काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले विभिन्न संस्थाहरूलाई सहयोग गरेको छ। बैंकका शाखाहरूले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मन्दिर, विद्याश्रम तथा अनाथालयलाई सहयोग गरेका हुन्। बैंकको टीकापुर शाखाले टीकापुर नगरपालिकाको जालवादेवी सेवा समितिलाई आठ थान सिसिक्यामेरा हस्तान्तरण गरेको जनाइएको छ।
मन्दिर परिसरभित्र रहेका सभागृह, मन्दिर आदिमा सम्भावित चोरीलगायतका अपराध रोक्ने तथा अन्य सुरक्षामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त सहयोग प्रदान गरेको जनाएको छ। टीकापुर शाखाका प्रमुख पदमबहादुर कठायत र टीकापुर नगरपालिका वडा नम्बर– १ का वडाध्यक्ष मोहन विकले संयुक्त रूपमा जालवादेवी सेवा समितिका अध्यक्ष हर्कबहादुर रावललाई सामग्री हस्तान्तरण गरेको जनाइएको छ।
त्यस्तै, महेन्द्रनगर शाखाले समाज कल्याण अञ्चल बाल अनाथालयलाई खाद्यान्न, झोला, खेलकुद सामग्री तथा अन्य आवश्यक सामाग्री हस्तान्तरण गरेको जनाएको छ। अनाथालयमा रहेका २६ बालबालिकाको आधारभूत आवश्यकता परिपूर्ति गर्नका लागि सहयोग गरेको जनाइएको छ।
महेन्द्रनगर शाखाका प्रमुख पहलमान ठकुल्ला र कञ्चनपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले संयुक्त रूपमा समाज कल्याण अञ्चल बाल अनाथालयका कार्यवाहक अध्यक्ष दिवाकर भट्टलाई सामाग्री हस्तान्तरण गरेको बैंकले उल्लेख गरेको छ।
बैंकको डडेल्धुरा शाखाले पनि अमरगढी नगरपालिकाको उग्रतारा वेद विद्याश्रमका लागि आवश्यक खाद्यान्न हस्तान्तरण गरेको जनाएको छ। विद्याश्रममा अध्ययनरत ३० बटुकहरूको दैनिक आधारभूत आवश्यकता पूरा गर्न सहजता मिलोस् भन्ने उद्देश्यले बैंकले विद्याश्रमलाई उक्त सहयोग प्रदान गरेको जनाइएको छ। बैंकको सुदूरपश्चिम प्रदेशका नायब प्रदेश प्रबन्धक तथा डडेल्धुरा शाखाका प्रमुख चेत पाण्डेले वेद विद्याश्रमका प्राचार्य प्रेमराज भट्टलाई समाग्री हस्तान्तरण गरेको छ।