काठमाडौं- नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७९–८०को फागुन सम्ममा वैदेशिक वस्तु तथा सेवा व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जानाएको छ।
केन्द्रीय बैंकले देशको वर्तमान अर्थिक तथा वित्तिय स्थिति बारे एक प्रेश विज्ञप्ति जारि गर्दै वैदेशिक व्यापारमा आयात, निर्यात र व्यापार घाटाको वृद्धिदर ऋणात्मक रहेको जनाएको हो।
आव २०७९–८० को ८ महिनामा कुल निर्यात वस्तु २९.१० प्रतिशतले कमी भएर १०४ अर्ब ८० करोड कायम भएको बैंकले जनाएको छ। अघिल्लो वर्षको भने सोही अवधिमा ८२.९० प्रतिशतले निर्यात वृद्धि भएको थियो। त्यस्तै, कुल वस्तु आयातमा १९.१० प्रतिशतले कमी आएर १०५८ अर्ब ३९ करोड कायम भएको छ। बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा ३८.६० प्रतिशतले आयात बढेको थियो। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १७.९० प्रतिशतले घटेर ९५३ अर्ब ५९ करोड कायम भएको हो। साथै अघिल्लो वर्षको सोही अवधिमा ३४.५० प्रतिशतले बढेको थियो।
यसैगरी वैदेशिक सेवा व्यापारको घाटामा पनि सुधार भएको राष्ट्र बैंकले जानाएको छ। समीक्षा अवधिमा खुद सेवा आय ४९ अर्ब ८ करोडले घाटामा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय ६६ अर्ब २५ करोडले घाटामा रहेको थियो।
बैंकले सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ९८.६० प्रतिशतले वृद्धि भई ३७ अर्ब १२ करोड पुगेको जनाएको छ। अघिल्लो वर्षको सोही अवधिमा आय १८ अर्ब ७० करोड रहेको थियो। समीक्षा अवधिमा सेवा खाताअन्तर्गत भ्रमण व्यय ५०.७०प्रतिशतले वृद्धि भई ७६ अर्ब १२ करोड पुगेको हो।