बिहीबार, वैशाख १८, २०८२

विश्वयुद्ध, एकान्तवास र 'डायरी अफ अ योङ गर्ल'

जब यौनका कुरा आउँछ, मान्छे असहज बन्छन्। बाह्रतेह्र वर्षका छोराछोरीलाई सबै कुरा बताउनुको साटो अभिभावक यस विषयमा कुरा चल्नेबित्तिकै कोठाबाहिर लखेट्छन्।
 |  शनिबार, असार २०, २०७७

विनय सापकोटा

विनय सापकोटा

शनिबार, असार २०, २०७७

दोस्रो विश्वयुद्धको चपेटामा परेका बालबालिकालाई प्रमुख दुई कुराको चिन्ता हुन्थ्यो। एक– युद्ध किन भएको होला? अर्को– अब कहिले आनन्दपूर्वक खेल्न पाइएला?

विपन्न बालबालिका भने ‘खान पाइन्छ कि पाइँदैन’ भन्ने चिन्तामा हुन्थे।

यहुदी परिवारकी १३ वर्षीया एन फ्रांक निकै चिन्तित थिइन्। युद्ध अवधिभर जर्मन सेनाबाट जोगिने कामना गरिरहन्थिन् उनी।

दिनहुँजसो हिटलरका सेनाले हजारौं यहुदीलाई ‘ग्यास च्याम्बर’ लगेर मारिदिन्थे। कतिलाई श्रम शिविरमा राखिन्थ्यो। कतिलाई त डेथ मार्च (मृत्यु यात्रा) मा छोडिन्थ्यो।

एन हल्यान्डको राजधानी आमस्टार्डमस्थित यहुदी स्कुलमा पढ्थिन्। उनी जर्मन सेनासँग निकै भयभीत थिइन्।

Metro Mart
worldlink

उनी बसेको अति गोप्य घरमा अरु सात जना बस्थे। उनकी दिदी, आमाबुवा र छिमेकीका तीन जना (अर्मन भान, पेत्रोनेला भान र छोरा पिटर)। एक दन्त चिकित्सक अल्बर्ट डुसेलले पनि उनीहरुको गोप्य घरमा आश्रय लिएका थिए।

घरमा रेडियो राख्न प्रतिबन्ध थियो। समाचार सुन्न उनीहरूले एउटा रेडियो लुकाएर राखेका थिए। बेलामौकामा त्यही सुन्थे।

सासले बोल्नुपर्ने हुन्थ्यो। एन सानो स्वरमा बोलेर सबैलाई हँसाउने प्रयास गर्थिन्। तर उनको बोली धेरैलाई मन पर्दैनथ्यो। बकबक गरेको भनेर उनलाई सबैले गाली गर्थे।

गोप्यवास चल्दै गर्दा उनलाई परिवारबाट टाढा भएको महसुस हुन थाल्यो। भित्री कुरा सुनाउन लायक व्यक्ति भेट्न छोडिन्। परिणामस्वरूप उनको डाइरी जन्मियो– ‘डाइरी अफ योङ गर्ल।’ यो जुन, २५ १९४७ मा प्रकाशित भएको थियो।

मस्तिष्कमा बुवाआमाले जे भरिदिए, एनले त्यही सिकिन्, बुझिन् र तिनै अनुभव लिपिबद्ध गरिन् डायरीमा।

धेरैलाई लाग्न सक्छ– दुई वर्षभित्र एउटै घरभित्र त्रासमा रहेर के लेख्न सकिन्छ? एनको डायरी पढेपछि घरभित्रै बसेर धेरै कुरा गर्न सकिँदो रहेछ भन्ने बोध हुन्छ।

‘डायरी अफ अ योङ गर्ल’ एउटी किशोरीको दैनिकी हो। दोस्रो विश्वयुद्ध बेला बालबालिकाले भागेको मानसिक अवस्था यसमा अभिव्यक्त छ।

