बुधबार, वैशाख १७, २०८२

लकडाउनमा निक्षेप बढ्यो, लगानी बढेन

लकडाउनको अवधि (११ चैत– ७ साउन) मा वाणिज्य बैंकहरूको निक्षेप ३ खर्ब ४७ अर्ब थपिंदा कर्जा प्रवाह भने जम्मा १ खर्ब मात्र भएको छ।
 |  शुक्रबार, साउन १६, २०७७

शर्मिला ठकुरी

शर्मिला ठकुरी

शुक्रबार, साउन १६, २०७७

काठमाडौं– लकडाउनको अवधि (११ चैत– ७ साउन) मा वाणिज्य बैंकहरूको निक्षेप ३ खर्ब ४७ अर्ब थपिंदा कर्जा प्रवाह भने जम्मा १ खर्ब मात्र भएको छ।

नेपाल बैंकर्स एसोसिएसनका अनुसार कोरोना संकटका कारण उद्योगधन्दा ठप्प भएको र अन्य आर्थिक गतिविधिसमेत नहुँदा कर्जाको माग ओरालो लागेको हो।

कर्जाको मागमा प्रत्यक्ष असर गरे पनि निक्षेप संकलनमा भने कोरोना असर परेको छैन। गत जेठ मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थामा १३.३ प्रतिशतले निक्षेप बढेको छ। अघिल्लो वर्र्षको सोही अवधिमा पनि निक्षेप सोही दरमै बढेको थियो।

लकडाउन अवधिमा पनि रेमिट्यान्स आप्रवाहमा खासै कमी आएन। त्यस्तै सरकारले पूर्वाधार निर्माणमा भएको खर्चको भुक्तानी गर्दा बैंकहरूमा निक्षेप थुप्रिन पुग्योे।

२०७७ जेठ मसान्तसम्मको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती खाताको योगदान क्रमशः ८.७ प्रतिशत, ३२.२ प्रतिशत र ४८.२ प्रतिशत छ। अघिल्लो वर्र्षको सोही अवधिमा योगदान क्रमशः ९.२ प्रतिशत, ३२.५ प्रतिशत र ४७.६ प्रतिशत थियो।

Metro Mart
worldlink

त्यस्तै गत जेठसम्म बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १०.७ प्रतिशत बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १८.२ प्रतिशत बढेको थियो।

गत आवको जेठसम्म बैंक तथा वित्तीय संस्थाको कृषि क्षेत्रतर्फ १३.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रतर्फ ११.१ प्रतिशत, निर्माण क्षेत्रतर्फ ११.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रतर्फ १६.६ प्रतिशत र सेवा क्षेत्रतर्फ १९ प्रतिशतले कर्जा बढेको छ ।

गत आवको ११ महिनासम्म बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात औसत १.८१ प्रतिशत छ। ०७६ असारमा यस्तो अनुपात १.५२ प्रतिशत थियो।

जसमध्ये वाणिज्य बैंकको निष्क्रिय कर्जा अनुपात औसत १.७२ प्रतिशत, विकास बैंकको १.४८ प्रतिशत र वित्त कम्पनीको ६.७६ प्रतिशत छ ।

बढ्यो डिजिटल कारोबार

नेपाल बैंकर्स संघका अध्यक्ष भुवनकुमार दाहालका अनुसार लकडाउनले बैंकिङ क्षेत्रमा वर्क फ्रम होम (घरबाटै काम गर्ने) संस्कार बसालिदियो जुन ठूलो सकारात्मक प्रभाव हो। यसले बैंकिङ क्षेत्रमा डिजिटलाइजेसन पनि बढाएको उनको दाबी छ।

लकडाउनका कारण ग्राहक अनलाइन कारोबारतर्फ आकर्षित भएका छन्। लकडाउनको अवधिमा मोबाइल बैकिङ, ई–बैंकिङकको प्रयोग ५० प्रतिशतभन्दा बढीले वृद्धि भएको नेपाल राष्ट्र बैंक र बैंकर्स एसोसिएसनले जनाएका छन्।

अध्यक्ष दाहाल भन्छन्, ‘यसले गर्दा बैंकहरूले प्रविधिमा लगानी बढाउन सुरु गरेका छन्, प्रविधिमा मानव स्रोत कम चाहिने हुँदा बैंकको सञ्चालन खर्च पनि घट्छ।’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले आफ्नो कार्यकालमा बैंकिङ क्षेत्रलाई डिजिटलाइजेसनमा लगानी बढाउन आग्रह गरेका थिए। तर, उतिबेला बेवास्ता गरेका धेरै बैंक लकडाउनपछि प्रविधिमा लगानी गर्नु अनिवार्य रहेको निष्कर्षमा पुगेका छन्।

खराब कर्जाको जोखिम !

लकडाउनले बैंकिङ क्षेत्रमा खराब कर्जाको जोखिम बढेको छ। चार महिनाको लकडाउन अवधिमा उद्योगधन्दा ठप्प हुँदा अधिकांश ऋणीले साँवा–ब्याज तिर्न सकेका छैनन्।

नेपाल बैंकर्स संघका अनुसार असार मसान्तमा वाणिज्य बैंकहरूले उठाउनु पर्ने ५१ अर्ब ७५ करोड रुपैयाँ साँवा–ब्याज उठ्न सकेको छैन। यो रकम अघिल्लो वर्षको तुलनामा चार गुणाले बढी हो।

अघिल्लो वर्ष बैंकहरूको ११ अर्ब ४७ करोड रुपैयाँ नउठेको बैंकर्स एसोसिएसनले जनाएको छ।

२७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी साँवा तथा ब्याज (१३ अर्ब १८ करोड रुपैयाँ) राष्ट्रिय वाणिज्य बैंकको उठेको छैन। अघिल्लो आर्थिक वर्ष राष्ट्रिय वाणिज्य बैंकको १ अर्ब ८३ करोड रुपैयाँ उठ्न बाँकी थियो।

त्यस्तै सबैभन्दा धेरै साँवा–ब्याज उठाउने बैंक नेपाल एसबीआई भएको छ। एसबीआईको उठ्न बाँकी साँवा–ब्याज ३० करोड रुपैयाँ मात्र छ। अघिल्लो वर्ष यो बैंकको २१ करोड रुपैयाँ मात्र बाँकी थियो।

चालु आर्थिक वर्षको पहिलो सातामा मात्र मौद्रिक नीति आएकाले यसको असर गत वर्षको नाफामा खासै परेको छैन।

तर राष्ट्र बैंकले ब्याजदरमा दिएको २ प्रतिशत छुटले भने बैंकहरूको नाफामा कमी आउने पक्का छ। यद्यपि, राष्ट्र बैंकले असोज मसान्तसम्मको आयलाई गत वर्षको आयमा राख्न मिल्ने व्यवस्था गरेकोले असोज मसान्तमा मात्र पूर्ण विवरण आउने बैंकर्स संघले जनाएको छ।

प्रकाशित: Jul 31, 2020| 17:45 शुक्रबार, साउन १६, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्