बुधबार, वैशाख १७, २०८२

आलुको सुरुवा र समाजवादका पेडा पसल

माओवादीको नैतिक र राजनैतिक क्षयीकरणसँगै समाजमा स्थापित हुनै लागेका मूल्य, मान्यता र आदर्श माटोमा मिल्ने क्रम झन् बढ्यो। अहिलेका समाजवाद र समाजवादीहरूको चिन्तन, शिक्षण र गन्तव्य हेर्दा लाग्छ– अबको समाजवादमा प्रश्न बन्देज छ र हरेक खालका समाजवादमा पुग्नेहरुका लागि फरक फरक गाडी तयार भएका छन्।
 |  शनिबार, भदौ ५, २०७८

पदम गौतम

पदम गौतम

शनिबार, भदौ ५, २०७८

अहिलेसम्म प्राविधिक रूपमा नेकपा एमालेमा रहेका नेता घनश्याम भुसालले उहिले कार्यकर्तालाई धारिलो बनाउन दिने गरेको एउटा उदाहरणबाट सन्दर्भ शुरु गर्छु। त्यसअघि पाठकलाई यो टिप्पणीमा भुसाललाई उडाएको या चाकडी गरेको अर्थमा नलिई यथार्थका रुपमा मात्र लिन आग्रह गर्छु। यो आग्रह किन पनि म गर्दैछु भने मलाई भुसाल या उनको पार्टीका तीनवटै खेमासँग केही लिनु छैन। र, परदेशमा बसेर एउटा पूर्वपत्रकारका हिसाबले कहिलेकाहिँ देखेका, लागेका कुरा लेख्ने बाहेक मेरो अन्य उद्देश्य छैन। 

भुसालले उहिले करिब तीस वर्षअघि एउटा गजबको कथा सुनाएका थिए। चुट्किला शैलीको त्यो कथा हँसाउने मात्र नभएर गम्भीर पनि भएका कारण मेरो मनमा गढेर बसेको थियो, छ। उनको कथामा एउटा गरिब पात्र ससुराली जान्छ र त्यहाँ उसले पहिलो पटक सुरुवा खान्छ। धीत मर्नेगरी सुरुवा खाएर फर्किएपछि उसले घरमा श्रीमतीलाई पनि सुरुवा बनाउन लगाउँछ। जोरजाम गर्दा सुरुवाका लागि अपुग, थोरै मासुको जोहो हुन्छ। उसकी श्रीमतीले काम चलाउनका लागि आधा जति आलु मिसाएर सुरुवा बनाउँछिन्।

ससुरालीकै जस्तो धीत मर्ने खालको नभए पनि काम चलाउ मीठै स्वादको बनेको रहेछ। त्यो सुरुवा पनि मिठै मानेर खाएपछि हरेक दिन त्यो पात्रले श्रीमतीलाई सुरुवा मात्रै बनाउन निर्देशन दिएछ, मासुको जोहो बिना नै। श्रीमतीले के गरुन् ? जे छ, त्यही बनाउनुको विकल्प उनीसँग थिएन पनि। उनले श्रीमानका लागि अब हरेक दिन आलुमा झोल हालेर आलुकै ‘सुरुवा’बनाउन थालिन्। अब त्यस घरको परिभाषा अनुसार आलुको झोल नै सुरुवा बन्न पुग्यो। त्यही घरका कारण त्यस गाउँमा आलुको झोललाई सुरुवा भन्न थालियो। हरेक तरकारीका झोल र गुन्द्रुकको झोललाई पनि सुरुवाको दर्जा दिन थालियो। यसरी मासुको स्वाद दिने सुरुवा हेर्दाहेर्दै गरिबीका कारण तिहुनको झोल बन्नपुग्यो।

