चीनको वुहान सहरबाट फैलिएको नोवल कोरोना भाइरस संक्रमणबाट अहिलेसम्म झन्डै ५०० को मृत्यु भइसकेको छ। २५ मुलुकका २४ हजार ५०० मानिसमा यो भाइरस संक्रमण भएको छ। भाइरस संक्रमण रोकथामका लागि चीनले कस्तो कदम चाल्दैछ? नेपालमा संक्रमण फैलन नदिन कस्तो उपाय अवलम्बन गरिँदै छ ? आदि विषयमा नेपालस्थित चिनियाँ राजदूत होउ यान्छीको धारणा :
चीनमा कोरोना भाइरस संक्रमणको पछिल्लो अवस्था कस्तो छ?
अहिलेसम्म २४ मुलुकका २० हजारभन्दा धेरै मानिसलाई कोरोना भाइरस संक्रमणको पुष्टि भइसकेको छ। चीनको वुहानमा त यसले महामारीको रूप लिएको छ।
अचानकै महामारी फैलाएको यो नयाँ भाइरसबारे थप पत्ता लगाउन त्यति सजिलो थिएन। त्यस्तै भाइरसर संक्रमणको सामना, रोकथाम र बिरामीको उपचारका लागि उपचार सामग्री र उपकरणको पर्याप्तता पनि सहज भएन।
चीनमा कोरोना भाइरसको महामारी नयाँ वर्षको आसपासमा फैलियो। नयाँ वर्षको बिदामा ३ बिलियन यात्रीले यात्रा गर्ने अनुमान थियो। यात्रीहरूको आवागमनले महामारी रोक्न र नियन्त्रण गर्न थप कठिनाइ सामना गर्नुपर्यो।
निदान र रोकथामका लागि कस्तो काम भइरहेको छ?
चीन सरकार सधैं जनताको सुरक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राख्छ।
महामारीको रोकथाम र नियन्त्रणका लागि विभिन्न उपाय अवलम्बन गरेका छौं। महामारी प्रभावित क्षेत्रलाई वर्गीकरण गर्ने, ३१ प्रान्तमा जनस्वास्थ्यका लागि आपत्कालीन सजगता अपनाउने जस्ता काम भएका छन्।
संक्रमित नागरिकलाई विशेष प्राथमिकता दिएर उपचार भइरहेको छ। अहिले हुबेई प्रान्तमा मात्रै १५ लाख मेडिकल सुरक्षात्मक सुट र हजारौं संख्यामा मास्क पठाइसकेका छौं।
वुहानमा १० दिनको बीचमा एक हजार बेडको अस्पताल तयार भएको छ। थप तीनवटा मोबाइल अस्पताल निर्माण हुँदै छन्। नयाँ अस्पतालमा उपचारका पर्याप्त उपकरण, सघन उपचार कक्ष र जनरल वार्ड छन्।
हुबेईमा ७० समूहमा आठ हजार स्वास्थ्यकर्मी खटिएका छन्। त्यस्तै स्वास्थ्यकर्मीको टोलीलाई थप सहयोग गर्न जनमुक्ति सेना पनि खटिएको छ।
वुहान र अन्य क्षेत्रहरूमा ट्राफिक नियन्त्रणमा राखेका छौं। ठूलो संख्यामा मानिसलाई सार्वजनिक स्थलमा भेला हुन रोक लगाएका छौं।
यातायातका स्टेसनमा मानिसको शरीरको तापक्रम परीक्षण गरिरहेका छौं। हामीले चीनका सबै नागरिकलाई सकेसम्म घरबाटै कमै मात्रामा बाहिर जान र गइहाल्नुपरेमा अनिवार्य रूपमा मास्क लगाउन आग्रह गरेका छौं।
अन्य देशमा भाइरस संक्रमण हुन नदिन पर्यटकहरुको भ्रमण रद्द गरिएको छ।
हामीले महामारीविरुद्धको पहिलो पंक्तिमा अधिकारीहरूलाई सक्रिय रुपमा समुदायमा परिचालन गरेका छौं। हरेक वस्तीका नागरिकहरुले दैनिक रूपमा दर्ता र शरीरको तापमान परीक्षण गर्न थालिएको छ।
चीनले नोवेल कोरोना भाइरसको सफलतापूर्वक पहिचान गरेको छ र यसका सबै ‘जेनेटिक सिक्वेन्सिङ’ बारे विश्व स्वास्थ्य संगठनलाई जानकारी गराइसकेको छ।
हामीले अहिले वैज्ञानिक अनुसन्धानका साथै यो भाइरस संक्रमण रोक्न क्लिनिकल परीक्षणको थालनी गरेका छौं। संक्रमित नागरिकको उपचारबारेको जानकारी सार्वजनिक गरिएको छ।
विश्व स्वास्थ्य संगठनको अन्तर्राष्ट्रिय स्वास्थ्य नियमन सुझावको सीमामा रहेर उपचारका उपाय अवलम्बन गरिरहेका छौं।
उपचारका लागि अपनाइएका उपायहरूले सकारात्मक परिणाम दिइरहेका छन्।
संक्रमण दर बढ्ने क्रम कम हुँदै गएको छ भने संदिग्ध घटनामा कमी आउन थालेका छन्। निको भएका बिरामीको दर पनि बढिरहेको छ।
कोरोना भाइरसविरुद्ध लडिरहेको चीनलाई केही देशले सहयोग गरेका छन्। कतैबाट नकारात्मक टिप्पणी भएको पनि छ नि, हैन ?
