बिहीबार, वैशाख १८, २०८२

युवा स्वस्फूर्त रुपमा सडकमा उत्रिँदा झस्किएको सरकार

युवा आक्रोश राजधानीमा मात्र सीमित छैन, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज लगायतका सहरमा पनि सरकारविरोधी नारा लाग्न थालेका छन्।
 |  शुक्रबार, जेठ ३०, २०७७

विनय सापकोटा

विनय सापकोटा

शुक्रबार, जेठ ३०, २०७७

काठमाडौं- कोरोना भाइरस संक्रमण नियन्त्रणमा सरकार असफल भएको, परीक्षण दायरा बढाउन नसकेको, क्वारेन्टिनमै मानिसको ज्यान जान थालेको, लकडाउनका कारण ठप्प जनजीवन सामान्य बनाउन नसकेको, मन्त्री र उच्च कर्मचारी भ्रष्टाचारमा लिप्त रहेको जस्ता विषय सञ्चारमाध्यममा आएपछि युवाहरु सरकारको विरोध गर्दै सडकमा उत्रिएका छन्।

युवा आक्रोश राजधानीमा मात्र सीमित छैन, पोखरा, विराटनगर, जनकपुर, वीरगन्ज लगायतका सहरमा पनि सरकारविरोधी नारा लाग्न थालेका छन्।

अधिकांश विरोधका कार्यक्रमको अगुवाइ कुनै संघसंस्थाले गरेको हुन्छ। कार्यक्रम सफलता र असफलताको जस मात्र होइन, परिणामको जिम्मेवार पनि तिनै संघसंस्था हुन्छन्। तर देशव्यापीजस्तै भइरहेकाे विरोधका कार्यक्रम नेतृत्वविहीन छ। स्वस्फूर्त छ। भिन्नाभिन्नै नारा छन्। सबैको हातमा सरकारविरोधी नारा लेखिएका प्लेकार्ड र राष्ट्रिय झन्डा हुन्छन्।

देशैभरि कसरी आन्दोलन सुरु भयो? युवा आफैं सडकमा उत्रिए कि उनीहरु कसैको बहकाउमा निस्किएका हुन्? लकडाउनपछि बेरोजगार भएर पो आन्दोलनमा एकत्रित भएका हुन्? सबैलाई जिज्ञासा लाग्न सक्छ।

आन्दोलनको मुद्दा पनि सरकार र प्रतिपक्षको राजनीतिक लडाइँका लागि जस्तो छैन। त्यस्ता आन्दोलनको विकल्पमा देखिएको प्रदर्शनमा युवा उर्लिएको छ। आन्दोलनले सरकार हायलकायल बनेको छ भन्ने कुरा गृह मन्त्रालयको पछिल्लो चेतावनीयुक्त विज्ञप्तिले स्पष्ट हुन्छ।

Metro Mart
worldlink

कसैले नसोचेको विरोध प्रदर्शन

सायदै कसैले सोचेको थियो होला, नेता र तिनका कार्यकर्ताबिना नै जनता स्वस्फूर्त रुपमा सडकमा उत्रिन्छन्। राजधानीमा मंगलबार त्यस्तै देखियो।

सरकारले महामारी नियन्त्रणका लागि प्रभावकारी काम गर्न नसकेको, भ्रष्टाचार बढेको, सम्भावित संक्रमितलाई पीसीआर परीक्षण नगरेको लगायतका विषयमा विरोध जनाउँदै बालुवाटारमा एउटा भीड प्रदर्शनमा उत्रियो। प्रदर्शनकारीले कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको हिसाब पनि मागे।

भीडमा कलाकार, व्यवसायी, विद्यार्थी र विभिन्न पेसाकर्मी र सर्वसाधारण थिए। प्रधानमन्त्री निवास नजिक गरेको विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि स्थिति तनावपूर्ण बन्यो।

शान्तिपूर्ण धर्नामा बसेकामाथि प्रहरीले लाठी चार्ज गर्नुका साथै पानीको फोहोरासम्म छ्यापरे भीडलाई तितरवितर बनाइदियो। प्रदर्शनकारीमध्ये केहीलाई त प्रहरीले पक्राउसमेत गर्यो।

