आइतबार, जेठ २६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • कर्णालीमा प्राकृतिक विपत्तिबाट एक वर्षमा दुई अर्ब ६३ करोड १९ लाखकाे क्षति, ४३ जनाकाे मृत्यु

कर्णालीमा प्राकृतिक विपत्तिबाट एक वर्षमा दुई अर्ब ६३ करोड १९ लाखकाे क्षति, ४३ जनाकाे मृत्यु

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आवमा दुई अर्ब ६३ करोड १९ लाख २३ हजार दुई सय सात रुपैयाँ क्षति भएको छ। ४३ जनाको मृत्यु र ८५ जना घाइते भएका छन्।
 |  मंगलबार, असार ३०, २०७७

देव राना

देव राना

मंगलबार, असार ३०, २०७७

सुर्खेत-

घटना : १

चैत १ गते डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ मा हिमपहिरोले बमबहादुर बुढाको घर भत्कियो। पहिरोमा बमबहादुरले छोरीहरु १२ वर्षीया मञ्जु र २ वर्षीया लक्ष्मीलाई गुमाए। पत्नी रणमती गम्भीर घाइते भइन्।

घटना : २

वैशाख २३ गते चट्याङ पर्दा सल्यानको कुमाख गाउँपालिका–३, गुरुदासेका ६ वर्षीया हिमानी रानाको मृत्यु भयो। सोही चट्याङमा मृतककी आमा दीपा राना, बुवा अतिराम राना, भाइ यमराज राना, टेकबहादुर राना र रणसिंह राना घाइते भए।

घटना : ३

असार १५ गते सुर्खेतको बाबियाचौरमा रहेको खमारी खोला जलविद्युत् आयोजनामा पहिरो गयो। पहिरोमा परी पञ्चपुरी नगरपालिका ६, भावरकी ४७ वर्षकी नन्दा पुलामीको मृत्यु भएको हो। उनका पति डम्मर पुलामी गम्भीर घाइते भए।

घटना : ४

असार २६ गते जाजरकोटको बारेकोट गाउँपालिका–४ सार्कीगाउँमा गएको पहिरोमा परी ११ जनाको मृत्यु भयो। एक जना अझै बेपत्ता छन्। दुई जना घाइते भएका छन्। पहिरोले सयौं घरपरिवार विस्थापित भएका छन्। करोडौँको धनसम्पत्ति क्षति भएको छ।

उल्लिखित घटना केही प्राकृतिक प्रकोपका केही प्रतिनिधि घटना हुन्। भौगोलिक विकटता र बाढीपहिरोको उच्च जोखिममा रहेको कर्णाली प्रदेशमा प्रकृतिले बर्सेनि अर्बाै‌काे क्षति हुने गरेको छ। चट्याङ, बाढीपहिरो आगलागीजस्ता घटनामा सयौंको मृत्यु हुने गरेको छ।

कर्णाली प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा दुई अर्ब ६३ करोड १९ लाख २३ हजार दुई सय सात रुपैयाँ क्षति भएको छ। ४३ जनाको मृत्यु र ८५ जना घाइते भएका छन्।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवत्ता एसएसपी राजेशनाथ बास्तोलले चालु आर्थिक वर्षमा बाढीपहिरोबाट ३३ जनाको मृत्यु भएको बताए। ३२ जना घाइते भएका छन्।

हालसम्म प्रदेशभर दुइ सय ९४ वटा स्थानमा बाढी गएको छ। सुर्खेतमा एक सय ५१, दैलेखमा ११, कालिकोटमा चार, जुम्लामा २६, हुम्लामा १५, जाजरकोटमा २५, सल्यानमा १४ र रुकुमपश्चिममा ४८ वटा स्थानमा बाढी गएको उनले बताए। बाढीले ११ वटा चौपायाको मृत्यु भएको छ। बाढीबाट प्रदेशमा एक अर्व दुइ करोड ७० लाख ३८ हजार नौ सय ३४ रुपैयाँ क्षति पुगेको छ।

त्यस्तै प्रदेशमा एक सय ३८ स्थानमा पहिरो गएको छ। दैलेखमा ६, कालिकोटमा चार, हुम्लामा चार, डोल्पामा १४, जाजरकोटमा ४५, सल्यानमा १३ र रुकुमपश्चिममा ५२ स्थानमा पहिरो गएको छ।

