नेपाली बजारमा सुनको मूल्य प्रतितोला एक लाख नजिक पुगेको छ। आज (बुधबार) छापावाल सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेर ९८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ।
कोरोना महामारीसँगै सुनको मूल्य अकाशिएको हो। सरकारले गत चैत १० गते देशव्यापी लकडाउन घोषणा गर्दा सुनको भाउ प्रतितोला ७७ हजार रुपैयाँ थियो। लकडाउनसँगै चैत ११ गतेदेखि सुनको औपचारिक कारोबार ठप्प भयो। नेपाल सुनचाँदी व्यवसायी महासंघले दैनिक मूल्य पनि तोक्न छाड्यो।
साढे २ महिनापछि जेठ २५ गते नयाँ मूल्य तोकियो– तोलाको ८७ हजार ४०० रुपैयाँ। अर्थात् तोलामै १० हजार ४०० रुपैयाँ बढ्यो। त्यसयता सुनको मूल्य बढेको बढ्यै छ।
पछिल्लो एक सातामा नै सुनको मूल्य ५ हजार ८०० रुपैयाँले बढेको छ। साउन ६ गते ९२ हजार ७०० प्रतितोला रहेको सुनको मूल्य १४ गते (आज) ९८ हजार ५०० रुपैयाँ पुगेको छ।
सुनको लगानी बढी सुरक्षित महसुस गरी अन्तर्राष्ट्रिय लगानीकर्ता यसतर्फ आकर्षित हुँदा सुनको मूल्य ह्वात्तै बढेको जानकारहरु बताउँछन्। त्यसको असर स्थानीय बजारमा पनि परेको हो।
गत वर्ष यही समयमा नेपाली बजारमा सुन प्रतितोला ६४ हजार रुपैयाँ थियो। एक वर्षकै अवधिमा तोलामा ३४ हजारभन्दा बढीले बढेको छ।
सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्य नेपालमा सुनको मूल्य अन्तर्राष्ट्रिय बजार अनुसार नै तोकिने गरेको र अन्तर्राष्ट्रिय बजारमा मूल्य लगातार बढ्दै गएपछि स्थानीय बजारमा पनि बढ्दै गएको बताउँछन्।
उनका अनुसार कोभिड–१९ले गर्दा सुनमा लगानीकर्ता आकर्षित हुँदै गएपछि मूल्य बढ्न गएको हो। दुई हप्तामा अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंश एक सय डलर बढेको छ।
महासंघका अनुसार पछिल्लो दुई सातामा सुनको मूल्य १ हजार ९०० डलरभन्दा बढीले बढेको छ। शाक्यका अनुसार पछिल्लो समय लगातार मूल्य बढिरहेकोले यो साताभित्र नै सुनको मूल्य एक लाख पुग्न सक्छ।
‘जब अन्तर्राष्ट्रिय बजारमा अस्थिरता, आर्थिक संकट, युद्ध जस्ता कुराहरु हुन्छन्, तब लगानीकर्ता सुनतर्फ आकर्षित हुने गरेका छन्,’ अर्थशास्त्री डा.चन्द्रमणि अधिकारी भन्छन्, ‘यस्तो अवस्थामा लगानीकर्ताहरु लगानी सुरक्षित राख्नतर्फ लागेका हुन्छन्। त्यसका लागि सुन उपयुक्त हो।’ अन्य क्षेत्रको लगानी झिकेर सुनमा बढाउँदा मूल्य बढ्न गएको अधिकारीको तर्क छ।
अर्का अर्थशास्त्री डा.डिल्लीराज खनाल पनि लगानीकर्ताहरु सुरक्षित लगानीका लागि सुनतर्फ आकर्षित भएकोमा सहमत छन्। डा. खनाल भन्छन्, ‘एकातिर कोरोनाका कारण विश्व अर्थतन्त्र नै शिथिल भइरहेको छ भने अर्कोतर्फ विश्वका शक्तिशाली मानिएका राष्ट्र चीन र अमेरिकाबीच शीतयुद्ध चलिरहेको छ। यसका कारण अन्तराष्ट्रिय लगानीकर्ताहरु अन्य लगानीमा सुरक्षित महसुस गरिरहेका छैनन्।’
कारोबार ठप्प
सुनको मूल्य बढेपछि कारोबार भने ठप्प भएको व्यवसायीहरुले बताएका छन्। सामान्य अवस्थामा दैनिक ३० देखि ५० किलो सुन कारोबार हुने गरेकोमा अहिले दैनिक करिब तीन किलोमात्र बिक्री हुने गरेको सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहनकुमार विश्वकर्माले जानकारी दिए।
मूल्य बढेकै कारण कारोबार नभएको उनको भनाइ छ। ‘लकडाउनका कारण उपभोक्ताको आम्दानीमा पनि असर पुग्यो। त्यसकारण व्यापारमा समस्या भएको हो,’ विश्वकर्माले भने।
बैंकमा पनि अहिले सुन थुप्रिएको छ। बिक्री हुन छाडेपछि व्यवसायीहरुले बैंकबाट सुन किन्नै छाडेका छन्। नेपाल बैंकर्स एसोसिएसनका अनुसार यही असार मसान्तसम्ममा नेपालका बैंकहरुमा ३२८ किलो सुन मौज्दात रहेकोमा अहिले ३२१ किलो ५०० ग्राम छ। अर्थात् करिब २ सातामा साढे ६ किलोमात्र सुन बिक्री भएको छ। एउटा बैंकले दैनिक २० किलोसम्म सुन बिक्री गर्न पाउने अवस्था छ।
स्टक रहेपछि बैंकहरुले सुनको आयात पनि घटाएका छन्। गत वर्ष बैंकहरुले २४ सय किलो सुन आयात गरेकोमा चालू आर्थिक वर्षको आजसम्म एक किलो पनि आयात भएको छैन।
नेपालमा सुन बैंक तथा वित्तीय संस्थाहरुले आयात गर्ने गरेका छन्। नेपालमा यूएई, टर्की, स्वीट्जरल्याण्ड लगायत देशबाट सुन भित्रिन्छ।