काठमाडौं- गत साउन १४ गते श्री लालीगुराँस बहुदेश्यीय सहकारी संस्था लिमिटेडले ब्याजदर घटाएको सूचना जारी गर्याे।
निक्षेपको ब्याज बढीमा ११.५ र घटीमा ५ प्रतिशत दिने तथा कर्जामा घटीमा १३ र बढीमा १५ प्रतिशत ब्याज लिने गरी सहकारीले सामाजिक सञ्जाल मार्फत सदस्यहरुमा सूचना जारी गर्याे।
सो संस्थाले गत वर्षको असार मसान्तको तुलनामा एकदेखि ३ प्रतिशतसम्म ब्याजदर घटाएर प्रकाशित गरेको थियो। सो संस्थाले साउन १४ गतेदेखि नै नयाँ ब्याजदर लागू गरिएको र कर्जा लिन आउनका लागि सदस्यहरुलाई म्यासेजसमेत पठाएको थियो।
पछिल्लो समय बैंकको साथै सहकारीहरुमा पनि पर्याप्त तरलता बढेको छ। तरलता बढ्न थालेपछि सहकारीहरुले पनि ब्याजदर घटाएका छन्।
सहकारी बैंकले निक्षेप बचतमा तीन प्रतिशत र एक वर्षभन्दा माथिको मुद्धति निक्षेपमा ७.५ प्रतिशतसम्म दिएको छ। त्यस्तै कर्जामा सबैभन्दा कम कृषि कर्जामा ६.५ र सबैभन्दा बढी चालु पूँजी कर्जामा ११.५ प्रतिशत रहेको छ। यसअघि कर्जामा राष्ट्रिय सहकारी बैंकको सबैभन्दा बढी १३.५ प्रतिशतसम्म ब्याज थियो। बैंकले यो ब्याजदर गत साउन १२ गतेदेखि लागू गरेको छ।
बैंकका सिइओ बद्री कुमार गुरागाईले तरलता बढेसँगै ब्याजदर पनि घटाइएको बताए। उनले भने, ‘चालु आर्थिक वर्ष सुरु भएको १६ दिनमै बैंकसँग ५ अर्ब रुपैयाँ निक्षेप बढेको छ, तर कर्जामा भने विस्तार भएको छैन, केही फाइलहरु कर्जाको माग गर्दै आएका छन् तर कर्जा नगन्य मात्रामा भएको छ।’
राष्ट्रिय सहकारी बैंकको नेपालभर १२ हजारभन्दा बढी सहकारी संस्थाहरु सदस्य छन्। ती सहकारी संस्थाहरुले सहकारी बैंकसँग कारोबार गर्ने गरेका छन्।
त्यस्तै नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले पनि तरलतामा वृद्धि भएको भन्दै साउनदेखि ब्याजदर घटाएको नेफ्स्कुनका कायममुकायम प्रमुख कार्यकारी अधिकृत प्रकाशप्रसाद पोखरेलले जानकारी दिए।
उनका अनुसार निक्षेपमा ६.५ र कर्जामा १० प्रतिशत रहेको छ। उनले भने, ‘तरलतामा वृद्धि भएसँगै नेफ्स्कुनले ब्याज प्रकृति हेरेर १ देखि ३ प्रतिशतसम्म घटाइएको छ।’
उनले नेफ्स्कुनमा १६ दिनको अवधिमा एक अर्ब रुपैयाँ तरलता बढेको छ भने यो अवधिमा कर्जा ६५ करोड रुपैयाँले मात्र प्रवाह भएको छ। नेफ्स्कुनका देशैभर ३५ सय भन्दा बढी बचत तथा ऋण सहकारी संस्थाहरु सदस्य छन्। ती सहकारीमा जम्मा भएको रकम नेफ्स्कुनमा निक्षेपको रुपमा आउने गरेको छ।
सहकारी विभागले केही समयअगाडि गरेको अध्ययनमा सहकारी क्षेत्रमा करिब ८ प्रतिशतले तरलता बढेको छ। विभागका रजिष्टार टोकराज पाण्डेले सहकारीमा कति तरलता बढ्यो भन्ने विषयमा विभागसँग यकित तथ्यांक नरहेको जानकारी दिए।
उनले सहकारीमा तरलता बढ्दा सदस्यहरुलाई सहज हुने र सदस्यहरुले थोरै ब्याजदरमा कर्जा प्राप्त गर्ने हुँदा सदस्यहरु उत्पादनतर्फ आकर्षित हुनसक्ने बताए।
तरलता बढ्नुका कारण
राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्रीकुमार गुरागाईका अनुसार पछिल्लो समय सहकारीप्रति विश्वास बढेकोले पनि सहकारी क्षेत्रमा तरलता बढेको हो।
सहकारी क्षेत्रमा तीन कारणले तरलता बढेको छ पहिलो बैंक तथा वित्तिय संस्थाले निक्षेपमा ब्याज घटाए तर समुदायमा आधारित सहकारीले अझै पनि दोहोरो अंकमा नै निक्षेपको ब्याज दिइरहेका छन् जसका कारण सहकारीतर्फ निक्षेप बढेको हो।
दोस्रो कारण भनेको सहकारीप्रति जनताले विश्वास गर्न थालेका छन्। सहकारी क्षेत्र समुदायमा आधारित र सदस्यलाई कठिन अवस्थामा साथ दिने तथा कर्जा सहज रुपमा पाइने भएकोले पनि सहकारी क्षेत्रतर्फ सर्वधारणको आकर्षण बढेको हो।
तेस्रो कोभिड–१९ का कारण बजारमा लगानीर्ताको आत्मबल खस्किएका कारण उनीहरु थप लगानी गर्न नचाहने र नयाँ लगानीकर्ताहरुले पनि जोखिम मोल्न नचाहेर ऋण नलिँदा रेमिट्यान्स र सरकारले गरेको सम्पूर्ण खर्च निक्षेपको रुपमा रहेकोले तरलता बढेको हो।
सोही कुरामा सहमत छन् नेफ्स्कुनका सिइओ पोखरेल पनि। उनका अनुसार सहकारीका सदस्यहरुले थप ऋण लिएर व्यवसाय सुरु गर्ने जोखिम मोल्न नचाहेर पनि कर्जा प्रवाहमा कमी भएको हो।
विभागका रजिष्टार पाण्डे भने सहकारीमा तरलता थुप्रिनु राम्रो कुरा भएको तर यसको उचित व्यवस्थापन गर्नुपर्ने बताउँछन्।
उनले भने, ‘ब्याजदर कम हुँदा अनुत्पादक क्षेत्रमा सहकारीबाट कर्जा जाने सम्भावना बढी रहेको छ त्यसतर्फ विभागले ध्यान दिइरहेको छ। तरलता व्यवस्थापनका लागि विभिन्न कोणबाट अध्ययन भइरहेको छ।
कोभिड–१९ का कारण बजारमा कुनै पनि नयाँ व्यवसाय सुरु भएको छैन। लगानीकर्ताहरु पनि थप लगानी गर्न डराइरहेका छन् भने मानिसहरुले आफूसँग भएको रकम निक्षेपको रुपमा बैंक वा सहकारीमा राखिरहेका छन्। कोभिड–१९ को प्रभाव कति समयसम्म पर्छ भन्ने कसैले पनि अनुमान गर्न नसक्दा सहकारीमा तरलता थुप्रिरहेको रजिष्टार पाण्डेको भनाइ छ।