काठमाडौं– बुधबार (हिजो) अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले सञ्चारकर्मीहरुमाझ भने– विश्व अर्थतन्त्रमै चुनौती देखिएको छ अहिले । विश्वका कुनै पनि अर्थमन्त्री गहिरो निद्रामा सुत्न सकिरहेका छैनन् ।
बजेटको अर्धवार्षिक समीक्षा कार्यक्रममा उनले थपे, ‘अहिलेको अवस्थामा विश्वको कुनचाहिँ अर्थमन्त्री गहिरोसँग निदाउन सकेको होला र ?’ अर्थमन्त्री पद निकै चुनौतीपूर्ण रहेको भन्दै उनले आफ्नो बचाउ समेत गरे।
बैठकमा अर्थमन्त्रीले चालू आर्थिक वर्षको बजेट र राजस्वको आकार घटाइएको जानकारी गराएका थिए। बजेटको आकार घट्नु भनेको सरकारको खर्च गर्ने क्षमता कमजोर हुनु हो। पुस मसान्तसम्म पूँजीगत खर्च कुल विनियोजनको १५.३८ प्रतिशतमात्रै छ। विकास परियोजनाले गति लिन सकेका छैनन्। मध्यावधि समीक्षामा अर्थमन्त्रीले अर्थतन्त्रका धेरै सूचक राम्रा भए पनि केही भने निकै चुनौतीपूर्ण रहेको स्वीकारेका थिए ।
त्यसो त अर्थमन्त्र िखतिवडाले भनेजस्तै पछिल्लो समय विश्व अर्थ व्यवस्थामै चुनौतीहरु नदेखिएका होइनन्। एकातिर अधिकांश देशमा कथित राष्ट्रियताको एजेन्डा सशक्त हुँदै गएको छ भने अर्कोतिर प्रविधिका कारण विश्व एउटा गाउँजस्तो भएको छ। वैश्विकरणको प्रभावका कारण अन्तरदेशीय कारोबार बिना विश्व अर्थतन्त्र चल्न नसक्ने भएको छ। कुनै एउटा देश वा क्षेत्रमा भएका आर्थिक गतिविधिको प्रभाव चाँडै अर्को देशमा परिहाल्छ ।
यद्यपि, अमेरिका आफूलाई विश्वकै ठूलो अर्थतन्त्रको रुपमा कायमै राख्ने दौडमा छ भने बेलायत छुट्टै अस्तित्वका साथ अगाडि बढ्ने भन्दै युरोपियन यूनियनबाट अलग्गिएको छ। नम्बर एक बन्ने होडबाजीमा रहेको चीनको अर्थतन्त्रमा कोरोना भाइरसको प्रभाव देखिन थालिसकेको छ।
यस्तो अवस्थामा ती देशका अर्थमन्त्रीहरु कति चिन्तित होलान् ? हाम्रा अर्थमन्त्रीले त्यतैतिर संकेत गरेको हुनुपर्छ । किनभने मुलुकको अर्थतन्त्रमा भएको परिवर्तनको जस–अपजस सबैभन्दा पहिले अर्थमन्त्रीले नै बोक्नुपर्छ।
अमेरिका र चीनबीच व्यापार घाटा बढ्दै गर्दा अमेरिकी अर्थमन्त्री स्टेभन मुचिनको चिन्ता अवश्य पनि बढेको छ। अमेरिकामा बढ्दो बेरोजगारी पनि मुचिनको टाउको दुखाइको विषय भएको छ।
छिमेकी भारतमा पनि अर्थतन्त्र ओरालो लागेको छ। गत सात महिनामा मात्र भारतको सेयर बजारबाट ४ खर्ब ५० करोड डलरबराबरको सेयर बिक्री गरी लगानीकर्ताहरु बाहिरिएका छन्। ३ ट्रिलियन डलरको भारतीय अर्थतन्त्रलाई सन् २०२४ सम्ममा ५ ट्रिलियन डलर र २०३० सम्ममा १० ट्रिलियन डलरको बनाउने सरकारको लक्ष्य अनुसार भारतीय अर्थतन्त्रको रथ अगाडि बढ्न सकेको छैन।
बेरोजगारी दर ४५ वर्षयताकै उच्च स्तरमा पुगेको छ भारतमा । बैंकिङ प्रणाली खराब ऋण अनुपातबाट प्रभावित छ। यस्तो अवस्थामा भारतकी अर्थमन्त्री निर्मला सीतारमणलाई पनि निद्रा पर्दैन होला !