मुलुकमा अहिले कतिवटा कम्युनिष्ट र कतिवटा वाममार्गी विचारधाराका पार्टी अस्तित्वमा छन्, खोज्नैपर्ने हुन्छ। तर, अधिकांश वामपन्थी या गैरवामपन्थी पार्टीको पनि नारा र उद्देश्यमा समाजवाद शब्द परेकै हुन्छ। लाग्छ, समाजवाद नेपाली माटोमा हिमालदेखि मधेशसम्म फल्ने मौलिक उत्पादन हो र आम जनताले वर्षौंदेखि चाहेको व्यवस्था पनि यही हो। सबै कम्युनिष्ट पार्टी स्वतः समाजवादी, नेपाली कांग्रेस समाजवादी, वैकल्पिक धारका साना पार्टीको विचारधारा समाजवादी, पूर्व कम्युनिष्टहरुका हरेक पार्टी समाजवादी र नेपाली कांग्रेसबाट उछिट्टिएका नेताहरुका पार्टी पनि समाजवादी। तर, व्यावहारिकरुपमा चाहिँ देशबाट समाजवाद र समाजवादी चिन्तन झन्झन् दूर हुँदै गएको देखिन्छ। एकपटक कवि दाइ विमल निभाले हामी प्रतिपक्ष साप्ताहिकमा काम गर्दाताका गफैगफमा व्यंग्य गर्दै भनेका थिए– सबैले समाजवाद ल्याएर देश बनाउने भन्दा पनि देश बन्दैन, यो देश नै उस्तो। सम्झेर ल्याउँदा यो ठट्टा मिसिएको व्यङ्ग्य पो सत्य हो कि जस्तो लाग्ने। 

फेरि घनश्याम दाइकै उखानमा जाऊँ। उनले नेपालमा समाजवादको प्रयोको सन्दर्भ जोड्दै भनेका थिए– समाजवाद पनि त्यो गरिब गाउँ र घरको सुरुवा जस्तै भएको छ। गरिबको घरमा हरेक झोल सुरुवा बनेजस्तै बेइमान र पाखण्डी नेताहरुको व्याख्यामा हरेक समाजविरोधी कदम समाजवादको परिभाषामा पर्न थालेका छन्। परिणाम चाहिँ उही, नेपाली समाजवादको अवस्था तीन दशकअघिको त्यो व्याख्याभन्दा अहिले पनि फरक अवस्थामा छैन। दश वर्ष जनयुद्धले केही राजनीतिक चेतना र बर्तमान संविधानको आधार बनायो होला तर समाजवादी चिन्तनको प्रयोग भने नेपाली भूमिबाट झन् टाढा हुँदै गएको देखिन्छ। माओवादी नेताहरुको व्यवहार र धसिँदै गएको उसको साख दुबै कारण यसमा जिम्मेवार देखिन्छन्।

Metro Mart
worldlink

माओवादीको नैतिक र राजनैतिक क्षयीकरणसँगै समाजमा स्थापित हुनै लागेका मूल्य, मान्यता र आदर्श माटोमा मिल्ने क्रम झन् बढ्यो। अहिलेका समाजवाद र समाजवादीहरूको चिन्तन, शिक्षण र गन्तव्य हेर्दा लाग्छ– अबको समाजवादमा प्रश्न बन्देज छ र हरेक खालका समाजवादमा पुग्नेहरुका लागि फरक फरक गाडी तयार भएका छन्। समाज समाजवादकै नाममा नराम्ररी विभाजित छ। बौद्धिक भनिएको पठित वर्गले हरेक पटक साधारण जनतालाई कम महत्त्वका प्रश्नमा केन्द्रित गराइरहेको छ। मिडियाको प्रभाव बढे पनि तिनको क्षमता जनताले देख्न पाएका छैनन्। तसर्थ आमजनता मूलधारको मिडिया हेर्दैनन्, पढ्दैनन्। तिनले पत्याउने र हेर्ने सामग्री अर्कै र सनसनीखेज छन्।

विगतमा संविधानसभाको छेउछाउमा नै सुडान घोटाला किन भयो? राजनीतिक नेतृत्वले त्यसबाट कसरी उन्मुक्ति पायो? संविधान निर्माणपछि संसदीय र स्थानीय चुनावकै समयमा वाइडबडी घोटाला किन भयो? किन नयाँ व्यवस्थाको स्वामित्व लिने शक्तिहरुले पहिलाको विकृत संसदीय व्यवस्था भन्दा अहिलेको व्यवस्था बढी महँगो बनाए? किन राजा हटाएर धर्मनिरपेक्ष देश बनेको डेढ दशकमै राजनीतिको नसा नबुझेका पूर्व पत्रकारले जनमत संग्रहको माग गर्दा व्यवस्था नै धरापमा परे सरी राजनीतिक दल र मिडिया खनिए? किन यही व्यवस्थाले पदमा बसाएका केपी ओली र विद्या भण्डारीसँग व्यवस्थाका समर्थकहरु डराएर राज्यका अन्य अंगसँग हारगुहार गर्दै पुग्नुपर्ने अवस्था आयो?

