बुधबार, वैशाख १७, २०८२

गद्दार, निष्कासन र आममाफीमा रुमल्लिएको ओली उत्तेजना

 |  आइतबार, साउन १०, २०७८

शान्तिकृष्ण अधिकारी

शान्तिकृष्ण अधिकारी

आइतबार, साउन १०, २०७८

केपी ओलीबाट गद्दार घोषणा गरिएका माधव नेपाल पुनः एमालेमै फर्केलान्? अपराधीको संज्ञा दिइएका खनाल–नेपाल समूहका नेताकार्यकर्ता एमालेमा सहर्ष फर्किएर राजनीति गर्ने वातावरण निर्माण हुन सक्ला? शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन भोट दिने अनुशासनहीनको पगरी गुथाइएका एमालेका सांसदहरु र तिनका समर्थक फेरि पनि केपी ओलीलाई नै अध्यक्ष मानेर उनकै मातहतमा क्रियाशील हुँदै जनताका माझमा जाने र निर्वाचनमा होमिने अवस्था आउन सक्ला? अहिले नेकपा एमालेको संगठन र राजनीति यिनै प्रश्नको भुमरीमा रुमल्लिएको छ। 

केपी ओलीले प्रधानमन्त्री पद र प्रधानमन्त्री बस्ने सरकारी निवास बालुवाटार छाड्दै गर्दा आयोजित पत्रकार सम्मेलनमा एमालेको आफूसँग असहमत समूह नेपाल–खनालहरुलाई अनुशासनहीनको बिल्ला भिराएका थिए। नन्दीभृंगी चरित्रका कार्यकर्ताहरुको घेरामा हौसिएर बालुवाटारबाट बालकोट पुगेका ओलीले आफ्नै कौसीबाट वरिष्ठ नेता माधव नेपाललाई गद्दार घोषणा गरेका थिए। ओलीले घोषणै गरे कि अब माधव नेपाल समूहका अन्यले आत्मालोचना गरे एमालेमा फर्कन पाउँछन्, नेपाललाई कुनै ठाउँ छैन जबकि ओलीलाई ‘ओली’ बनाउन विगतमा माधव नेपालले अन्य कतिपय नेताहरुको चित्त दुखाएका थिए।

कसैकसैले माधव नेपाल विभीषण हुन् कि सुग्रीव भनेर पनि प्रश्न गर्छन्। चाहे विभीषण हुन् वा सुग्रीव जे भए पनि पौराणिक इतिहासमा यी दुवैको नाम सुनौला अक्षरले लेखिएका छन्। भित्री कुरा नबुझेर या हिन्दु पौराणिक मान्यतालाई ध्वस्त बनाउने निहित स्वार्थ बोकेकाहरुले यी दुई पात्रको चरित्र वर्णन गर्दा कुलघाती ठहर्‍याए पनि उनीहरुले निर्वाह गरेका भूमिकाका कारण परिणाम लोकको हितमा निस्किएको थियो। विभीषणका कारण उनका दाइ रावणको अन्त्य भएको होइन कि एउटा तानाशाह, खराब प्रवृत्ति र दुराचारको अन्त्य भएको थियो। यिनीहरुले असल उद्देश्य बोकेर पारिवारिक विद्रोह गरेका थिए त्यसैले अद्यापि सबैको स्मरणमा छन्।

एमालेको आन्तरिक र गुह्य राजनीतिमा प्रवेश नगरी बाहिर देखिएका प्रसंग अध्ययन गर्दा माधव नेपालहरुले पनि केपी ओलीलाई धेरैपटक सुधार्न खोजेको देखिन्छ।

आफ्ना दाजु रावणलाई बारम्बार नसम्झाएका होइनन् विभीषणले। अर्काकी पत्नी हरण गर्नु महापाप हो र अझ त्यसमाथि सीता रामकी अर्धांिगनी हुन्, तत्काल प्रायश्चित्त गर्दै रामको शरणमा जानु नै राक्षस कुलका लागि हितकर छ भन्दै पटकपटक सुझाए। राजसभाबाट निकाल्दासमेत आफ्नो सुख, सुविधा र ज्यानको पर्वाह नगरी सत्यको पक्षमा बोली रहे विभीषण। अन्त्यमा रावणले नै निकाला गरेपछि रामको शरणमा गएका थिए। त्यसैगरी सुग्रीव पनि आफ्ना दाइले आफ्नी पत्नी हरण गर्नुका साथै दरबारबाट निकालिदिएपछि दाजुको विरुद्धमा विद्रोह गर्न बाध्य भएका थिए।

