बुधबार, वैशाख १७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • राजस्व चुहावट र हुन्डीबाट २ वर्षमा ३२ अर्ब ठगी, ११ सय जनाविरुद्ध मुद्दा

राजस्व चुहावट र हुन्डीबाट २ वर्षमा ३२ अर्ब ठगी, ११ सय जनाविरुद्ध मुद्दा

 |  बिहीबार, साउन २२, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

बिहीबार, साउन २२, २०७७

काठमाडौं- राजस्व अनुसन्धान विभागले ३२ अर्ब ३१ करोड ६९ लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै विभिन्न जिल्ला तथा उच्च अदालतमा राजस्व चुहावट र हुन्डीको प्रयोग गरी सरकारलाई ठगेको आरोपमा मुद्दा दायर गरेको छ।

यो रकम राजस्व विभाग प्रधानमन्त्री कार्यालय अन्तर्गत आएपछिको हो। राजस्व अनुसन्धान विभाग २०७४ फागुन १८ गतेदेखि प्रधानमन्त्री कार्यालय मातहतमा छ। त्यसअघि सो विभाग अर्थ मन्त्रालय अन्तर्गत थियो।

प्रधानमन्त्री कार्यालय मातहत आएपछि प्रधानमन्त्रीको ठाडो आदेशमा विभागमा दीर्घराज मैनाली हाकिम भएर गएका थिए। मैनाली प्रमुख भएर गएको पनि दुई वर्ष पूरा भएको छ।

विभागलाई प्रधानमन्त्रीको मातहतमा ल्याउँदा केही समय लागेको र काम सुरु गर्दा अर्को आर्थिक वर्ष सुरु भइसकेकोले यो तथ्यांक दुई वर्षको भएको विभागले जनाएको छ।

विभागका अनुसार सो रकम बिगो दाबी तथा कैद जरिवाना माग गर्दै विभागले दुई वर्षको अवधिमा ११ जना सरकारी कर्मचारी सहित १ हजार ११० जनाविरुद्ध मुद्दा दायर गरेको छ।

Metro Mart
worldlink

विभागले उपलव्ध गराएको विवरण अनुसार हालसम्म राजस्व चुहावटको कसुरमा १९४ वटा मुद्दा विभिन्न अदालत तथा उच्च अदालतमा दायर भएका छन्। ती मुद्दामा ११ जना सरकारी कर्मचारीसहित ६९४ जनालाई प्रतिवादी बनाइएको र उनीहरुबाट २६ अर्ब ४० करोड करोड ४० लाख रुपैयाँ बिगो असुलउपर गरी जरीवाना र कैदसमेत माग दाबी गरिएको छ।

झुठा तथा नक्कली विजक जारी गर्ने, गरी राजस्व छली गरेको आरोपमा ५२ वटा फर्ममा ५५ जना विरुद्ध ६ अर्ब रुपैयाँ बिगो दाबीसहित उच्च अदालतमा मुद्दा दायर गरेको छ।

सो अवधिमा झुठा तथा नक्कली भ्याट विल जारी गरेको आशंकामा १ हजार १३० वटा कम्पनीमा अनुसन्धान गरेको थियो। त्यस्तै नक्कली विजक खरिद गर्ने २२ वटा फर्मलाई एक अर्ब १० करोड रुपैयाँ विगो कायम गरी मुद्दा दायर गरिएको थियो।

त्यस्तै हालसम्म झुठा नक्कली बिजक खरिद गर्ने १८० वटा फर्मविरुद्ध १२ अर्बभन्दा बढीको झुठा नक्कली बिजक खरिद गरेको देखिएको विभागले जनाएको छ। यो विवरण अघिल्लो आर्थिक वर्षको हो।

विभागका अनुसार गत आर्थिक वर्षमा मात्रै झुट्टा नक्कली विजक सम्बन्धी ३३ वटा फर्मलाई ७ अर्ब ३० करोड रुपैयाँ बिगो कायम गरी विभिन्न जिल्ला तथा उच्च अदालतमा मुद्दा दायर गरेको छ।

त्यस्तै हालसम्म विदेशी विनिमय अपचलन तथा अवैध हुन्डी कारोबारको कसुरमा ४१६ जनाविरुद्ध ५ अर्ब ९१ करोड ६९ लाख रुपैयाँ बिगो कायम गरी बिगो तेव्वरसम्म जरिवाना एवम् तीन वर्षसम्म कैद माग दाबी गरी विभिन्न जिल्ला अदालतमा मुद्दा दायर गरिएको विभागले जनाएको छ।
विभागका प्रमुख दीर्घराज मैनालीले सरकारले गत आर्थिक बर्षदेखि मालवस्तु तथा ढुवानीका साधनको अनुगमन प्रणाली (भिटिएस) लागू

गरेको, तथा राजस्व चुहावट –अनुसन्धान तथा नियन्त्रण) ऐन संशोधन गरेपछि राजस्व छलीमा अनुसन्धान तथा नियन्त्रणमा तिव्रता आएको दाबी गरे।

उनले भने, ‘पछिल्लो समयमा विभाग जुन कामको लागि स्थापना भएको हो सोही काम गरिएकोले पनि ठगीका मुद्दा बढिरहेका छन्। ’
मैनालीका अनुसार पहिले अनुसन्धान गर्ने र कारबाही गर्ने अधिकारसमेत अनुसन्धान विभागको नै थियो जसका कारण धेरै ठगीमा मुद्दाहरु बाहिर आउदैनथे। तर विभाग प्रधानमन्त्री कार्यालय मातहतमा पुगेपछि विभाग अनुसन्धानमा मात्र केन्द्रित हुँदा धेरै ठगीका मुद्दाहरु फेला परेको हो।

उनले हाल नक्कली भ्याट बिलदेखि हुन्डीका जति पनि ठगीका मुद्दाहरु छन् ती सबै गत २०७० देखिका केशहरु रहेको दाबी गरे।
उनले भने, आजसम्म हामीले दायर गरेका मुद्दाहरु हामीले नै जितेका छौँ, हालसम्म केही मुद्दामा फैसला भएका छन् बाँकी मुद्दा फैसला हुन समय लाग्छ। मलाई विश्वास छ, विभागले दायरा गरेको शत प्रतिशत मुद्दाहरु विभागकै पक्षमा आउछन्। ’

पछिल्लो चरणमा विभागले कानुनी सुधार, संगठन सुधार, डिजिटललाइजेसन गरेको तथा निष्पक्ष छानविन हुने गरेका कारण जनताले पनि सुचनाहरु दिन थालेकोले धेरै ठगीहरु समात्न र मुद्दा दायर गर्न सफल भएको मैनालीको दावी रहेको छ।

प्रकाशित: Aug 06, 2020| 15:50 बिहीबार, साउन २२, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्