काठमाडौं- हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक एक आपसमा मर्ज हुने भएका छन्। पछिल्लो समयमा बैंक सञ्चालकहरुबीच तीव्र कुराकानी अगाडि बढेको छ।
केही दिनअघि हिमालयन बैंककाे सञ्चालक समितिको बैठक बसेको थियो। बैठकले मर्जरमा जानुपर्ने निष्कर्ष निकालेको थियो। तर, नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउन लागेकाले तत्काल कुनै ठोस निर्णय नगरी समितिको बैठक सकिएको बैंक स्रोतले नेपाल समयलाई जानकारी दियो।
नेपाल राष्ट्र बैंक मौद्रिक नीतिमार्फत ‘फोर्सफुल्ली बिग मर्जर’को नीति ल्याउने तयारीमा छ। यसकाे जानकारी हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंकका सञ्चालकलाई छ। राष्ट्र बैंकले फोर्सफुल्ली बिग मर्जरको नीति ल्याएको खण्डमा इन्भेस्टमेन्ट बैंकसँग मर्ज हुने अनौपचारिक निर्णय गर्ने हिमालयन बैंकका सञ्चालकहरुले गरिसकेका छन्।
हाल कोरोना भाइरस (कोभिड-१९)का कारण उत्पन्न समस्यालाई देखाएर भए पनि बिग मर्जरको नीति ल्याउन नेपाल राष्ट्र बैंकलाई सहज छ।
एकातिर बैंकहरुको खराब कर्जा बढ्दै जाँदा लगानीकर्ताहरुको लाभांशमा कमी हुन्छ भने अर्कोतर्फ बैंकहरुलाई सञ्चालन खर्च कटौती गरी आइटीमा थप लगानी र ऋणीहरुलाई सहुलियत दिनुपर्ने बाध्यता छ। यही बाध्यताका कारण पनि बैंकलाई थप बलियो र सशक्त बनाउनुपर्ने दबाबमा सञ्चालकहरु छन्।
कोभिड-१९ का कारण बैंक तथा वित्तीय संस्थामा पनि नकारात्मक असर देखापर्न थालिसकेको छ। अहिले पनि बैंकहरुको त्रैमासिक वित्तीय विवरण केलाउने हो भने लगानीकर्तालाई १२ देखि १५ प्रतिशतसम्म पनि लाभांश दिन सक्ने अवस्था छैन। अब असारपछि यो अवस्था झनै नराम्रो हुने नेपाल इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडे बताउँछन्।
उनले भने, “म अध्यक्ष भइरहँदा मैले लगानीकर्ताको हित सोच्नु जरुरी छ, यदि बैंकले १५ प्रतिशतभन्दा बढी लाभांश दिन सकेन भने लगानीकर्ताले आफ्नो सेयर धमाधम बिक्री गर्न थाल्छन्, त्यसको असर सेयर बजारमा पर्छ साथै समग्र अर्थतन्त्रमा पनि।”
यदि मुद्धति निक्षेपमा पाउने ब्याजभन्दा कम लाभांश भएमा बैंकमा कसले लगानी गरेर बस्छ ? लगानीकर्ताले उचित प्रतिफल चाहने हो भने पनि मर्जरको विकल्प नरहेको उनको ठम्याइ छ।
“हामीले यतिबेला लगानीकर्ताको हित र बैंकलाई बलियो बनाउनेतिर ध्यान दिनुपर्छ। कुन सीइओको जागिर जाने हो भन्नेतर्फ सोच्ने होइन। हाम्रो मर्जरको लागि उचित पार्टनर हिमालयन बैंक हो, त्यसमा दुईमत छैन हाम्रो बैंकको तर्फबाट हामी तयार छौं। हिमालयन बैंकको के निर्णय गर्छ त्यो उनीहरुको पाटो हो,” उनले भने।
हिमालयन बैंकका सीइओ अशोक राणाका अनुसार इन्भेस्टमेन्ट बैंकसँग मर्ज हुने औपचारिक निर्णय भएको छैन। उनले भने, “हामी इन्भेस्टमेन्ट बैंकसँग मर्जमा जाने भन्ने औपचारिक निर्णय भएको छैन, भए त मिडियामा पत्रकार सम्मेलन नै गरेर भन्छौ, मर्जका लागि कुरा भएको हो कुनसँग भन्ने निर्णय भएको छैन। मर्जमा गयौ भने साना बैंकसँग जाँदैनौं इन्भेस्टमेन्ट बैंक प्राथमिकतामा हो।”
उनका अनुसार हाल हिमालयन बैंकको पहिलो प्राथमिकता भनेको बेलायतको सीडीसी ग्रुप अफ कम्पनीको लगानी कसरी ल्याउने भन्ने नै हो।
हिमालन बैंकमा सीडीसी ग्रुपले २० प्रतिशत सेयर किन्न लागेको छ। यसअघि हबिब बैंकको लगानी रहेको सो बैंकमा हबिबले आफ्नो सेयर बिक्री गरिसकेको छ।
हबिबकै सिफारिसमा सीडीसी ग्रुप हिमालयन बैंकमा लगानी गर्न सहमत भएको हो। हिमालन बैंकमा ठूला लगानीकर्ताको रुपमा रहेको खेतान र मनोजबहादुर श्रेष्ठको ग्रुप भने एभरेस्ट वा सेन्चुरी बैंकसँग मर्ज गर्नुपर्ने पक्षमा रहे पनि उनीहरुको काम गर्ने शैली आफ्नोभन्दा फरक रहेको सिइओ राणाले राख्दै आएका छन्।
हिमालयन बैंकका अध्यक्ष रहेका तुलसीप्रसाद गौतम पनि बिग मर्जरमा जान चाहन्छन्। संस्थापक लगानीकर्ताको तर्फबाट प्रतिनिधित्व भइ अध्यक्ष भएका गौतम कर्मचारी सन्चय कोषका प्रशासक पनि हुन्। उनी पनि इन्भेस्टमेन्ट बैंकसँग मर्ज हुनुपर्ने पक्षमा छन्।
इन्भेस्टमेन्ट बैंकलाई हिमालयन बैंकसँग मर्जका लागि प्रस्ताव भने इन्भेस्टमेन्ट बैंकका अध्यक्ष पाँडेले नै राखेका थिए। हिमालयन बैंक विदेशी साँझेदार भएको बैंक तथा राम्रो कर्पोरेट कल्चर भएको बैंक भएका कारण पनि पाँडे हिमालयन बैंकसँग मर्जको लागि लालायित भएका हुन्।
हालसम्म बैकिङ क्षेत्रमा एकछत्र राज गरेका पाँडेलाई विस्तारै आफ्नो गिर्दो शाख मनपरेको छैन। नाफामा र लगानीकर्तालाई दिने रकममा सधै अब्बल मानिएको इन्भेस्टमेन्ट बैंकको पछिल्लो समयमा नाफामा विस्तारै धक्का लाग्न थालेको छ। त्यस्तै, पछिल्लो पुस्ताका बैंकहरुले पनि नेपाल इन्भेस्टमेन्ट बैंकलाई उछिन्न थालेपछि उनलाई छटपटी सुरु भएको हो।
बैंक उच्च स्रोतका अनुसार काम गर्ने शैलीदेखि पारिवारिक सम्बन्धसम्म मिल्ने हुँदा दुवै बैंकको रोजाई मिलेको हो। दुवैतर्फका सञ्चालक समिति पनि एक आपसमा मर्जरको लागि सहमत नै छन्।