त्यो ह्याट्रिकले संजोक मात्र खुसी भएनन्। लिग हेरिरहेका सबै फुटबल समर्थकको हुटिङले मैदान उल्लासमय बन्यो। लामो समयसम्म मैदानमा ह्याट्रिक नदेखेका फुटबल समर्थकलाई संजोकले खुसीको बहार ल्याइदिए।
‘लकडाउनपछि खेलकुदका गतिविधि छैनन्। त्यसैले म पनि फुर्सदमा छु। घरै बस्यो। कहिलेकहीं गाउँका साना भाइहरुसँग रमाइलोका लागि फुटबल खेल्छु। समय बितिरा’छ,’ सुदूरपूर्वको बिर्तामोड नजिकै बुट्टाबारीबाट फुटबलर संजोक राईले दैनिकी सुनाए, ‘मेरो घरतिर एकदमै गर्मी छ, खपिनसक्नु।’
उनले सानैदेखि झापाको गर्मी सहेर फुटबलमा रमाउन सिकेका हुन्। भालेकप, खसीकप खेलेर हुर्केका संजोकले पछिल्लो समयमा अन्तर्राष्ट्रिय प्रतियोगितासमेत खेलिसकेका छन्। झापा–११ बाट झापा गोल्डकपमा व्यावसायिक फुटबलमा आबद्ध संजोक धेरै उकाली–ओराली पार गर्दै ए डिभिजनमा ह्याट्रिकको खडेरी तोड्न सफल बने।
उनलाई आफू कहिलेदेखि फुटबल खेल्न थालेको भन्ने सम्झना छैन। ‘ठ्याक्कै त कसरी भनौँ! तर सानैदेखि फुटबलमा लागेको हुँ। १० वर्षको उमेरदेखि नै लागेको भन्नुपर्ला!’ संजोकले भने। उनी क्लबमा प्रवेशचाहिँ झापा ११ बाट गरेका हुन्। त्यसपछि च्यासलबाट खेले। अहिले थ्रिस्टारबाट खेलिरहेका छन्।
‘धेरैले तिमी राम्रो खेल्दा रहेछौ, राम्रो गर्दै जाऊ भन्थे। सबैले राम्रो भनेपछि मलाई पनि खेल्न प्रेरणा मिल्यो,’ उनी बाल्यकाल सम्झन्छन्।
इलाम, झापा फुटबलको बढी क्रेज भएका जिल्ला हुन्। यस्तै क्रेजले उनी पनि फुटबलमा आकर्षित भए।
‘फुटबल सुरु गर्दा हौसला दिने दाइ थिए– भीम लिम्बू। गाउँमा त फुटबल खेल्न गाह्रो थियो। परिवारले पनि सहयोग नगर्ने,’ उनले भने, ‘भीम दाइले मेरा अभिभावकलाई धेरै सम्झाउनुहुन्थ्यो।’
संजोकको यात्रा २०६४/६५ सालतिर एन्फा एकेडेमीतर्फ मोडियो। एकेडेमीमा किशोर राई र दीपक राई प्रशिक्षक थिए। संजोक उनीहरूको नजरमा परिहाले। उनी भन्छन्, ‘फुटबल सुरु गर्दा एकेडेमीमा बसें। यू–१२ खेल्दा धरानमा थिएँ। त्यसपछि यू–१४ मा खेलें। त्यसपछि काठमाडौं एकेडेमीको छनोटमा इरानमा खेल्न जाने अवसर पाएँ फरवार्डका रुपमा।’
संजोकले एकेडेमीबाट ७ वर्ष जति खेले। मोफसलका धेरै फुटबल टिमबाट फुटबल खेलेका छन्।
‘अहिले आएर सोच्दा कहिले रमाइलो लाग्छ, कहिलेचाहिँ नरमाइलो लाग्छ,’ उनी भन्छन्, ‘प्रतियोगितामा सहभागी बन्न नपाउँदा दुःख लाग्छ। पछिल्लोपटक यू–२३ मा खेलाडीको सूचीमा नाम थियो। अन्तिमतिर खेल्न पाइएन। त्यस्तो बेलामा चाहिँ फुटबलै छोडौँ कि भन्ने पनि लाग्छ।’
अनि भारतीय सेनामा भर्ती हुन प्रयास गरें
एउटा यू–१९ खेलपछि एन्फाले बिदाइ गर्याे। उनी झापा फर्किए।
‘त्यसपछि भारतीय सेनामा भर्तीका लागि भिड्न गएँ इन्डिया। तर मेडिकलमा समस्या आएपछि प्रक्रिया अघि बढ्न सकेन’, उनले भने।
पैसा कमाउने इच्छा, परिवारको दबाब र भविष्यको चिन्ताले उनी भारतीय सेनामा भर्ती हुन चाहेका थिए। ‘भाग्यमा नेपालमै फुटबल खेल्नु भनेर लेखिसकेपछि कहाँ आर्मीमा लाग्न सकिन्छ र?’ उनी कहिलेकाहीं आफैंसित प्रश्न गर्छन्।
क्लबमा सफल कि असफल !