कोरोना भाइरस सार्स, इबोला, एचआईएनआई र जिका भाइरस जस्तै हो। जनस्वास्थ्यका लागि आपत्कालीन यो अवस्था अन्तर्राष्ट्रिय सरोकारको विषय हो। चीनसहित संक्रमित सबै मुलुकहरू पीडित छन्।
महामारीको प्रकोपपछि चीनले विश्व स्वास्थ्य संगठन र अन्य अन्तर्राष्ट्रिय समुदायसँग सहयोग खुला राख्यो।
यसमा महामारीको प्रकोपलाई पारदर्शी र जिम्मेवार ढंगले सूचित गर्ने, भ्रमण रद्द गर्ने र भन्सारमा क्वारेन्टाइन परीक्षण अभिवृद्धि गर्ने लगायतका सन्दर्भ छन्।
विश्व स्वास्थ्य संगठनका महानिर्देशकले चीन सरकारले महामारीविरुद्ध अवलम्बन गरेको उपाय र क्षमताको सराहना गर्नुभएको छ।
अधिकांश देशले कोरोना भाइरसविरुद्ध लड्न चीनले गरेको प्रयासको प्रशंसा गरेका छन्। मानवीय भावनामा उत्प्रेरित भएर धेरै देश र अन्तर्राष्ट्रिय निकायले सहयोग गरेका छन्।
जापान, पाकिस्तान, युनिसेफले महामारी रोकथाम र नियन्त्रणका लागि सहयोग गरेका छन्। अन्य केही अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र सहयोगी समूहले पनि सहयोगको हात बढाएका छन्।
महामारीको संक्रमण नहोस् भनेर केही देशहरूले सीमा प्रवेशमा कडाइ गरेका छन्, क्वारेन्टाइन थप प्रभावकारी बनाएका छन्।
त्यो कुरालाई हामी सम्मान गर्छौं तर केही देशले विश्व स्वास्थ्य संगठनको सल्लाह र मापदण्डलाई नै ‘काउन्टर’ दिने गरी व्यक्त गरेका गरेका अनुपयुक्त बढाइचढाइँप्रति हामी खेद व्यक्त गर्दछौं।
केहीले महामारीलाई राजनीतिकरण गरेका छन्। यो चीनमाथि एक प्रकारको हमला जस्तै हो। उनीहरूको यस्तो काम मानवतावादी सिद्धान्त विपरीत छ।
गैरजिम्मेवारीपूर्ण अफवाह फैलाएर एक खालको आतंक मच्चाउने काम भएको छ, जसले महामारीको रोकथाम र नियन्त्रणमा असर गरेको छ।
यद्यपि, विश्वका धेरै मुलुकको साथ र सहयोगमा हामी कठिनाइसँग जुध्न, महामारी नियन्त्रण गर्न र अन्तर्राष्ट्रिय रूपमा सार्वजनिक स्वास्थ्यमा सुधार गर्न हामी सफल हुनेछौं।
महामारी रोकथाम र नियन्त्रणमा चीन र नेपालबीच कस्तो सहकार्य भएको छ?
