मिस नेपाल, मिस टिन, मिस्टर ह्यान्डसमलगायत सौन्दर्य प्रतिस्पर्धा र चलचित्र क्षेत्रले बुटिक व्यवसायलाई सहयोग गरिरहेको छ। लकडाउनका कारण यतिबेला यो व्यवसाय पनि चौपटमा छ।
काठमाडौं- कुपण्डोलस्थित रुबिज कलेक्सनमा १२ जना कामदार थिए। बुटिकमा मासिक लाखौंको कारोबार हुन्थ्यो। पहिलो मिस नेपाल रुबी राणा शाहले अहिले बुटिक आफ्नै घर झम्सीखेलमा सारेकी छन्।
भाडा तिर्न नसकेपछि नौ जना कामदारलाई जागिरबाट बिदा गरेको शाह बताउँछिन्।
उनी भन्छिन्, ‘लकडाउनअगाडि व्यापार विस्तारका लागि बैंकबाट लिएको ऋण कसरी तिर्ने भन्ने तनावमा छु।’
रुबिज कलेक्सनले महिलालाई आवश्यक पर्ने हरेक प्रकारका सामग्री तयार पार्छ। लकडाउन अगाडि सो बुटिक सेलिब्रेटीको संगमस्थलजस्तै थियो। मन परेको कपडा तयार पार्न सेलीब्रेटी त्यहाँ पुग्थे।
मासिक दस लाखभन्दा बढीको व्यापार गर्दै आएको कुपन्डोलको न्यु चेली बुटिकले अहिले एक रुपैयाँको पनि व्यापार गर्न सकेको छैन। बुटिककी सञ्चालक अनुष्का भट्ट विदेशमा रहेका महिलाको मागअनुसार चोली, लेहंगा, साडी, कुर्थासुरुवाल निर्यात हुन्थ्यो। अहिले ती सामग्रीको अर्डर आउन छोडेको छ।
अस्ट्रेलिया, अमेरिका, जापानलगायतमा बस्ने नेपालीले पनि अर्डर गर्न छाडेको उनी बताउँछिन्।
उनले करिब तीन वर्षअघि सो बुटिक ५० लाखभन्दा बढीको लगानीमा खोलेकी थिइन्।
धेरैजसो नाम चलेका र पुर्व मिस नेपालहरु बुटिक व्यवसायमा संलग्न छन्। भट्ट भन्छिन्, 'मिस नेपालहरुको आफ्नै नेटवर्क छ, जसका कारण उनीहरुको बुटिक सहजै चल्छ तर नयाँलाई व्यवसायमा स्थापित हुन कठिन छ।'
नाम चलेका बुटिक व्यवसायीको लक्षित समूह धनाढ्य परिवार हो। यस्ता बुटिकहरु सामान्यतया महंगो हुन्छन्। मध्यम वर्ग लक्षित बुटिकहरु पनि नेपालमा प्रशस्तै खुलेको भट्टले बताइन्।
बुटिक राख्ने स्थानको भाडा, कामदार, लक्षित समूह आदिका कारण पनि बुटिक सस्तो र महँगो हुने पूर्व मिस नेपाल राणाको भनाइ छ। उनले भनिन्, तर मैले भने मध्यम र उच्च दुवै वर्गलाई लक्षित गरी सामान डेलिभरी दिने गरेकी छु।
नयाँनयाँ फेसन तथा डिजाइनमा सुहाउँदो कपडा तयार गरिने हुँदा पनि बुटिक रोजाइमा पर्ने गरेको गायिका आस्था राउतको भनाइ छ।
उनी भन्छिन्, ‘मैले सधैं लाजिम्पाटमा रहेको साथीको बुटिकमा नै सिलाएको कपडा लगाउने गरेकी छु। लकडाउनका कारण सम्पूर्ण कार्यक्रम स्थगित भएको र राम्रो कमाउन पनि नसकेकाले नयाँ कपडाको माग गरेकी छैन। तीजका लागि भने केही अर्डर गर्ने मुडमा छु।’
कुन उमेरका मान्छेलाई कस्तो ड्रेस दिने, रङ कसरी मिलाउनेजस्ता कुरा थाहा हुनु बुटिक सञ्चालकलाई अनिवार्य कुरा हो। नत्र सफल हुन सकिँदैन।
मिस नेपाल, मिस टिन, मिस्टर ह्यान्डसमलगायत सौन्दर्य प्रतिस्पर्धा र चलचित्र व्यवसायले बुटिक व्यवसायलाई अझ फराकिलो बन्न सहयोग गरिरहेकाे छ।
पछिल्लो समयमा काठमाडौं, पोखरा, धरानलगायत सहरी क्षेत्रमा जनजातिगत तथा राष्ट्रिय स्तरमा समेत विभिन्न किसिमका फेसनका प्रतिस्पर्धा हुँदै आएका थिए। तर लकडाउनले ती सबै कार्यक्रम स्थगित भएका छन्।
नेपाल क्लोथ मर्चेन्ट टेलरिङ एसोसिएसनका अध्यक्ष रामकृष्ण श्रेष्ठका अनुसार पछिल्लो समयमा महिला मात्र नभएर पुरुष पनि बुटिक व्यवसायप्रति आकर्षित हुन थालेका छन्। श्रेष्ठका अनुसार बुटिक महिलाका लागि सहज र सरल तथा सुरक्षित रुपमा राम्रो कमाइ हुने व्यवसाय हो ।
एसोसिएसनका अनुसार हाल नेपालमा २ हजार हाराहारी बुटिक सञ्चालनमा छन्। तीज,देखि तिहारसम्ममा ४० प्रतिशत बुटिकको व्यवसाय सञ्चालनमा आउने श्रेष्ठको दाबी छ।
'संगठित रुपमा आवाज उठाउन पाइएन'
बुटिक व्यवासायीको कुनै एसोसिएसन छैन। उद्योग वाणिज्य महासंघले बुटिकलाई टेलरिङअन्तर्गत राखेको छ। अहिलेसम्म बुटिक व्यवसायीको माग नेपाल क्लोथ मर्चेन्ट टेलरिङ एसोसिएसनका तर्फबाट राखिँदै आएको छ।
बुटिकमा महिला बढी समावेश हुन्छन्। त्यसैले यो टेलरिङभन्दा फरक रहेको बुटिक व्यवसायी बताउँछन्। एसोसिएसन खडा हुन नसक्दा समस्या नीतिगत तहमा पुर्याउने कोही नभएको गुनासो उनीहरुको छ।
सरकारले महिला व्यवसायीलाई लक्षित गरी विभिन्न सहुलियतका कार्यक्रम ल्याएको छ। तर यसबारे उनीहरु जानकार छैनन्। त्यसैले लाभ लिने कुरै भएन। सहुलियत कर्जा, पुनर्कर्जाहरुको स्किम अहिलेसम्म बुटिक व्यवसायीले चलाउन पाएका छैनन्।
नेपाल राष्ट्र बैंकले प्रदान गर्ने विभिन्न प्रकारका सहुलियतका कार्यक्रममा पनि आफू सहभागी हुन नपाएको बुटिक व्यवसायी बताउँछन्। धेरै बुटिक व्यवसायीले बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका छन्।
राणाले भनिन्, 'व्यवसाय विस्तारका लागि लिएको ऋणको ब्याज र साँवा कसरी तिर्ने? बुटिक व्यवासायीको समस्या कसले सुन्ने र कसले सम्बोधन गर्ने? अहिले आएर एसोसिएसनको महत्त्व बुझेकी छु।'