ठ्याक्कै त्यस्तै एमालेको आन्तरिक र गुह्य राजनीतिमा प्रवेश नगरी बाहिर देखिएका प्रसंग अध्ययन गर्दा माधव नेपालहरुले पनि केपी ओलीलाई धेरैपटक सुधार्न खोजेको देखिन्छ। सत्ताको उन्मादमा ओलीले प्रतिनिधिसभा विघटन गरे, माधव नेपालहरुले सम्झाई नै रहे। सर्वोच्च अदालतले पुनःस्थापना गरिदियो तर ओलीको उत्तेजना घटेन। खनाल–नेपालहरुलाई पार्टीमा स्थान दिएनन् र फेरि राष्ट्रपतिका आडमा अर्को विध्वंस मच्चाए प्रतिनिधिसभा विघटन गरेर। फेरि पनि नेपालहरु कराइरहे यो कदम फिर्ता लेऊ भनेर। उल्टै दोषी नेपालहरुलाई नै देखाइरहे ओलीले। कारबाहीको धम्की दिइरहे। पार्टीबाट निष्कासन गर्ने उद्घोष गरिरहे।

Metro Mart
worldlink
केही सीप नलागेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर भए पनि संसद् जोगाउने, संविधान बचाउने र लोकतन्त्रको रक्षा गर्ने निर्णयमा झलनाथ खनाल, माधव नेपाल र यिनीहरुका समर्थक पुगेको देखिन्छ। यसैमा कम्युनिस्टहरुको आन्दोलन र आफ्नो अस्तित्व पनि जोगिन्छ भन्ने उनीहरुको ठम्याइ रहेको पाइन्छ।

खनाल–नेपाल समूहको अडान रहिरह्यो– प्रतिनिधिसभा भंग गर्नु हुँदैन। उनीहरुले भनिरहे– लोकतन्त्रको रक्षा गर्नैपर्दछ। यो समूह लडिरह्यो– ओलीको संविधान च्यातच्युत पारेर अनन्तकालसम्म राज गर्ने र निरंकुश शासनसत्तामा अधिनायकवाद लाद्ने प्रयत्नका विरुद्ध। केही सीप नलागेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाएर भए पनि संसद् जोगाउने, संविधान बचाउने र लोकतन्त्रको रक्षा गर्ने निर्णयमा झलनाथ खनाल, माधव नेपाल र यिनीहरुका समर्थक पुगेको देखिन्छ। यसैमा कम्युनिस्टहरुको आन्दोलन र आफ्नो अस्तित्व पनि जोगिन्छ भन्ने उनीहरुको ठम्याइ रहेको पाइन्छ।

यसमा गद्दार को हो? अनुशासनहीन को हो? अपराधी को हो? भन्ने जस्ता प्रश्नहरुको उत्तर समयले दिने नै छ। केपी ओली राष्ट्रका लागि घातक हुन् कि माधव नेपालहरु भन्ने कुरा आमनागरिकले पर्गेलिसकेका छन्। एमालेलाई यो दुर्गतिमा पु¥याउन मुख्य भूमिका खेल्ने ओलीहरु हुन् कि नेपालहरु भन्ने सन्दर्भमा उचित निष्कर्ष एमालेका नेताकार्यकर्ताले निकालिसकेका छन्। खाली स्वार्थका लागि पछाडि दौडेकाहरुको हूलले छरेको भ्रमका कारण मात्र केही अन्योल देखिएको हो। यो अन्योल अरुलाई त होइन ओली समर्थकमा मात्र हो। 

एमालेको यो राजनीति अद्यापि प्रहसन वा नाटकका रुपमा जनतासामु प्रदर्शन भइरहेको अनुभूति हुँदैछ। आज एउटा धारणा र भोलि अर्कै विचार होइन कि विवादित दुई गुटहरुले निर्णय घण्टाघण्टामा परिवर्तित हुने गरेका छन्। नेपाल–खनाल पक्षधरको एकमात्र अडान त वर्तमान अध्यक्ष केपी ओलीको बहिर्गमन छ र सबै छलफल त्यसैमा केन्द्रित भएको पाइन्छ यद्यपि आन्तरिक चाहना पूर्णतः मुक्ति नभए पनि ओलीलाई गलाउनु मात्रै हो। एमालेको वर्तमान संरचनामा शक्तिशाली मानिएको गुट ओलीतर्फका निर्णय, विचार र धारणा तत्कालमा फेरिएका कारण भने एमालेको भावी दिशा के हुने भन्ने कसैले पनि अनुमान लगाउन सकेको छैन।