डायरीका केही अंश 

१. युद्धबाट जोगिन एनको मनमा प्रश्न उठछ– ‘कहाँ जाने? कुन सहरमा? गाउँमा? कुन घरमा? कटेजमा? कहिले? कसरी? कहाँ? यस्ता प्रश्न सोध्ने अनुमति मलाई थिएन। तर, म तिनलाई दिमागबाट हटाउन पनि सकिरहेकी थिइनँ।’ (८ जुलाई १९४२)

२. खानेकुराको अभाव भएपछि उनले ५ अगस्ट १९४३ मा लेखिन्, ‘निद्रामा परेका डुसेलको अनुहार हेरेर भन्न सकिन्छ, उनी मिठो खाना खाएको सपना देखिरहेका छन्।’

३. त्यसको भोलिपल्ट उनले डायरीमा आक्रोश पोखेकी छन्। घरका ठूला मान्छे मात्र जान्नेबुझ्ने भइटोपल्ने परम्पराको विरोध गरेकी छन्– ‘डुसेल खाना खाँदा पनि बोलिरहेका हुन्छन्। हरेक विषयमा आफ्नो विचार राख्छन्। उनले बोलेको कसैले खण्डन गर्दैन। कसैले उनको कुरामा प्रश्न उठाउने साहस गर्याे भने झनक्क रिसाउँछन्– बिरालो ङ्यार्र गरे जसरी। त्यसैले म उनीसँग तर्क गर्दिनँ। उनलाई सधैं जित्नुपर्छ। उनी संसारमा सबैभन्दा जान्ने छन्।’

४. ‘बुवाका निम्ति आलु ताछ्नु साधारण काम होइन। सीप आश्यक पर्ने उच्च स्तरको काम हो। उहाँ एकाग्र भएर आलु ताछ्नुहुन्छ। त्यसबेला म बुवाको अनुहार नै आलु जस्तो देख्छु। उहाँ असाध्यै राम्ररी आलु ताछ्नुहुन्छ।’ (१८ अगस्ट १९४३)

५. परिवारमा देखा परेको समस्याबारे उनले लेखेकी छन्– ‘यहाँ हामीबीचको सम्बन्ध झन्झन् खराब हुँदै गएको छ। खाना खाने समयमा कोही पनि मुख खोल्ने (गाँस हाल्ने बाहेक) हिम्मत देखाउँदैन। कसैले केही भन्यो भने कि त कोही रिसाइहाल्छ कि त त्यो भनाइको गलत अर्थ लगाइन्छ।’ (१३ सेम्टेम्बर १९४३)

६. घरभित्र हुर्किंदै गरेका किशोरी सबै कुरामा सबैसँग खुल्न सक्दैनन्। यस्तैमध्ये एक हो यौन जिज्ञासा। एनको शंका यस्तो छ, ‘जब यौनका कुरा आउँछ, मान्छे असहज बन्छन्। अभिभावक बाह्रतेह्र वर्षका छोराछोरीलाई यस विषयमा सबै कुरा बताउनुको साटो कुरा चल्नेबित्तिकै कोठाबाहिर लखेट्छन्। त्यसैले केटाकेटीले यौनका कुरा आफ्नै भरमा जान्नुपर्ने हुन्छ।’ बाआमा आफ्ना सन्तानले धेरथोर जानिसकेको अनुमान गर्छन्।’ (१८ मार्च १९४४)

७. सुरुमा पिटरसँग नखुलेकी ऐन पछि उनीसँग खुबै मिल्छिन्। एन मनका कुरा आमाबाबुसामु व्यक्त गर्न सक्दिनन्। किनकि उनलाई आमाबाबुप्रति विश्वास लाग्दैन। ‘पिटरसँग हामीले अभिभावकलाई विश्वास नगरेको विषयमा कुरा गर्यौं। उसले बाआमामाथि भरोसा गर्न नसकेको बतायो। मैले म कसरी ओछ्यानमा पल्टेर रुन्छु, दिदीसँग किन खुलेर कुरा गर्दिनँ आदि...सुनाएँ। उसले आमाबुबासँग रिस उठेपछि ऊ कसरी मचानमा गएर गाली गर्न भन्ने सुनायो। कल्पना गर्न सकिने जति विषय हाम्रो कुारकानीमा आए। ओहो ! ऊ त ठ्याक्कै मैले सोचेजस्तै रहेछ!’ (१० मार्च १९४४)

