काठमाडौं– मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति नन्दबहादुर सिंहले केही अराजक विद्यार्थी र प्राध्यापकका कारण विश्वविद्यालयमा समस्या उत्पन्न भएको बताएका छन्। उनले अराजक विद्यार्थीले अनलाइन परीक्षा सञ्चालन गर्नुपर्ने, विश्वविद्यालयले कारबाही गरेका शैक्षिक अपराध गर्ने उपप्राध्यापकमाथि कारबाही फिर्ता गर्नुपर्ने लगायतका माग राखेर आफूमाथि भौतिक आक्रमण गरेकाले त्यस्ता क्रियाकलापलाई निरुत्साहित गर्न पहल गर्ने बताए।
‘विश्वविद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्छु भन्दा ममाथि नै आक्रमण भएको छ। अराजकता भित्रिएको छ। शिक्षामा केही व्यक्तिको स्वार्थका कारण राजनीतिकरण भएको छ। विद्यार्थीको जायज माग पूरा गर्न विश्वविद्यालय तयार छ।’ उपकुलपति सिंहले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किने भएकाले अनलाइन माध्यमबाट परीक्षा नलिएको र आफूले भौतिक पूर्वाधार निर्माणसँगै नयाँ विषय थप गरेर अध्ययनअध्यापन प्रभावकारी बनाइन लागेको बताए।
उपकुलपति सिंहले विश्वविद्यालयको शैक्षिक गुणस्तर खस्किने भएकाले अनलाइन माध्यमबाट परीक्षा नलिएको र आफूले भौतिक पूर्वाधार निर्माणसँगै नयाँ विषय थप गरेर अध्ययनअध्यापन प्रभावकारी बनाइन लागेको बताए।
उनले आफूले समस्या समाधान गर्न उच्चस्तरीय समिति गठन गरेको र त्यसमार्फत विद्यार्थीसँग वार्ता गरेर समस्या समाधान गर्न तयार भएको बताए। उनले आफूविरुद्ध केही व्यक्तिले बनाएको नक्कली अडियोको स्पष्टीकरण दिन आफूले विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री शेरबहादुर देउवालाई यस विषयमा जानकारी गराइने बताए। उनले भने, ‘म विश्वविद्यालयको गुणस्तर वृद्धि गरेरै छाड्छु।'
उनी पछिल्लो समय व्यवस्थित रुपमा अनलाइन परीक्षा सञ्चालन गरेरै भए पनि विद्यार्थीसँग वार्ता गरेर समस्या समाधान गर्ने र परीक्षाका कार्यक्रम अगाडि बढाउने पक्षमा देखिएका छन्। उपकुलपतिको मृत्युका विषयमा भ्रामक विज्ञप्तिदेखि कुलपतिको विषयलाई लिएर भएका अडियो प्रकरणसम्म बाहिर आएका छन्।