उनले ए डिभिजनको अघिल्लो सिजन च्यासलबाट खेले। पछिल्लो सिजन थ्रिस्टारबाट। उनले झापा ११ बाट खेलिसकेका थिए। मोफसलको नेपाली फुटबलमा खेलाडी किनबेचको मापदण्ड त्यति व्यावहारिक थिएन।
एन्फाले नयाँ नियम ल्याएको छ। त्यसअघि ए डिभिजन खेलिसकेपछि खेलाडीहरु स्वतन्त्र रुपमा बाहिर खेल्न जान पाउँथे। अब क्लबको अनुमति लिनुपर्छ।
च्यासलमा रहँदा नारायणगढमा झापा एघारसँग च्यासलको खेल थियो। उनी झापा एघारबाट खेल्दै थिए। झापाबाट पहिल्यै खेलेकाले उनलाई सहज थियो। राम्रो खेले, जिते पनि।
च्यासलले अनुमतिबिनै खेलेको भन्दै उनीसहित निशान खड्कालाई ६ महिना प्रतिबन्ध लगायो। त्यसपछि उनी राष्ट्रिय टोलीको प्रशिक्षणमा जान पाएनन्। उनले भने, ‘च्यासलले प्रतिबन्ध लगाउने धम्की दिएपछि जाने कुरा भएन। अनि २०/२५ दिन काठमाडौंको होस्टेलमै बसें। धेरै आग्रह गर्दा पनि क्लबले मिलाइदिएन। त्यत्तिकै भयो।’
उनी त्यो घटना सम्झँदा बेलाबेलामा मन दुख्ने बताउँछन्।
च्यासलले दुई जनामाथि कारबाही गर्न एन्फामा निवेदन दिएको थियो। सोहीअनुसार कारबाहीमा परेका संजोक ए डिभिजन लिगमा पनि छैटौं चरणको खेलपछि मात्र फर्किए।
६ महिना प्रतिबन्धपछि संजोक मनाङबाट खेल्न चाहन्थे। उनी भन्छन्, ‘नगेन लिम्बू दाइले थ्रिस्टारमा कुरा गरिदिनुभएको रहेछ। मलाई थाहै थिएन। मनाङतिर जानुपर्ला भन्ने सोचिरहेका बेला थ्रिस्टारले सम्पर्क गरिहाल्यो त्यतै गएँ। अनि एक सिजन थ्रिस्टारबाट खेलें।’
अचानक ह्याट्रिक गरें
सरस्वती युथ क्लबविरुद्ध माघ १८ गतेको खेलमा संजोकले ए डिभजन लिगमा पहिलोपटक ह्याट्रिक गरे। उनले खेलको ५७, ६० र ७१ औं मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेका थिए। ‘त्यो मेरो पहिलो ह्याट्रिक थियो। ह्याट्रिक गर्छु भनेर सोचेको थिइनँ। त्यतिबेलाको खुसी त, ओहो!...,’ उनी बोल्दाबोल्दै रोक्किए।
ह्याट्रिकले उनी मात्र खुसी भएनन्। लिग हेरिरहेका सबै फुटबल समर्थकको हुटिङले मैदान उल्लासमय बन्यो। लामो समयसम्म मैदानमा ह्याट्रिक नदेखेका फुटबल समर्थकलाई संजोकले खुसीको बहार ल्याइदिए।
उनी सम्झन्छन्, ‘मैले धेरै गोल गरेको थिइनँ। 'ह्याट्रिक गर्न पाए कस्तो हुन्थ्यो होला भन्ने लागिहरन्थ्यो। त्यो सपना पूरा भएरै छाड्यो।’
उनलाई प्रशिक्षक, साथीभाइ, अफिसियल र एन्फाका सबैले शुभकामना दिए। ‘उमेर छ, जोस÷जाँगर पनि छ गर्न सक्छौ’ भनेर प्रेरणा दिने मान्छे धेरै थिए।
‘ए डिभिजनको एकै खेलमा तीन गोल गर्न पाउनु धेरै खुसीको कुरा रहेछ। अझै राम्रो गर्दै जाने लक्ष्य छ। हेरौं कहाँसम्म पुगिन्छ,’ संजोकले नेपाली फुटबलको भविष्य उज्यालो रहेको संकेत गरे।