बिहीबार पनि विरोध प्रदर्शन जारी रह्यो। ‘आँखा झिमिक्क, १० अर्ब खप्लक्क’, ‘एक दिन मर्नु नै छ कति लुट्छौ ?’ ‘इनफ इज इनफ’, ‘देश तिम्रो पनि हैन र ?’ ‘सेनिटाइज द गभमेन्ट’ लगायतका नाराका साथ युवा फेरि सडकमा देखिए। बालुवाटारबाट नक्सालतर्फ हिँडेका प्रदर्शनकारीलाई सरकारले पानीका फोहोरा अश्रुग्यास प्रहार गरी तितरबितर बनाइदियो।

काठमाडौंमा मात्र होइन सहिद चोक पोखरा, चौबीसकोटी चितवन, घण्टाघर वीरगन्ज, सिमरा चोक, धनकुटाको मदनचोक, विराटनगरको देवकोटा चोकमा र जनकपुरमा पनि सरकार विरोधी प्रदर्शन भएका छन्।

विवेकशील नेपाली दलका अध्यक्ष मिलन पाण्डेले सामाजिक सञ्जाल ट्विटरमा राखेको सूचीमा विश्वास गर्ने हो भने आन्दोलन धेरै दिन चल्ने देखिन्छ। कतिपयले जेठ ३० बाट असारको ३ गतेसम्म आन्दोलन जारी रहने उल्लेख गरेका छन्।

अध्यक्ष पाण्डे आन्दोलन पार्टीगत नभएको बताउँछन्। ‘यसमा पार्टीलाई समावेश नगराउने हाम्रो योजना छ। यो स्वस्फूर्त रुपमा आएको आन्दोलन हो। यसमा मैले व्यक्तिगत रुपमा गरको समर्थन हुँ,’ उनले नेपाल समयसँग भने।

०००

गृह मन्त्रालयले बिहीबार लकडाउनका समयमा प्रदर्शन र आन्दोलन गरे ६ महिनासम्म जेल सजाय हुन सक्ने चेतावनी दिएको छ। तर कानुनविद्हरु सरकारले यस्तो निर्णय गर्ने नैतिक अधिकार गुमाइसकेका बताउँछन्।

कानुनविद् राघेश्याम अधिकारी भन्छन्, ‘लकडाउनका नाममा नागरिकको वयैक्तिक अधिकार हनन हुन सक्दैन। सरकारले केही काम नगर्ने नागरिकलाई पालना गर भनेर मात्रै हुँदैन।’

अधिवक्ता ओमप्रकाश अर्याल कानुन कार्यान्वयनका लागि सरकारले कदम चाल्न सक्ने भए पनि त्यो मनासिव हुनुपर्ने बताउँछन्।
‘सरकारले लगाएको प्रतिबन्ध कुनै कोणबाट पुष्टि हुँदैन,’ उनी भन्छन्, ‘लकडाउनको वैधता संकटमा परिसक्यो, सरकारको प्रतिबन्ध बेमनासिब देखिन थाल्यो।’

विवेकशीलका अध्यक्ष पाण्डे भन्छन्, ‘सरकारको यस्तो निर्णयले मानिसलाई थप आक्रोश पैदा गरेको छ। सरकारले आन्दोलनको मर्म बुझेको छैन जस्तो लाग्छ मलाई।’

 

कसरी अगि बढ्यो आन्दोलन ?

सामाजिक सञ्जाल फेसबुकमा एउटा समूह छ, ‘कोभिड–१९ इनफ इज ए.इनफ।’ अहिले आन्दोलनका अधिकांश निर्णय यही ग्रुपबाट भइरहेका छन्।

सडकमा देखिने नारा पनि यही ग्रुपमा सल्लाह गरेर तय हुन्छ। ग्रुप काठमाडौंका फोटोग्राफर इसानले बनाएका हुन्। उनी लामो समयदेखि सरकारी कार्यशैलीप्रति असन्तुष्ट थिए। एक दिन सामाजिक सञ्जाल इन्स्टाग्राममा मानिसलाई सडकमा जान आह्वान गरे। धेरै मानिसले साथ दिएपछि उनले ‘कोभिड–१९ इनफ इज ए.इनफ’ ग्रुप बनाएका हुन्। ग्रुपमा अहिले एक लाख ३२ हजारभन्दा धेरै सदस्य छन्।