८. ‘१९४२ को जुलाईमा यहाँ आएदेखि मैले एक दिन पनि सुबिस्तासँग बिताउन पाइनँ। म अप्ठ्यारोमा पर्दा तपाईंहरु (परिवारलाई सम्बोधन गर्दै) ले आँखा चिम्लिनुभयो र कान थुन्नुभयो। मलाई सहयोग गर्नुभएन। बरु हल्ला नगर्न र झगडालु नबन्न चेतावनी मात्र दिनुभयो। सधैंभरि दुःखी नबनौं भनेर मात्र म झगडालु बनेकी थिएँ। झन्डै डेढ वर्षसम्म हरेक दिन मैले स्वाङ गरिरहेँ। तर यसको संकेत कहिल्यै दिइनँ। यी सारा संघर्षले मलाई सशक्त बनाएकाले अब मलाई आमाको आवश्यकता छैन।’ (५ मे १९४४)

९. ‘भोलिसम्ममा मेले ग्यालिलियो ग्यालिलीको पहिलो खण्ड पढिसक्नुपर्नेछ। यसलाई पुस्तकालयमा फिर्ता गर्नुपर्ने बेला भइसक्यो। यो हिजो मात्र सुरु गरेकी हुँ तर जसरी पनि सक्नुपर्नेछ। अर्को साता ‘प्यालेस्टाइन एट द क्रसरोड’ र ग्लालिलीको दास्रो खण्ड पढ्नुपर्नेछ। हिजो सम्राट चाल्र्स पाँचौँको जीवनीको पहिलो खण्ड पढिसिध्याएँ... साथै धेरै पोस्टर पनि मिलाउनु छ।’ (११ मे १९४४)

ऐनले दुई वर्षको गोप्यवासमा धेरै झमेला बेहोरिन्। तापनि उनले सबै काम तालिका बनाएर गरेकी छन्। पढ्ने, गफ गर्ने, सुत्ने, खाने, खेल्ने, चित्र बनाउने, पढ्ने, पोस्टर टाँस्ने, उक्काउने र फेरि टाँस्ने समय मिलाएकी छन्।

यतिबेला कोरोना महामारीले विशेष उमेर समूहमा पार्ने प्रभाव युद्धको भन्दा कम छैन। संक्रमण जोखिमका कारण धेरै मुलुकका विद्यालय बन्द छन्।

विद्यार्थी स्वतन्त्र छन्। कतिलाई स्कुल कहिले खुल्ला भन्ने चिन्ता छ। कतिपयलाई सधैं यसरी नै बस्न पाए हुन्थ्यो भन्ने पनि लागेको होला।
विश्वयुद्धको समयमा यस्तो सहज थिएन।

दोस्रो विश्वयुद्धजस्तो समय रहेन...

प्रविधिले धेरै विकास भएको विश्वमा समय परिवर्तन भएको छ। साना उमेरका मानिसले मोबाइल र कम्युटरमै समय बिताइरहेका छन्। रेडियो सुन्ने असाध्यै कम छन्।

कोरोना लकडाउनसँगै हामीले सामाजिक सञ्जालमा धेरे ध्यान दिन थाल्यौँ। त्यसमै खेल खेल्न थाल्यौँ। १०–२० हजार कमेन्ट पुर्याउन व्यस्त बन्यौँ। केटालाई केटी र केटीलाई केटाको भेष बदल्न थाल्यौँ।