आज गद्दार घोषित गरिन्छ। भोलिपल्ट केन्द्रीय समितिको बैठकले चौबीस घण्टे पुर्जी काट्छ। पर्सिपल्टको बैठकमा आत्मालोचनासहित पुर्जीको जवाफ नबुझाए पार्टीबाट निष्कासन गरिने फर्मान जारी हुन्छ। पर्सिपल्टको बैठक बस्न पाएकै हुँदैन, एकाएक अध्यक्षले कुनै कार्यक्रममा भाषण गर्दिन्छन्– मैले आममाफी दिएँ, पार्टीमा आउनुस् जब कि केन्द्रीय समितिको निर्णयबमोजिमको जवाफ आउनु त कहाँ छ कहाँ आरोपितहरुले त्यो पुर्जीसम्म प्राप्त गर्न भ्याएका हुँदैनन्। अर्थात् पार्टीभित्र केन्द्रीय समिति, स्थायी समिति, पोलिटब्युरो जस्ता संरचना देखाउन मात्रै हुन्, सर्वाधिकार सम्पन्न अध्यक्ष नै हुन् भन्ने पुष्टि हुन्छ। यसमा कसैको असहमति रहेको सुनिँदैन। कुनै समारोहमा एमालेकै नेता कृष्णगोपाल श्रेष्ठले ओली इज ओली भनेका थिए, त्यही नै रहेछ भन्ने साबित हुन्छ।

आममाफी पनि कस्तो दिइएको छ भने खनाल–नेपालहरुले आफूले गरेको गल्तीमा आत्मालोचना गरेर गल्ती स्वीकार गर्दै पार्टीमा फर्कनुपर्ने। ओली समूहको कुनै दोष नभएझैँ ओलीहरुले कुनै पश्चात्ताप गर्नु नपर्ने। दुईदुई पटक गरिएको प्रतिनिधिसभा विघटनलाई पनि सही ठह¥याउँदै अध्यक्षका सबै कदमलाई स्वीकार गर्नुपर्ने। सर्वोच्च अदालतका निर्णयलाई गलत मान्दै अध्यक्ष ओली र राष्ट्रपति कार्यालयका सबै असंवैधानिक कदमलाई संवैधानिक मानेर नेपाल समूह मौन बस्नुपर्ने। अर्थात् घरको मूलढोकामा भोटे कुकुर र गोमन सर्प राखेर पाहुनालाई खाना खान आमन्त्रण गरे जस्तै।

त्मस्वाभिमान भएका सर्वसाधारणको कुरा भए त जो कसैले सहजै ठोकुवा गर्न सक्थे– एमाले फुट्यो। यी दुई समूहका बीचमा एकताको कुनै गुञ्जायस छैन भनेर सबैले ठान्थे। एकता पनि कसरी होओस्– एकले अर्कोलाई भन्न हुने–नहुने सबैथोक भनेका छन् र आरोप लगाउन मिल्ने शब्दकोशमा भएका तल्ला स्तरका कुनै पनि शब्द बाँकी छैनन्। पछिल्ला घटनाक्रममा माधव नेपाल भने तुलनात्मक रुपमा सन्तुलित देखिएका छन् र वरिष्ठ नेता जसले प्रधानमन्त्रीका कुर्सीमा बसेर मुलुक सञ्चालन गरिसकेको छ, उसले बोल्नै नहुने शब्द प्रयोग गरेका छैनन्। ओलीका शब्दवाण त अरुले पनि पचाउन अप्ठेरो पर्ने खालका पाइएका छन् भने नेपाल–खनालले कसरी पचाउलान् हेर्न बाँकी छ।

