काठमाडौं– नेपाल राष्ट्र बैंकले प्रदान गर्ने पुनर्कर्जा पहुँचवाला र ठूला उद्योगी/व्यवसायीको कम्पनीले कब्जा गरेको खुलेको छ।
नेपाल राष्ट्र बैंकले बुधबार पुनर्कर्जा पाएका उद्योग तथा व्यवसायहरुको नाम सार्वजनिक गरेको हो।
राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षमा १३२ जना उद्योगी/व्यवसायीले साधारण पुनर्कर्जा पाएका छन् भने १० जना उद्योगीले निर्यात पुनर्कर्जा पाएका छन्।
राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि ६० अर्ब रुपैयाँको पुनर्कर्जा कोष निर्माण गरेको थियो।
राष्ट्र बैंकबाट वाणिज्य बैंकहरुको माध्यम हुँदै प्रदान गरिने पुनर्कर्जा कोषबाट गभर्नर र अर्थ मन्त्रीसम्म पहुँच हुने ठूला उद्योगी/व्यापारीहरुले पाएका छन्।
विवरणमा उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगडको ‘दुगड स्पाइसेस एन्ड फुड प्रोडक्सन प्रा.लि.’ रामचन्द्र संघाईको अन्नपूर्ण भेजिटेवल प्रोडक्सन, शाहिल अग्रवालको जगदम्बा स्टील, प्रवलजंग पाण्डेको कसमस् सिमेन्ट इन्डस्ट्रीजलगायत ठूला उद्योगले पुनर्कर्जा लिएका छन्।
मध्यम, साना तथा घरेलु उद्योगका व्यवसायीसम्म पुनर्कर्जा कोष नपुगेको भन्दै राष्ट्र बैंकको व्यापक आलोचना हुने गरेको छ।
पाँच प्रतिशत ब्याजदरमा पाइने भएकोले धेरै व्यापारीहरुले सो रकमको दुरुपयोग गर्ने गरेको जानकारहरु बताउँदै आएका छन्।
गभर्नर महाप्रसाद अधिकारीले सञ्चार माध्यमसँग एकै व्यक्तिले पटक–पटक गरी एक अर्ब ३७ करोड रुपैयाँसम्म पुनर्कर्जा लिएको र जम्मा ३७ जनाले ७ अर्ब रुपैयाँ पुनकर्जा चलाएको बताएका थिए।
गभर्नर अधिकारीले पुनर्कर्जामा साना, घरेलु तथा मध्यम वर्गका व्यवसायीको पहुँच नपुगेको भन्दै आगामी आर्थिक वर्षमा दिइने पुनर्कर्जा भने ति व्यवसायीहरुलाई लक्षित गरेर कार्यविधि बनाएको जानकारी दिएका छन्।
राष्ट्र बैंकले आगामी आर्थिक वर्षको लागि कोभिड–१९ ले थला परेका उद्योग/व्यवसाय उठाउनका लागि भन्दै एक खर्ब बराबरको पुनर्कर्जा कोष निर्माण गर्ने भएको छ। सो कोषको रकम ३ देखि ५ प्रतिशतमा पाइने गरी तयारी भइरहेको छ।
एक जनाले २० करोड रुपैयाँसम्म पाउने र पाँच करोड रुपैयाँसम्म बैंकले नै दिने गरी कार्यविधि बनाएको राष्ट्र बैंकले जनाएको छ।
कार्यविधि अनुसार कुनै उद्योगी व्यवसायीलाई पाँच करोडभन्दा माथिको पुनर्कर्जा आवश्यकता परेमा मनासिव कारण देखिएमा राष्ट्र बैंकले २० करोडसम्मको पुनर्कर्जा प्रदान गर्न सक्ने छ।
राष्ट्र बैंकका कर्मचारीहरुले यही पुनकर्जा कोषलाई दुहुनो गाईको रुपमा प्रयोग गर्ने गरिएको भन्दै सर्वत्र आलोचना भइरहेको छ।