यी धेरै प्रश्नमा यसो घोत्लिएर हेर्दा कुरो आउँछ उही सुरुवाका नाममा कुकिएको आलुको झोल बेच्ने नेतृत्व र त्यसको स्वादमा महिमागान गाउने युवाहरु। अनि यहीँनेर निरन्तर अभियानमा चुकेका बुद्धिजीवीहरु हरेकपटक आ–आफ्नो आग्रहसहित व्याख्या गर्न तल्लीन हुन्छन्। खान पाएका या नपाएका आधारमा विभाजित पुरानो पुस्ताले आफूजस्तै चिन्तन हस्तान्तरण गर्दै अर्को पुस्ता पनि आफ्नै मार्गमा हिँड्ने बनाइरहेको छ। र, यी सबै कर्ममा समाजवादकै नाम बेचिएको छ। नयाँ दोकानहरु पनि समाजवादकै नाममा खुलिरहेका छन्, पेडा पसलकै शैलीमा।

मैले सन् २०१५ को फेब्रुअरीमा यतै युरोपमा एक जना विचित्रका युवा भेटेको थिएँ। उनी भनिरहेका थिए– मैले बिपी कोइरालालाई चुनावमा सघाएको छु, उनले मलाई मोटरसाइकलमा एक महिना तेल हाल्न पुग्ने पैसा दिए। बुझ्नेहरु हाँसिरहेका थिए, नबुझ्नेहरु विश्वासका साथ अँ, अँ भन्दै टाउको हल्लाइरहेका थिए। मैले नाम बिर्सेको भन्ठानेर सच्याउने मनसायले भनेँ,‘भाइले भनेको गिरिजा या सुशील कोइराला हुनुपर्छ। बिपि कोइराला त म पनि सानै छँदा बितेका।’

नेविसंघको जिल्ला नेतृत्त्वमा काम गरिसकेको त्यो भाइको जवाफले नेपाली समाजवादी राजनीतिको स्तर बताउँथ्यो। उसले मतिर हेरेर प्रश्न तेर्स्यायो, ‘नेपालमा कोइराला पनि राजाजस्तै दुईतीनटा थियो र ?’ म उठेर हिँडेँ, स्वर्गीय गोविन्द वर्तमानले एउटा साहित्यिक कार्यक्रममा गोपालप्रसाद रिमालको नाम नसुन्ने रिपोर्टरलाई कठालो समातेर निकालेको घटना दिमागमा खेलाउँदै।

अहिले कांग्रेस या कम्युनिष्ट या वाममार्गी पार्टीका विभिन्न तहका नेताको प्रशिक्षण र तिनका कार्यकर्ताको व्यवहार देख्दा मलाई यिनै घटनाको याद हुन्छ। अझ करिब दुई तिहाइको सरकार चलाउने केपी ओली र उनका पक्षधरहरुले त मैले यता भेटेको भाइलाई पनि बिर्साइदिने काम गरे। 

जब बिपी कोइरालाको दर्शन त के, सामान्य चिन्तन पनि थाहा नभएकाहरु कांग्रेसका अगुवा कार्यकर्ता हुन्छन् र मदन भण्डारी भनेको विद्या भण्डारीको श्रीमानका रुपमा चिन्ने राजनीतिक कार्यकर्ता बहुमतमा पुग्छन्, त्यसबेला पुष्पलाल र गणेशमान सिंहको सादा जीवन इतिहासको पनि कुनामा थन्किँदो रहेछ। भीमबहादुर तामाङ भन्दा खुमबहादुर र जोशीहरु पूजनीय हुन्छन् अनि टङ्क कार्की र महेश बस्नेतको मूल्य एउटै तराजुमा राखेर तय गरिन्छ। राजनीतिको एउटा विश्वव्यापी अनुभवले के देखाएको छ भने, कुनै पनि देशको एउटा ठूलो शक्ति या प्रमुख हिस्सा जति प्रष्ट छ, अन्य शक्तिहरु पनि उसको मार्गमा धेरथोर हिँडेकै हुन्छन्। र, प्रमुख शक्ति या तिनका बहुसंख्यक कार्यकर्ताको पंक्ति गलत छ भने त्यसको अशर अन्य राजनीतिक दल र आम जनतामा परेकै हुन्छ।