पहिरोबाट १८ वटा चौपायाको मृत्यु भएको छ । प्रदेशभर पहिरोबाट ६४ करोड २८ लाख सात हजार चार रुपैयाँ क्षति भएको छ।

जुम्ला र डोल्पामा चार/चार स्थानमा हिमपहिरो जाँदा तीन जनाको मृत्यु र एक जना घाइते भएका छन्। हिमपहिरोमा परी तीन वटा पशु चौपायाको मृत्यु भएको छ। त्यस्तै २७ लाख ३८ हजार चार सय रुपैयाँ क्षति भएको छ।

प्रदेशभर एक वर्षमा ४९ स्थानमा चट्याङ परेको छ। जसमध्ये सुर्खेतमा आठ, दैलेखमा १३, कालिकोटमा चार, जुम्लामा एक, जाजरकोटमा दुई, सल्यानमा १२ र रुकुमपश्चिमा विभिन्न नौ वटा स्थानमा चट्याङ परेको छ।

चट्याङ लागेर पाँच जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन्। त्यस्तै चार सय ७९ वटा चाैपायको मृत्यु भएको छ। चट्याङबाट ८५ लाख १४ हजार पाँच रुपैयाँ क्षति भएको छ।

हावाहुरीले दैलेखका तीन, मुगुमा चार, हुम्लामा तीन, डोल्पामा दुई, जाजरकोटमा एक सय ८४, सल्यानमा १५ र रुकुमपश्चिममा एक ठाउँमा गरी दुई सय १२ वटा स्थानमा क्षति पुगेको छ। दुई जना घाइते भएका थिए। हावाहुरीबाट एक करोड ३५ लाख ८५ हजार नौ सय ९१ रुपैयाँको क्षति भएको छ।

प्रदेशभर चालु आर्थिक वर्षमा एक सय ६० स्थानमा आगलागी हुँदा एक अर्ब १५ करोड ६४ लाख आठ हजार आठसय ७० रुपैयाँ क्षति भएको छ। आगलागीबाट सुर्खेत, जुम्ला, सल्यान र रुकुमपश्चिमा गरी चार जनाको मृत्यु भएका छ। सातजना घाइते हुँदा ८१ वटा चौपायाको मृत्यु भएको छ।

आगलागीका घटना मध्ये मुगुमा सबैभन्दा बढी अर्थात ३८, सुर्खेतमा १९, दैलेखमा १५, कालिकोटमा दश, जुम्लामा आठ, हुम्ला र डोल्पामा ६/६, जाजरकोटमा ३३, सल्यानमा १४ र रुकुमपश्चिका ११ वटा स्थानमा आगलागी भएको छ।

कर्णालीका दस जिल्लामध्ये प्राकृतिक प्रकोपबाट सुर्खेतले सबैभन्दा बढी क्षति व्यहोरेको छ। तथ्यांकअनुसार चालु आर्थिक वर्षमा बाढिपहिरो, हावाहुरी र आगलागी जस्ता घटनाबाट सुर्खेतमा एक अर्व ४२ करोड ८२ लाख चार हजार ६ सय रुपैयाँ क्षति भएको छ।

दैलेखमा ६ लाख ८२ हजार सात सय पाँच रुपैयाँ, कालिकोटमा ६५ लाख एक हजार ६ सय, जुम्लामा पाँच करोड ५० लाख तीन हजार ७० रुपैयाँ, मुगुमा ९४ करोड ४३ लाख ३४ हजार ६ सय, हुम्लामा तीन करोड २४ लाख तीन हजार दुइ सय, डोल्पामा ९८ लाख, २९ हजार  सात सय ७६ रुपैयाँ, जाजरकोटमा ७६ करोड ४४ लाख आठ हजार ६ सय ५६ रुपैयाँ, सल्यानमा ५१ लाख १५ हजार र रुकुमपश्चिममा चार करोड १७ लाख ६२ हजार रुपैयाँ क्षति भएको छ।

याे पनि पढ्नुस् :

कर्णालीका ७९ स्थानीय तहमा उद्धार कार्यदल

 

प्रकाशित: Jul 14, 2020| 18:30 मंगलबार, असार ३०, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।