काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार चितवनको कालिका नगरपालिका-२ चार नम्बर बाटोस्थित भित्री सडकमा ना.१५ प ३७७२ नम्बरको मोटरसाइकल र बा.प्र.०३-०४ प ९५१७ नम्बरको स्कुटर एकआपसमा ठक्कर खाई बुधबार दिउँसो दुर्घटना हुँदा स्कुटर चालक धादिङ गल्छी बस्ने २१ वर्षीय राजकुमार ठकुरीको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको जिल्ला अस्पताल भरतपुरमा उपचार भइरहेको छ।
यसैगरी चितवन, भरतपुर महानगरपालिका-१५ मंगलपुरस्थित सडकमा प्रदेश २- ०३-००१ च ५७९९ नम्बरको पिकअप गाडीको ठक्करबाट सोही ठाउँ बस्ने ३४ वर्षीया सुमित्रा तामाङकी छोरी १८ महिनाकी यान्बी तामाङको बुधबार दिउँसो मृत्यु भएको छ।
उक्त स्थानमा ना.२ ह ११९२ नम्बरको अटोलाई ना.२ ह ७३१७ नम्बरको अटोले ठक्कर दिँदा ना.२ ह ७३१७ नम्बरको अटोमा सवार सुमित्रा तामाङ र उनकी छोरी अटोबाट खस्न गई उनीहरूलाई उक्त पिकअप गाडीले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी यान्बी तामाङको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। तीन वटै सवारी साधन र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
नवलपरासी(पश्चिम), रामग्राम नगरपालिका-१० लक्ष्मीपुरस्थित भित्री सडकमा युपि ५६ एयु ३६८९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने राजेश चौधरीकी छोरी ९ वर्षीया पिंकी चौधरीको बुधबार दिउँसो मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सुनसरी, इटहरी उपमहानगरपालिका-८ भुर्कीस्थित सडकमा को.११ प ९५५५ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१४ बस्ने ३२ वर्षीय उमेश चौधरीको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको हलगडा सामुदायिक हस्पिटल इटहरीमा उपचारको क्रममा मृत्यु भएको हो।
रौतहट, गुजरा नगरपालिका-७ परसवा चोकमा परसवा चोकबाट पल्टुवातर्फ जाँदै गरेको ना.३१ प ७७७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ६० वर्षीय ननु हजाराको बुधबार राति मृत्यु भएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको चन्द्रपुर अस्पताल चपुरमा उपचारको क्रममा मृत्यु भएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको स्थानीय मेडिकलमा उपचार भइरहेको छ।
बारा, जितपुरसिमरा उपमहानगरपालिका-१ स्थित सडकमा जितपुरबाट पथलैयातर्फ जाँदै गरेको बा.४० प ६४४३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बुधबार साँझ दुर्घटना हुँदा चालक सोही उपमहानगरपालिका-१६ बस्ने ४० वर्षीय सन्तराम राईको मृत्यु भएको छ। दुर्घटनामा गम्भीर घाइते भएका उनको बयोधा हस्पिटल गण्डकमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
डुबेर मृत्यु
कैलालीको धनगढी उपमहानगरपालिका-१९ फुलवारी बस्ने ४३ वर्षीय कमल चौधरीको सोही ठाउँस्थित मोहना नदीमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ। माछा मार्ने क्रममा डुबेर बेपत्ता भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बहुलियाबाट खटिएको प्रहरीले स्थानीयको सहयोगमा खोजी गर्ने क्रममा उनको शव फेला परेको हो।
रौतहट, गढीमाई नगरपालिका-२ स्थित बागमती खोलामा नुहाउने क्रममा डुबेर सोही नगरपालिका-२ समनपुर बस्ने १७ वर्षीया तेतरी खातुनको बुधबार दिउँसो मृत्यु भएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।