एजेन्सी- अमेरिकामा प्रहरीको नियन्त्रणमा रहेका अश्वेत अमेरिकी नागरिक जर्ज फ्लोयडको मृत्यु भएपछि विश्वभरका मानिसले त्यसको विरोध गरेका छन्।
रंगभेदी व्यवहारका कारण भएको भनिएको यो घटनालाई कतिपयले हत्याको संज्ञा दिएका छन्। पछिल्लो सयम बास्केटबल लगायत फुटबल खेलाडी र खेल क्षेत्रका अधिकारीले समेत उक्त घटनाको विरोध गरिरहेका छन्।
शनिवार राति भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुन्डका दुई खेलाडी जाडन सान्जे र अच्रक हाकिमीले जर्सीमा ‘जस्टिस फर जर्ज फ्लोयड’ लेखेर घटनाको विरोध गरेका थिए। यही विधिमा जर्मनी क्लब ग्लाडबाखका मार्कुस थुरामले पनि विरोध गरे।
तर क्षेत्रकै केही व्यक्तिले विवादित विषयमा बोलेको भन्दै उनीहरुमाथि कारबाहीको माग गर्दा फिफाका अध्यक्ष गियान्नी एन्फान्टिनोले भने यो काम प्रशंसनीय भएको बताएका छन्।
अहिले खेलाडीले समाजका विभेदविरुद्ध शसक्त भएर बोल्नुपर्ने भन्दै आवाज उठिरहेको छ। एन्फान्टिनोले यस्ता अवाजलाई सम्मान गुर्नुपर्ने बताएको फिफाद्वारा जारी गरिएको एक सूचनामा उल्लेख छ।
विश्व फुटबलमा खेलाडीको वाक स्वतन्त्रतालाई सम्मान गर्दै समता र समावेशीकरण अन्तर्गतको कार्यक्रम ‘किक इट आउट’ नेपालमा पनि चलाउन थालिएको छ। यो कार्यक्रमका अध्यक्ष सन्जय भण्डारीले बीबीसीसँग कुरा गर्दै अमेरिकामा भएको त्यो घटनाको घुँडा टेकेर विरोध जनाउन आह्वान गरेका छन्।
भण्डारीले यस्तो अभिव्यक्ति दिनुअघि इङ्ल्यान्डको प्रिमियर लिग लिडर लिभरपुलका खेलाडीले प्रशिक्षणलाई केही समय स्थगित गरेर मैदानमै घुँडा टेकेर विरोध गरेका थिए। लिभरपुलले फुटबल मैदानमा घुँडा टेकेर बसेका खेलाडीको फोटो अपलोड गर्दै सामाजिक सञ्जाल ट्वीटरमा ‘एकता शक्ति हो’ लेखेको थियो।
लिभरपुलको यस्तो कदको प्रशंसा गर्दै भण्डारीले अन्य खेलाडी र क्लबलाई पनि यसरी नै घुँडा टेकेर घटनाको विरोध गर्न आह्वान गरेका थिए।
त्यस्तै आज प्रशिक्षणको समयका इङ्ग्लिस क्लब चेल्सीका खेलाडीले पनि घुँडा टेकेर अमेरिकामा भएको जातिय हिंसा (रंगभेद) को विरोध गरेका छन्। मैदानमा घुँडा टेकेर बसकेको तस्बिर अपलोड गर्दै चेल्सीले लेखेको छ, ‘रंगभेद समाजबाट हट्नु पर्छ र यसका लागि हामीले सबैले आफ्नो भुमिका निर्वाह गर्नुपर्छ।’
अहिले फ्लोयडको हत्याको विषयलाई लिएर विश्वभरी नै ‘ब्ल्याक लाइभ्स म्याटर’ भन्ने ट्रेण्ड चलाइएको छ। घटनाको विरोधमा खेलाडी पाउल पोग्वा, मार्कुस रशफोर्डले पनि आफ्नो राय व्यक्त गरेका छन्।
सम्बन्धित समाचार : घटना कसरी भयो ?