सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हरिबोल गजुरेल अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकटका नेता हुन्। २५ वैशाखका लागि तोकिएको स्थायी कमिटी बैठकका अजेण्डाको तयारीमा जुटेका उनी गत शनिबारकोे सचिवालय बैठकको निर्णयलाई ‘कम्प्रोमाइज’ भन्छन्। यद्यपि, सचिवालय बैठकबाटै सबै कुरा टुंगो नलागेको उनको भनाइ छ। कोरोना भाइरसको महामारीका बेला सरकारले ल्याएका अध्यादेशसँगै पार्टीको आन्तरिक द्वन्द्व छताछुल्ल हुँदा पार्टीको साखमा धक्का पुगेको उनको बुझाइ छ। यिनै विषयमा गजुरेलसँग बीपी साहले गरेको टेलिफोन अन्तरवार्ताको अंश:
शनिबारको सचिवालय बैठकले नेकपाको आन्तरिक विवाद टुंगाइसकेको हो?
सचिवालयमा के निर्णय भयो, अहिलेसम्म हामीले पढ्न पाएका छैनौं। त्यहाँ ‘कम्प्रोमाइज’ भएको भन्ने बुझेका छौं। कोरोनाविरुद्ध लड्नु पर्ने बेलामा विवाद धेरै तन्काएर जनतालाई निरास पर्नु उपयुक्त थिएन। त्यसैले अहिले सहमति गर्नु आवश्यक थियोे। तर, सचिवालय बैठकमा निर्णय कम्प्रोमाइज भयो भन्दैमा समस्या समाधान भएको चाहिँ होइन।
त्यसो भए समाधान कसरी हुन्छ ?
सचिवालयमा एक खालको सहमति भए पनि अब ती विषयहरुमा स्थायी कमिटीमा घनिभूत छलफल हुन्छ। सचिवालयमा भएको कम्प्रोमाइजबाट सबै विवाद टुंगिएको कसैलाई लागेको छ भने, त्यसो होइन। स्थायी कमिटीमा झन् धेरै कुरा उठ्नेछन्। त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली तयार रहनु पर्छ।
त्यहाँ प्रधानमन्त्रीको राजीनामाको कुरा पनि उठ्छ?
हामीले प्रधानमन्त्रीको राजीनामा मागेका होइनौं। अरुबाट उठेको हो त्यो कुरा। त्यो जसले उठायो उहाँलाई नै थाहा होेला। तर, प्रधानमन्त्री ओलीले स्थायी कमिटीमा हाम्रो चित्त बुझाउनु पर्ने हुन्छ। होइन भने त्यहीं अरु कुरा उठछ। राजीनामाको कुरा कतैबाट उठ्दैन भन्न चाहिँ सकिंदैन।
कस्तो चित्त बुझाउने?
पार्टी नयाँ विधिमा जानु पर्छ। संविधान नयाँ जारी भयो, संरचना नयाँ भयो तर, पार्टी पुरानै संरचनामा चलेको देखियो। पार्टीको आचरण, सांगठनिक संरचनामा परिवर्तन हुनु पर्छ। अहिले आफू निकटकालाई मात्र जिम्मेवारी दिने कार्य भइरहेको छ। त्यसो नभएर क्षमताको आधारमा जिम्मेवारी दिइनु पर्छ। यस्ता कुराले पार्टी र सरकारको छबी खराब भएको छ।
प्रधानमन्त्रीले चित्त बुझाउन सक्नु भएन अथवा तपाईंहरुले भनेको जस्तो भएन भने के हुन्छ?
हामीले भनेको जस्तो भयो भने एकता अगाडि बढ्छ होइन भने अर्को बहस सुरु हुन्छ। अहिलेको विवादमा पार्टी विभाजनका कुरा वा पूर्वएमाले र पूर्वमाओवादी जसरी देखिएको थियो त्यसलाई राम्रैसँग हल गर्नु पर्छ।
यो विवाद बाहिर आउँदा एकता भइ नसकेको प्रष्ट देखियो। कमीकमजोरी पनि देखियो। यसबाट पाठ सिक्नु पर्छ। यी कुराहरुमाथि छलफल हुँदा पार्टी एक स्टेप अगाडि बढेको छ। नेतृत्वले यो कुरा बुझेरै अगाडि बढ्नु पर्छ। होइन भने परिणाम राम्रो हुँदैन भन्ने तपाईले पनि अनुमान लगाउनु सक्नु हुन्छ।
नेकपाको विवाद मिलाउन बाह्य दबाब आएको चर्चा पनि सुनियो नि ?
नेकपाको विवादमा यस्तो विषय जोडिनु सामान्य हो। छिमेकी वा अन्य शक्तिको कुराभन्दा पनि पार्टीको आन्तरिक पक्ष नै मुख्य हो। आन्तरिक कुरा मिल्यो भने भू–राजनीतिले पनि केही गर्न सक्दैन। छिमेकी देशमा अस्थिरता नहोस् भनेर सबैले चाहन्छन्। त्यही चाहेको हो।
अन्तिममा, स्थायी कमिटीका लागि तपाईहरुको तयारी कस्तो छ?
अबको स्थायी कमिटी बैठकका लागि प्रचण्ड कमरेडले प्रस्ताव तयार पार्दै हुनुहुन्छ। त्यस प्रस्तावमाथि छलफल हुनेछ।
प्रस्तावमा मुख्य कुरा के हुन्छ?
मिलेर जाने कुरा आउँछ। पार्टीको निर्देशनमा सरकार चलाउनु पर्यो। पार्टी नयाँ ढंगबाट चल्नु पर्यो। यिनै विषय आउने छन्। होइन भने विवादले अर्को रुप लिन सक्छ।