चीनमा कोरोना भाइरसको महामारी फैलनेबित्तिकै नेपालस्थित चिनियाँ राजदूतावासले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा, परारष्ट्र मन्त्रालय र नेपालका अन्य सरोकारवाला निकायलाई जानकारी गरायो।
हामीले ती निकायसँग महामारीको अवस्था, रोकथाम र नियन्त्रणका उपायबारे पनि जानकारी गरायौं। हामी विश्व स्वास्थ्य संगठनका नेपाल निर्देशकसँग पनि निकट सम्पर्कमा छौं।
दूतावासले नेपालका विभिन्न निकायसँग सूचना साझा गर्न, महामारीको रोकथाम र नियन्त्रणका लागि संयुक्त कार्य समूह गठन गर्न केही कर्मचारीलाई जिम्मा दिएको छ।
नेपालमा कोरोना भाइरस परीक्षण गर्दा एकजनामा मात्र देखिएको र उपचारपछि घर फर्किएको सुन्दा म निकै खुसी छु।
महामारीको संक्रमण रोक्न चीन सरकार जिम्मेवार ढंगमा प्रस्तुत भयो। चिनियाँ ट्राभल एजेन्सीहरूलाई जनवरी २६ देखि विदेश भ्रमण रोक्न पनि चीन सरकारले निर्देशन दियो।
महामारी रोकथाम र नियन्त्रणका लागि रसुवागढी र तातोपानी नाकामा विशेष निगरानी राखिएको छ। यात्रु घटेका कारण दुई देशबीच उडान गर्ने केही विमान कम्पनीले हवाई उडान रद्द गरेका छन्।
यद्यपि, दुई देशबीच आवागमनमा आएको कमीले व्यापार–व्यवसायमा पनि केही प्रभाव त पार्छ नै । तर, यि अस्थायी समस्या हुन्।
मलाई विश्वास छ( चाँडै महामारी नियन्त्रणमा आउनेछ र दुवै देश बीचको आवागमन र व्यापार(व्यवसाय फेरि सुरु हुनेछ।
वुहानमा रहेका नेपालीको अवस्था अहिले कस्तो छ ?
चीन सरकारले चीनमा रहेका विदेशी नागरिकलाई कोरोना भाइरस संक्रमण नहोस् भनेर निकै महत्त्व दिएको छ।
अहिलेसम्म चीनमा रहेका नेपालीमा कोरोना भाइरस संक्रमण भएको फेला परेको छैन।
चीनको विदेश मन्त्रालयका अधिकारीहरू र नेपाली दूतावासका अधिकारीहरू निरन्तर सम्पर्कमा छन्। उनीहरूले वुहानमा रहेका नेपाली विद्यार्थीका समस्या समाधानका लागि विभिन्न प्रयत्नहरु गरिरहेका छन्।
हुबेई प्रान्तका पराराष्ट्र अधिकारी, वुहान नगरपालिका र नेपाली विद्यार्थी अध्ययनरत विश्वविद्यालयले पनि उनीहरूको बसाई सहज बनाउन, उनीहरूलाई खाद्यान्न लगायत अन्य अत्यावश्यक सामग्री उपलब्ध गराउने काम गरिरहेका छन्।
महामारी रोकथाम र नियन्त्रणको काम भइरहँदा व्यक्तिको दैनिकीमा प्रभाव पर्नु स्वाभाविक हो।
नेपालका केही सञ्चारमाध्यममा केही नेपाली चीनमा अड्किएको समाचार सार्वजनिक भयो।
मेरो जानकारीअनुसार विमानस्थलमा परीक्षण गर्दा उनीहरूको शरीरको तापक्रम सामान्यभन्दा केही बढी रहेको पाइएपछि स्वास्थ्य र सुरक्षाका कारणले उनीहरूको भ्रमण स्थगित भएको होे।
आफ्नो र अरूको स्वास्थ्य रक्षा गर्ने यो एउटा उपायका साथै अन्तर्राष्ट्रिय अभ्यास पनि हो।
चीनमा कोरोना भाइरस संक्रमण भएपछि राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ नेताहरूलाई पत्र पठाएर महामारी रोकथामका लागि चीनले गरेको प्रयासको सराहना गर्नुभएको छ।
नेपालका अधिकांश सञ्चारमाध्यमले महामारी रोकथामका लागि चीन सरकारका प्रयासहरुको वस्तुगत, तर्कसंगत र सकारात्मक सन्देश प्रवाह गरिरहेका छन्। यसले के पुष्टि हुन्छ भने महामारीविरुद्धको लडाइँमा चीनलाई नेपालले पूर्ण समर्थन र विश्वास गरेको छ।