साइक्लिङमा रमाउँदै, तन्दुरुस्ती बढाउँदै