माधव नेपालहरुलाई नेकपा एमालेको माया औधी रहेको देखिन्छ। घरमा भोटे ताल्चा ठोकेर बाहिर निकालिसके पनि भित्र छिर्ने उपायको खोजी गरिरहेको जस्तो देखिन्छ यो समूह। ओली समूह भने पुसको जाडोमा घरमा आगो लगाएर जाडो फाल्न उद्यत छ। नेपाल–खनाल समूह एमालेभित्र प्रवेश गर्न खोज्यो भने घरै डढेलो लगाएर भए पनि उनीहरुलाई बाहिरै राखेर पिसाबको न्यानोमा रमाउने ध्याउन्नमा ओली समूह रहेका विश्लेषण हुन थालेको छ।

होइन भने भविष्यका सबै ढोका बन्द हुने गरी माधव नेपाललाई गद्दार किन घोषणा गरेका अध्यक्ष केपी ओलीले? त्यसमा हो मा हो मिलाउँदै ओलीभन्दा पनि दुई कदम अघि बढेर उनको असली हनुमान भएको साबित गर्न खोज्नेहरुले आफूभन्दा वरिष्ठ नेता नेपाललाई त्यसरी गाली गर्ने हिम्मत कसरी राख्न सकेका? तुलनात्मक रुपमा असल मानिएका सुवास नेम्बाङ र प्रदीप ज्ञवालीहरुसमेतले अर्थ न बर्थका कुरा गरी आफ्नै नेतृत्व गरेर मुलुकमा एउटा छवि निर्माण गरिसकेका नेताहरुलाई त्यस प्रकारको व्यवहार किन गर्थे? यी सबै कुराले एमालेको मिलन असम्भवप्रायः देखिएको छ तर राजनीतिमा असम्भव केही पनि हुँदैन भन्ने कम्युनिस्टहरुका पटकपटकका वाणीले भने एमालेको एकतामा अझै पूर्णविराम लागिसकेको छैन कि पनि भन्न सकिन्छ।

नेपालले जवाफ फर्काइसकेका छन्– महाराजाधिराजबाट आममाफी भयो, हामी हर्षले गद्गद् भयौं। यसैबाट बुझ्न सकिन्छ कि एमालेको मिलन त्यति सहज छैन जति विगतमा भन्ने गरिन्थ्यो र देखिएको थियो। कम्युनिस्टहरुले आलोचना र आत्मालोचनालाई सहज ठान्छन् भन्ने गरिए तापनि त्यो हद पार गरिसकेको छ। 

बाहिरी नजरले हेर्दा पार्टी फुटाएको दोष ओली र नेपाल समूह दुवैले लिन नचाहेका हुन् अन्यथा यी दुवै समूह एकअर्कासँग मिलेर बस्न एकरति पनि इच्छुक छैनन् भन्ने यिनीहरुका आनीबानी र व्यवहारले पुष्टि गरिसकेका छन्। ओलीले आममाफी दिएँ भन्नेबित्तिकै नेपालले जवाफ फर्काइसकेका छन्– महाराजाधिराजबाट आममाफी भयो, हामी हर्षले गद्गद् भयौं। यसैबाट बुझ्न सकिन्छ कि एमालेको मिलन त्यति सहज छैन जति विगतमा भन्ने गरिन्थ्यो र देखिएको थियो। कम्युनिस्टहरुले आलोचना र आत्मालोचनालाई सहज ठान्छन् भन्ने गरिए तापनि त्यो हद पार गरिसकेको छ। 

नेता नेपालले नभनून् पनि किन? कहिले अपराधी भने ओलीले त कहिले अनुशासनहीन भनेर नेपाल समूहलाई आरोप लगाए। नेपालहरु भने आफूहरुले जहिले पनि पार्टीलाई विधि, विधान र अनुशासनमा चलाउनुपर्छ भन्ने मान्यता राख्दै आएको र त्यसमा अध्यक्ष ओली सहमत नभएपछि विद्रोह गर्न बाध्य भएको बताउँदै आएका छन्। नेकपा एमाले कुन विधि, विधान र पद्धति अनुशरण गर्न चाहन्छ, त्यो सर्वसाधारणका लागि त्यति धेरै चासो नभए पनि सत्तारुढ दलले आन्तरिक किचलोका कारण देश र जनतालाई डुबाउँदै लगेपछि भने आमनागरिक मौन बस्न नसक्ने रहेछन्। त्यसैले नेकपा एमालेकै आन्तरिक विषय भए पनि यसको प्रभाव राष्ट्रिय रूपमै पर्ने भएका कारण प्रश्न उठाइने रहेछ।

प्रकाशित: Jul 25, 2021| 23:52 आइतबार, साउन १०, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...