काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणले नेपालको अर्थतन्त्रमा पनि नकारात्मक असर देखिन थालेको छ। चार वर्षअघि भारतले नाकाबन्दी लगाएपछि बढेको चीनतर्फको व्यापारमा पछिल्लो महिना ह्रास आएको सम्बद्ध व्यवसायीहरुले बताएका छन्।
नेपालले चीन जाने आफ्ना सबै नाका बन्द गरेको छ भने गएको जनवरी दोस्रो सातादेखि चीन आवतजावतमा समेत रोक लगाइएको छ। नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवाल व्यापारीहरुले चीनको विकल्प खोज्न थालेको बताउँछन्।
अर्थविद् केशवप्रसाद आचार्य चिनियाँ सामग्रीको आयात लामै समय रोकिए तेस्रो मुलुकका महँगा सामान भित्रिने र त्यसले मूल्यवृद्धिमा चाप पर्ने बताउँछन्।
“एकातिर मूल्यवृद्धि र अर्कोतर्फ निर्यात ठप्प हुँदा व्यापारीहरुले नयाँ गन्तव्य खोज्नु जरुरी हुन्छ, जसका कारण नेपालको अर्थतन्त्रमा शिथिलता आउन सक्छ,” आचार्यले भने।
चीनबाट नेपालमा आल्मुनियम, ब्याग, क्यामरा, केमिकल, केमिकल फर्टिलाइजर, कस्मेटिक सामग्री, ब्याट्री, बिजुलीका सामग्रीहरु, मेडिकल इक्विपमेन्ट, पाइप तथा पाइप फिटिङका सामान आयात हुने गरेको छ ।
नेपालबाट चीनतर्फ भने अगरबत्ती, एलुमिनम, कपर, हस्तकलाका सामग्री, चाउचाउ, पश्मिना, रेडिमेट गार्मेन्ट, छालाका सामग्री, चिया, तरकारी, गहुँलगायत सामग्रीको निर्यात हुने गरेको छ।
चीनसँगको आयात–निर्यात लामै समय ठप्प भए नेपालको आर्थिक वृद्धिमा नै धक्का पुग्ने जानकारहरु बताउँछन् ।
“आयात–निर्यात नभएपछि आर्थिक गतिविधि कम हुन्छ । हामीलाई चाहिने सामान बढी मूल्य तिरेर ल्याउनुपर्छ, जसले गर्दा सर्वसाधारणले आफ्नो बचत बढाउन सक्दैनन्। बचत नबढ्ने हो भने बैंक तथा वित्तीय संस्थामा निक्षेपको समस्या हुन्छ,” आचार्य भन्छन्, “निक्षेप नभएपछि बैंकहरुले कर्जा दिन र लगानी गर्न सक्दैनन्। यसको असर पूर्वाधार निर्माण तथा औद्योगिक उत्पादनमा पर्न जान्छ।”
मूल्यवृद्धिका कारण कामदारको ज्यालाको डिमान्ड बढ्छ भने निक्षेप कम हुँदा कर्जाको ब्याज महँगो हुन जान्छ। त्यसका कारण उद्योगधन्दाको उत्पादन लागत बढ्छ। यसप्रकारको आर्थिक चक्रका कारण समग्र अर्थतन्त्रमा नै नकारात्मक असर पर्ने अर्थविद् बताउँछन्।
कोरोनाका कारण चीनको आर्थिक वृद्धि २ प्रतिशतमात्र हुने प्रक्षेपण विश्व बैंकले गरेको छ। त्यसको असर नेपालमा पनि केही हदसम्म पर्ने जानकारहरु बताउँछन्। कोरोनाको प्रभाव नेपालको अर्थतन्त्रमा एकदेखि दुई प्रतिशतको हाराहारीमा पर्नसक्ने विज्ञहरुको अनुमान छ।
व्यवसायी अग्रवालका अनुसार चीनसँगको व्यापार दसैं, तिहारजस्ता ठूला चाडपर्वमा बढी हुन्छ । त्यसैले अहिले नै ठूलो असर देखिइसकेको छैन ।
“चीनबाट नेपालमा आउने सामाग्रीमा विलासिताका सामानको हिस्सा धेरै छ। दसैं र तिहारमा मात्र चीनसँग कुल व्यापारको ५० प्रतिशत आयात हुन्छ। अहिले कम आयात हुने समय नै हो,” व्यवसायी अग्रवालले भने। कोरोनाको असर धेरै समयसम्म रहे चीनसँगको व्यापारमा दिर्घकालीन असर पर्ने उनी बताउँछन्।
कोेरोना प्रभावकै कारण चिनियाँ पर्यटकको आगमन ठप्प भएपछि नेपाल भ्रमण वर्ष– २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा धक्का पुग्ने निश्चित जस्तै छ।
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ६ महिनामा नेपालबाट चीनतर्फ एक अर्ब १ करोड ६० लाख रुपैयाँको सामान निर्यात भएको छ। यो गत आवको सोही अवधिको तुलनामा ८.५ प्रतिशत कम हो। त्यस्तै नेपालमा चीनबाट हुने आयात १२.१ प्रतिशतले बढेर १ खर्ब १८ अर्ब २५ करोड २० लाख रुपैयाँ पुगेको छ।