किन बिथोलियो निद्रा ?
हाम्रा अर्थमन्त्रीको निद्रा बिथोल्ने कारण भने बाह्यभन्दा बढी आन्तरिक नै हो। नेपालको पूँजीगत खर्च अहिले चार वर्षयताकै कम छ । ठूला आयोजनाहरुको प्रगति २० प्रतिशत नाघ्न सकेको छैन। आयातमा आएको कमीका कारण भन्सार राजस्व न्यून हुँदै गएको छ। अन्तःशुल्कमा समेत कमी आएको छ।
आर्थिक गतिविधि कम हुँदा, विकास–निर्माणका काम नहुँदा अर्थमन्त्री आफैंले बजेटको मध्यावधि समीक्षा मार्फत् राजस्वको लक्ष्य घटाउनु परेको छ।
राजस्वको लक्ष्य, वैदेशिक ऋण र अनुदानको लक्ष्य घटाउनुको एकमात्र कारण हो– पूँजीगत खर्च कम हुनु ।
कर्जाका लागि प्रावधान कसिलो बनाउँदा निजी क्षेत्रमा निराशा बढेको छ । बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह कम भएको छ । निक्षेप पनि बढ्न सकेको छैन। अझ दुई वर्षअघि भएको एमसीसी सम्झौतालाई अहिले आएर गिजोलिँदै छ। एमसीसीलाई संसदले अनुमोदन नगरे पश्चिमा मुलुकहरुको लगानी घट्ने सम्भावनासमेत छ।
अर्थविद् केशव आचार्य अर्थमन्त्रीले निद्रा बिथोल्नु भन्दा आफ्नै सरकार र पार्टीलाई देशको अर्थतन्त्रबारे राम्रोसँग बुझाउनु जरुरी रहेको टिप्पणी गर्छन् ।
अर्थतन्त्रका अर्का जानकार डिल्लीराज खनाल पनि आन्तरिक समस्या सामाधानका लागि निजी क्षेत्रअनुकूल नीति–नियम निर्माण गर्ने, कर्जा प्रवाहमा खुकुलोपन ल्याउने, पुँजीगत खर्च बढाउनका लागि विभिन्न मन्त्रालय र मातहतका निकायलाई घचघच्याउने, नेपालमा आएको ऋण वा अनुदानको सही सदुपयोग गर्नेजस्ता कामका लागि सरकारलाई दबाब दिनु जरुरी रहेकोमा जोड दिन्छन्।
उनी भन्छन्, ‘यस्ता काम अर्थमन्त्री एक्लैले गर्न नसके पनि अर्थतन्त्रको ड्राइभर भएकाले समन्वय गर्ने काम उहाँकै हो। सरकार र मातहतका निकायको काम गर्ने प्रणालीसँग अर्थमन्त्रीले हार खाएजस्तो छ।’
बजेट कार्यान्वयनमै समस्या रहेको खनालको टिप्पणी छ। प्रधानमन्त्रीले पनि सरकारको कामको रफ्तार बढाउन नसकेको उनले बताए।
‘राजनीतिक क्षेत्रबाट नआएको हुँदा पनि अर्थमन्त्रीलाई कार्यसञ्चालन र समन्वयका काममा कठिनाइ उत्पन्न भएको हुनसक्छ। उल्लेखित समस्या समाधानका लागि आफ्नो नेतृत्व क्षमता देखाउन सक्ने हो भने अर्थमन्त्रीलाई गहिरो निद्रामा निदाउने वातावरण बन्न सक्छ,’ उनले थपे।