फोटो कम्पिटिसन गर्न थाल्यौँ। कसैलाई जितायौं, कसैलाई हरायौं। डार्क, भाइकिङ, रामायण, गेम अफ थ्रोनजस्ता फिल्म हेरेर समय बिताउन थाल्याैं। सामाजिक काममा हाम्रो उपस्थिति हुनै छाड्यो। लकडाउन आफैंमा प्रतिकूल समय हो। तर हामीले यसलाई थप निराशाजनक बनायौँ।

सिकागो विश्वविद्यालयकी स्नायु एवम् मनोचिकित्सक स्टेफनी क्यासिओप्पो भन्छिन्, ‘अहिले तपाईं एक्लो हुनुहुन्छ र तपाईंसँग विकल्प छैन भने या दिनभरि निराश भएर बस्नुहुन्छ वा त्यसलाई उपयोगी र उत्पादनमूलक बनाउनुहुन्छ। त्यो तपाईंमै भर पर्छ।’

एकान्तवासमा रहँदा कसरी सम्हालिने?

क्यासिओप्पोको सुझाव छ, घरमै बसेर समयलाई व्यवस्थित र गुणस्तरीय बनाऔं।

एकान्तबासमा मानसिक समस्या आउन सक्छ

मानिस समाजमा रमाउन चाहन्छ। आइसोलेसन हाम्रो चाहनाविपरीत छ। विभिन्न अध्ययनअनुसार अन्टार्टिकामा जाने मानिसले एक्लोपनाका कारण निकै असहज महसुस गरेका थिए।

अमेजनमा अनुसन्धानका लागि हप्तौंसम्म एक्लै बसेका इजरायली लेखक योसी घिन्स्बर्गले एक्लोपनको सिकार भएको बताएका छन्। उनले त्यहाँ रहँदा समय बिताउन काल्पनिक साथी बनाउनुपरेको थियो। एक्लोपनले मानसिक र शारीरिक स्वास्थ्य बिगार्ने उनको अनुभव छ।

गत वर्ष अमेरिकामा गरिएको एक अध्ययनमा आइसोलेसनमा बस्दा सुत्ने–उठ्ने समयमा परिवर्तन आएको भेटिएको थियो। एक महिनासम्म अँध्यारो कोठामा बस्छु भनेर सुरु गरेका अमेरिकी पोकर खलाडी रिकार्ड अलाती २० दिनभन्दा बस्न सकेनन्।

एकान्तवासले मानव शरीर र मस्तिष्कमा गहिरो असर गर्छ

त्यसरी बस्दा हेलुसिनेसनको सिकार भएको उनले बताए। एकान्तवासमा बस्ने धेरै मानिसमा मानसिक समस्या आउँछन्। यसपछि दिमागको कार्य क्षमता, निर्णय क्षमता र भण्डारण क्षमतामा कमी हुन्छ।

कैदीमा पनि यस्ता समस्या हुन्छन्। अरु मानिससँग डराएर उनीहरुको सोच्न सक्ने क्षमतामा कमी आउँछ। यसकारण आइसोलेसन मानवविरोधी क्रियाकलाप साबित भएको छ।

१० वर्षको उमेरमै अपहरणमा परेर ८ वर्षसम्म आइसोलेसनमा राखिएकी अस्ट्रेलियन महिला नतास्चा काम्पुसले आफ्नो आत्मकथामा एकान्तमा बस्दा मानसिक अवस्था धेरै कमजोर भएको बताएकी छन्।

(एजेन्सीकाे सहयाेगमा)

पढ्नुस्ः

बालबालिकालाई उनीहरूकै स्वभावमा सिक्न दिऊँ

बन्धकमा बाल मन

अनलाइन पढाइ साना नानीका लागि हुँदै होइन

बालबालिका: महामारीको छायाले पछिसम्म सताउला ?

 

प्रकाशित: Jul 04, 2020| 08:20 शनिबार, असार २०, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।