उनी मैदानमा जहिल्यै पनि आत्मबल दह्रो बनाएर उत्रन्छन्। अर्जेन्टिनी खेलाडी मेस्सी उनका ड्रिम खेलाडी हुन्। ‘मलाई मेस्सीको ड्रिबलिङ र गोल गर्ने तरिका असाध्यै मनपर्छ। गोल हान्दाखेरीको उनको किकको स्टाइल छ नि, सबैभन्दा धेरै मनपर्छ,’ उनले भने।
सम्झँदा अनाैठाे लाग्छ
५/६ कक्षामा पढ्दा उनलाई कहिले बुट लगाऊँ, कहिले खोलौं भन्ने लाग्थ्यो। उनी भन्छन्, ‘बुट थेन। खाली खुट्टै खेल्थेँ। दाइहरु मैदानमा खेल्नुहुन्थ्यो, हामी बाहिरै खेल्थ्यौँ, धुलो र हिलोको वास्तै थिएन।’ भीम दाइ उनलाई बुट किनिदिन बुबामीसँग आग्रह गरिदिन्थे।
एकपटक संजोक धेरै बिरामी परे। हस्पताल लगियो। उपचार प्रक्रिया सुरु भयो। घरमा बुवाआमाले बुट किनिदिएछन्। ‘हस्पिटलमै बुट किनेर घरमा ल्याएर राखिएको छ भन्ने सुनें। त्यसपछि त चाँडै निको भएर घर फर्किएँ। मलाई लाग्छ– बुटको मायाले मेरो बिराम पनि चाँडै निको भयो। त्यो सम्झँदा आज पनि अचम्म लाग्छ,’ उनले भने।
नबिर्सने क्षण
कुरा ४/५ वर्षको हो। राष्ट्रिय टिममा छनोटका लागि उनी बिर्तामोडबाट धरान जाँदै थिए। बसको हुटमा बसेका थिए। टाउकोमा चोट लाग्यो।
संजोकलाई निकै अप्ठ्यारो भयो।
‘ठ्याक्कै अन्तिम छनोटको बेला थियो। साथीहरूले चोट देखेर यस्तो भयो भने खेल्न पाउँदैनस्, छनोट हुँदैन भनेर त्रास देखाए। मलाई पनि डर लाग्यो,’ उनले घटना सम्झिए।
फुटबलमै उज्यालो भविष्य देखेका योद्धालाई टाउकाको सानो चोटले कहाँ छेक्थ्यो र? रुमाल बाँधेरै खेल्ने निर्णय गरे।
‘तर फोटो खिच्ने बेला उपेन्द्र सरले रुमाल बाँधेर फोटो खिच्न दिनुभएन, अन्त्यमा खोल्नैपर्यो। खोलेपछि टाउको काटिएको देखियो। सरले त्यो घाउ सिउनुपर्छ भन्नुभयो,’ संजोकले फसादमा परेको त्यो घटना सुनाए। उनलाई त्यतिबेला साथीले भनेको त्यही वाक्य याद आयो, ‘चोट लागेपछि खेल्न पाइन्न र सेलेक्सन हुँदैन।’
उनी अस्पताल गए। तर टाउकाको चोटले भन्दा खेल्न नपाइने चिन्ताले सतायो।
यता खेल चलिरहेको छ उता उनले खेल्न पाएनन्। खेल पनि सकियो उनी अस्पतालबाट फर्किए। एकमनले त सोच्यो अब राष्ट्रिय टिममा पर्ने अवसर गुम्यो। तर त्यस्तो भएन। उनी टिममा छानिए। उनले भने, ‘मैले सधैं सम्झने घटना त्यही हो।’
लकडाउनले प्रभावित छैन
लकडाउनले खेलक्षेत्र पूरै ठप्प छ। प्रतियोगिता शून्य छन्। संजोकको मनोबल घटेको छैन। शारीरिक अभ्यास गरिरहेका छन्।
‘ट्रेनिङका धेरै स्किलचाहिँ गरेको छैन। सानासाना भाइहरुसँग खेलिन्छ रमाइलोका लागि। यहाँ खाली स्पेस छ। ठूलो र व्यवस्थित नभए पनि मैदान छ,’ उनले भने।