काठमाडौं– कोरोना (कोभिड–१९) संक्रमणका कारण ठूला अर्थतन्त्र भएका थुप्रै मुलुकमा आर्थिक मन्दीको संकेत देखिएकोे छ। तेल उत्पादक अन्य देश र रुसबीच उत्पादन घटाउने विषयमा सहमति नबन्दा विश्वबजारमा तेलको भाउ पनि घटेको छ।
विश्व बजारमा कच्चा तेलको मूल्यमा ३२ प्रतिशतले गिरावट आएको छ। ३ मार्चमा प्रति ब्यारेल ५३ अमेरिकी डलर रहेको कच्चा तेलको मूल्य ९ मार्चमा प्रति ब्यारेल ३६ डलरमा झर्यो।
यसको ठिक उल्टो डलर र सुनको भाउ उकालो चढेको छ।
कोरोना संक्रमणसँगै आर्थिक क्रियाकलापमा आएकोे मन्दी, विश्व हवाई यातायातमा आएको गिरावट लगायतका कारणले पनि अहिले विश्व बजारमा तेलकोे माग कम भएको छ।
माग कम भए पनि उत्पादन भने यथावत् छ। तेलको मूल्यमा आएको गिरावटले नेपाली बजारलाई भने राहत मिल्नेछ।
स्वचालित मूल्य प्रणाली लागू गरेको नेपाल आयल निगमले हरेक १५ दिनमा अन्तर्राष्ट्रिय बजारअनुसार मूल्य समायोजन गर्दै आएकाले सम्भवतः १५ मार्चमा पेट्रोलियम पदार्थको मूल्य घटाउनेछ।
सेयर बजारमा पहिरो
नेपालमा मात्रै होइन, विश्वभर सेयरबजार घटेको छ। सोमबार अमेरिका, स्पेन, रसिया, क्यानडा लगायतका देशको सेयर बजार ओरालो लाग्यो।
नेसनल स्टक एक्सचेन्ज अफ इन्डिया (एनएसई) मंगलबार ४.९ अंकले ओरालो लाग्यो। एनएसई पछिल्लो एक हप्ताको हरेक कारोबार दिनमा लगातार ओरालो लागिरहेको छ।
भारतीय सेयर बजार मापक बम्बे स्टक एक्सचेन्ज (बीएससी) को कारोबार सोमबार दुई हजार ४६७ अंकले घटेको थियो। यो हालसम्मकै सर्वाधिक गिरावट भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
अर्थविद् केशव आचार्यका अनुसार कोरोना संक्रमणले अर्थतन्त्रमा पार्न सक्ने प्रभावलाई हेरेर लगानीकर्ताहरू पर्ख र हेरको स्थितिमा छन्। उनीहरूले सेयरमा लगानी बढाएका छैनन्। त्यसैले सेयर बजारमा असर परेको हो।
“कुनै पनि देशको लगानीको वातावरण राम्रो छ र त्यहाँका कम्पनीले नाफा कमाउने पक्का छ भने लगानीकर्ता त्यस्ता देशमा आउँछन् तर नोक्सान हुने देखेमा लगानी फिर्ता लैजान्छन्”, अर्थविद् केशव आचार्य भन्छन् ।
आचार्यका अनुसार आर्थिक संकट आउने देखेपछि लगानीकर्ताहरु आफूसँग भएको सेयर नगदमा कन्भर्ट गर्न थाल्छन्। उनीहरू आफूसँग नगद हुँदा मात्र सुरक्षित महसुस गर्छन्।
यद्यपि अरु बेला विश्वबजारसँग खासै सरोकार नराख्ने नेपालको सेयर बजारमा यसपटक कोेरोनाको प्रभाव देखिनु संयोग मात्रै हुनसक्छ। उसो त, अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको पदावधि सकिँदै गर्दा बढेको सेयर बजार उनी अर्थमन्त्रीमा पुनर्नियुक्त भएपछि घट्दै गएको देखिन्छ।
मंगलबार बजार खुल्नेबित्तिकै तीव्र गतिमा ओरालो लाग्न थालेको सेयर कारोबारमा १ बजेर १८ मिनेट जाँदासम्म दुई पटक नकारात्मक सर्किट ब्रेक लागिसकेको थियो। ६ प्रतिशतभन्दा बढीले गिरावट आएपछि निर्धारित समयभन्दा डेढ घण्टा अगावै कारोबार बन्द भयो।
सुनको रेकर्ड
सुनलाई विश्व बजारमा सबैभन्दा सुरक्षित लगानीका रूपमा लिइन्छ। सुनको लगानी खेर जाँदैन भन्ने लगानीकर्ताको विश्वास छ। त्यसैले लगानीकर्ताहरू सुनमा आकर्षित भएका छन्।
एक सातामा अन्तर्राष्ट्रिय बजारमा सुन प्रति औंस १८ डलरले बढेको छ। १ मार्चमा सुनको मूल्य प्रति औंस १६४५ थियो। ९ मार्चमा बढेर १६६३ डलर प्रति औंस पुग्यो।
नेपाली बजारमा भने एक सातामा सुन चार हजार ७०० रुपैयाँले बढ्यो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १९ फागुनमा ७८ हजार रहेको प्रतितोला सुनको मूल्य २७ फागुनमा ८२ हजार ७०० पुग्यो।
नेपालमा सुनमा लगानी गर्नेको संख्या धेरै नभए पनि व्यक्तिगत प्रयोगकर्तालाई यसले प्रत्यक्ष प्रभाव पारेको छ।
अहिलेको जस्तै सन् १९८० को विश्व आर्थिक मन्दी र सन् २००८ मा युरोपको आर्थिक मन्दीका बेला पनि लगानीकर्ता सुनतर्फ आकर्षित भएका थिए।
डलर पनि बढ्यो
डलरको भाउ पनि बलियो हुँदै गएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्थतन्त्र आफ्नै गतिमा हिँड्नपर्ने भएकाले कोरोनाबाट त्रसित नहुन लगानीकर्तालाई आग्रह गरेका छन्।
अमेरिकाले गरेका सुरक्षात्मक उपाय र त्यहाँको मजबुत संरचनाका कारण कोरोना संंक्रमणले अर्थतन्त्रमा ठूलो प्रभाव पर्दैन भन्नेमा लगानीकर्ता ढुक्क छन्।
त्यसैले लगानीकर्ता अन्य मुद्रालाई डलरमा साटेर राख्न थालेका छन्। यसले अमेरिकी डलरको भाउ बढाएको छ।
भारतीय रुपैयाँसँग नेपाली रुपैयाँको सटही दर स्थिर छ। यसकारण भारतीय अर्थतन्त्रमा देखिने उतारचढावले नेपालमा स्वाभाविक प्रभाव पर्छ।
भारतमा कोरोना संक्रमण देखिन थालेको छ भने पाँचाैँ ठूलो बैंक एस बैंकमा देखिएको समस्याले पनि बजार ओरालो लागेको छ।
यसले गर्दा विदेशी लगानीकर्ताले धमाधम लगानी फिर्ता लिन थालेका छन्। विदेशी लगानी फिर्ता जाँदा डलरमा भुक्तानी हुन्छ। यसले पनि डलरको भाउ बढाएको छ।
भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीको अर्थनीतिका कारण पनि बजार ओरालो लागेको बताइन्छ।