विदेशी मुद्राको सञ्चिति अहिलेसम्मकै बढी भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको ११ महिना (जेठ) सम्ममा विदेशी मुद्राको सञ्चिति ११ अर्ब अमेरिकी डलर नाघेको छ।
आयातमा आएको कमी र रेमिट्यान्समा भएको वृद्धिदरका कारण विदेशी मुद्रा सञ्चिति बढेको हो। गत आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब रुपैयाँ बराबरको आयात भएकोमा चालू आर्थिक वर्षको ११ महिनासम्ममा जम्मा ११ खर्बको हाराहारीमा मात्र आयात भएको भन्सार विभागले जनाएको छ। गत वर्षको सोही अवधिमा १२ खर्ब ९९ अर्ब ८० करोड रुपैयाँ बराबरको आयात भएको थियो।
‘अब एक महिनामा धेरै आयात भएमा १ खर्बको हाराहारीमा मात्र होला, तर २ खर्ब १९ अर्ब रुपैयाँ बराबरको आयात गत वर्षको तुलनामा नै कमी भयो। कोभिड १९ का कारण आयातमा कमी हुँुदा विदेशी मुद्रा सञ्चिति वृद्धि भएको हो। यो अहिलेसम्मकै धेरै हो,’ नेपाल राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने।
आयातीत सम्पूर्ण सामग्रीको भुक्तानी डलरमा गरिने हँुदा यसअघि विदेशी मुद्राको सञ्चितिमा बढी चाप पर्ने गरेको थियो।
प्रवक्ता भट्टका अनुसार नेपालमा सोचेजस्तो गरी कोभिड १९ को रेमिट्यान्समा नकारात्मक असर पनि परेन। उनले भने, ‘हामीले कोभिड १९ को असर कम्तीमा १० प्रतिशत पर्ला भन्ने अनुमान गरेका थियौं। कतिपयले त ५० प्रतिशतसम्म नै असर पर्ने सम्भावना देखाएका थिए तर परिणाम उल्टो आयो।’
गएको चैतमा झन्डै ३४ अर्ब रेमिट्यान्स भित्रिएकोमा वैशाखमा ५४ अर्ब र जेठमा झन्डै ६४ अर्बको हाराहारीमा रेमिट्यान्स नेपाल भित्रिएको छ। गत आर्थिक वर्षको जेठ महिनामा झन्डै ७० अर्बको हाराहारीमा रेमिट्यान्स नेपाल भित्रिएको भट्टले जानकारी दिए।
‘गत वर्षको तुलनामा ६ अर्बको हाराहारीमा मात्र रेमिट्यान्समा कमी आएको हो। कोभिड १९ को असर रेमिट्यान्समा कम परेको छ। अब विस्तारै पहिलेको लयमा फर्किन लागेको छ,’ भट्टले भने।
विदेशी मुद्रा सञ्चिति बढ्दा शोधनान्तर स्थिति बचतमा छ। गत वर्षको जेठमा ६७ अर्ब रुपैयाँ बराबरको बजेट शोधनान्तर घाटा हुने गरेकोमा चालू आर्थिक वर्षको ११ महिनामा यो रकम १ खर्ब २१ अर्ब रुपैयाँले बचतमा छ। यो २०७३ असारपछिकै सवैभन्दा बढी शोधनान्तर बचत हो। २०७३ असारमा १ खर्ब ८९ अर्ब रुपैयाँ बराबरको शोधनान्तर घाटामा थियो।
विदेशी मुद्राको सञ्चिति बढ्दा चालू खाता पनि बचतमा भएको छ। यसले बाह्य लगानी नेपालमा भित्रनका लागि पनि सकारात्मक भूमिका खेल्ने प्रवक्ता भट्ट बताउँछन्।
‘विदेशी मुद्रा सञ्चितिको बचतसँगै नेपालको आयात गर्न सक्ने क्षमता बढ्छ। साथै विदेशी लगानीकर्तालाई पनि आफूले गरेको लगानी विदेशी मुद्रामा नै फर्काउनका लागि नेपालसँग पर्याप्त रकम रहेछ भन्ने आत्मबल बढ्छ,’ उनले भने।