‘आन्दोलन भएको एक दिनपछि फेसबुक ग्रुपमा जोडिएँ। त्यसमा उठाइएका मुद्दा राम्रो लागेर म पनि आन्दोलनमा भाल लिन गएँ,’ पछिल्लो दुई दिन आन्दोलनमा सहभागी जमल अलीले भने, ‘सरकारकै ध्यानाकर्षण गराउन आन्दोलन गरिएको हो। तर सरकारले यसलाई नकारात्मक रुपमा लियो।’ आन्दोलन शान्तिपूर्ण हुनुपर्ने उनको भनाइ छ।

नेपालमा अधिकांश आन्दोलन राजनीतिकरण हुने गरेका छन्। युवा अगुवा यो आन्दोलनमा राजनीतिक घुसपैठ नहोस् भन्ने पक्षमा छन्।

चिन्ता सामाजिक दुरीको

आन्दोलनमा सामाजिक दुरी पालना नगरिएको भन्दै शशांक श्रेष्ठले फेसबुकमा दुःखेसो पोखेका छन्, ‘साथीहरु हाम्रो आन्दोलनमा के गलत भयो? आन्दोलनको भिडियो हेर्दा सामाजिक दुरी पालना गरेको देखिएन। जुन कुरा ग्रुपको नियमसँग मेल खाँदैन। हामीले पनि संक्रमणको जोखिमलाई ध्यान दिएनौं भने हामी यो सरकारभन्दा राम्रो कहाँ भयौँ र? हामीले यसरी अनुत्तरदायी हुनु हुँदैन।’
आन्दोलन जरुरी रहेको र सबैले आफ्नो स्वास्थ्यमा विशेष सजगता अपनाउनुपर्ने उनको भनाइ छ।’

शशांकको पोस्टमा कमेन्ट गर्दै सन्जु साउँद लेख्छिन्, ‘सोसियल डिस्ट्यान्सिङ मेन्टेन गर्नु पर्यो है, गाइज!’

गलत प्रचारबाजी

अहिले नेपालमा भइरहेको आन्दोलनलाई लिएर भारतीय मिडियाले गलत प्रचार गरिरहेका छन्। भारतीय मिडियाले नक्साको विरोधमा नेपालमा प्रदर्शन भइरहेको प्रचार गरेका हुन्।

आन्दोलनमा सहभागी युवा विरोधका कार्यक्रम नक्सासँग सम्बन्धित नभएको बताउँछन्। ‘भारतीय मिडियाले टीआरपीका लागि जे पनि बोल्छन् भन्ने थाहा भएकै कुरा हो। त्यसमा कुनै पनि सत्यता छैन। यो आन्दोलन नितान्त राष्ट्रिय हितमा छ’, विवेकशीलका अध्यक्ष पाण्डेले भने।

शनिबार माइतीघरमा ‘ग्रान्ड प्रोटेस्ट’

भोलि शनिबार माइतीघरमा आयोजना हुने विरोध प्रदर्शनलाई ग्रान्ड प्रोटेस्ट नाम दिइएको छ। प्रदर्शनमा पाँचवटा गीत रटेर सहभागी हुन अनुरोध गरिएको छ। गीत हुन्, गाउँगाउँबाट उठ बस्तीबस्तीबाट उठ..., हाम्रो नेपालमा... नेपाली हो (१९७४ एडी)...,रातो र चन्द्रसूर्य... र सयौँ थुँगा...।

एक जनाले सुझाव दिएका छन्, ‘मास्क नलाउने, दुरी नराख्ने र हुलदंगा गर्न आउनेलाई भने सबैले ससम्मान घर फिर्ता पठाइदिऊँ। बुद्धि लगाएर, सजक र अनुशासित रहेर विरोध गरे मात्र यसको औचित्य रहन्छ। देशको झन्डा बोकेर मैदानमा उत्रँदा सबैले झन्डाको मान राखौँ। जो चुपचाप छन् उनीहरुलाई म भन्छु, अहिले नि नबोले कहिले बोल्ने?’

प्रकाशित: Jun 12, 2020| 11:55 शुक्रबार, जेठ ३०, २०७७
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 
समाजसेवाका 'अनुराधा'हरू

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...
ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।