हाम्रै इतिहासका बिगत या निकट बिगतका घटनाले पनि यही पुष्टि गरेका छन्। अब अहिले त क्या गजबको बिडम्बना हाम्रा सामु छ भने राजनीतिक जीवनको चार दशक वैचारिक बहश र पार्टीको आन्तरिक संघर्षको भाष्य बनाउँदै बिताएका उनै घनश्याम भुसालहरु केपी ओलीको जुठोपुरो खसेर खाने आशामा छन्। उनी वर्तमानमा जे भए पनि बिगतमा समाजवादका व्याख्याता नै हुन्। प्रदीप गिरीहरुले दोस्रो पुस्ता तयार गरेनन्, घनश्यामहरु दलाल पुँजीवादको व्याख्या गर्दागर्दै आफैं आफ्ना व्याख्यामा आउने खलपात्र बन्न पुगे। विगतमा महाकाली सन्धीको अपराधबाट चोखिने अवसर पाएका माधवकुमार नेपालले नयाँ समाजवादी पार्टीको बिँडो थाम्न नसक्ने देखिएको छ।

उनकै पक्षधरहरुका खुट्टा लुला भएको अवस्थामा समाजवादको अर्को एउटा दोकान या शुरुको कथाको जस्तो अर्को झोल तरकारी नबिक्ने सम्भावना बढी देखिएको छ। तर, यो जान्दा जान्दै पनि एक्ली युवा रामकुमारीले समग्र पुस्ताका सचेत मान्छेको प्रतिनिधित्व गरेकी छन्। थोरै हुनु या कमजोर हुनु नै सही, उनको अहिलेको जत्तिको अडान राजनीतिमा लाग्ने हरेक युवामा भैदिए समाजवादका उपभोक्ताले अलिकति मासु पनि मिसिएको आलुको सुरुवा चाख्न पाउने थिए कि ?

(पूर्व पत्रकार तथा लेखक गौतमलाई https://twitter.com/G_Padam मा भेट्न सकिन्छ। 

प्रकाशित: Aug 21, 2021| 06:41 शनिबार, भदौ ५, २०७८
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

सहकारीमा सुशासन र स्वनियमन

सहकारीमा सुशासन र स्वनियमन

सहकारीलाई व्यवस्थित, मर्यादित र प्रभावकारी रुपमा सञ्चालन गराउनेतर्फ सबै उत्तिकै जिम्मेवार हुन जरुरी छ। भविष्यमा पनि यस्ता समस्या दोहोरिन नदिन सरकार, सहकारी र निजी क्षेत्रले...
पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

पुँजीवादको चास्नीमा डुबेर दुब्लाएको माओवादी

माओवादी नेतामा विकसित व्यक्तिवादी मनोविज्ञानले उनीहरूलाई गणेश बनाएको छ। उनीहरू गाउँमा गएर कार्यकर्ता तथा जनतासँग घुलमिल गर्नु भन्दा पनि प्रचण्डलाई महादेव मानेर परिक्रमा लगाउन तल्लिन...
उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

उग्र राष्ट्रवादले 'फ्रिज' बनेको नेपाल-भारत सम्बन्ध र प्रचण्ड सरकारको कार्यभार

'नेबरहुड फर्स्ट' को नीति लिएको भारतले नेपालसँग 'विशेष सम्बन्ध' रहेको सार्वजनिक स्वीकार्यको विषय नै बनेको छ। यद्यपि बेलाबेला नेपाल-भारत सम्बन्धमा निकै ठूला उतारचढावहरु पनि आउने...
सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

सपना देख्न सिकाउने 'मैले नदेखेको सपना'

गिरीको पुस्तकमा गाउँबेसीको महक छ अनि सहरको चमकधमक पनि। पुस्तकमार्फत् उनी  बारम्बार गाउँ पुग्छन् र त्यहाँको सुन्दरतासँगै रुढि, अज्ञानता अनि अशिक्षा पनि देखाउँछन्।
अंक र अनुहारमा अल्झेको समावेशीकरण

अंक र अनुहारमा अल्झेको समावेशीकरण

प्राविधिक पक्षलाई ध्यान दिएर संख्या परिपूर्ति गर्दा पनि केही न केही लाभ सिमान्तकृत तथा पिछडिएको वर्ग, समुदाय र लिंगलाई हुन्छ नै तर जुन गतिमा उनीहरुको...