सोमबार, वैशाख १५, २०८२

धुलिखेल–खावा सडक निर्माण कम्पनीलाई सात दिनको म्याद

 |  बुधबार, चैत २९, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, चैत २९, २०७९

काभ्रे- काभ्रेपलाञ्चोकस्थित अरनिको राजमार्गअन्तर्गतको धुलिखेल–खावा सडकखण्ड विस्तारको जिम्मा लिएको गौरी–पार्वती निर्माण सेवा प्रालिलाई निर्माणको कामलाई निरन्तरता दिन आजदेखि सात दिनको म्याद दिइएको छ।

सडक डिभिजन कार्यालय भक्तपुर र निर्माण कम्पनीबीच २२ महिनामा सडक विस्तार एवं स्तरोन्नतिको काम सक्ने गरी २०७९ जेठ २० गते सम्झौता गरिएको थियो। चार किलोमिटर सडकखण्ड विस्तार एवं निर्माण सुरु भएको दश महिना बितिसक्दा दश प्रतिशत मात्रै काम गरी रोकेपछि सडक डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय तथा जिल्लास्थित जनप्रतिनिधिले कामलाई निरन्तरता दिन आजदेखि सात दिनको म्याद दिएका हुन्। निर्माणकार्य अलपत्र अवस्थामा रोक्दा उक्त सडकखण्डमा यात्रुले निकै सास्ती खेप्दै आएका छन्। 

सडक डिभिजन कार्यालय भक्तपुरका प्रमुख मेघराज मरासैनीले सडक निर्माण सुरु भएको ४७ प्रतिशत समय बितिसक्दा दश प्रतिशत मात्रै काम भएको बताए। उनका अनुसार मङ्गलबार जिल्ला प्रशासन कार्यालय धुलिखेलमा भएको सरोकारवालाबीचको छलफलमा एक हप्ताभित्र सडक निर्माणले गति नलिए निर्माण कम्पनीलाई ठेक्का नै खारेज गर्नेसम्मको चेतावनी दिइएको छ। “पटकपटक लिखित र मौखिक ताकेता गर्दा पनि ठेकेदार सम्पर्कमा नआएकाले बाध्य भई यसअघि तीन दिने स्पष्टीकरण सोधेका थियाँै, स्पष्टीकरण पनि चित्तबुझ्दो आएको थिएन, अब सात दिनको म्याद दिएका छौँ”, मरासिनीले भने। 

मरासिनीका अनुसार सात दिनभित्र चित्तबुझ्दो गरी तीव्रगतिमा कामलाई निरन्तरता दिइएन भने सम्झौता रद्द गर्नेदेखि कालोसूचीमा राख्नेसम्मको कारबाही गरिने छ। डिभिजन कार्यालयले छ महिनाको अवधिमा निर्माण व्यवसायीलाई नौ पटक पत्राचार गरेकोमा निर्माण ढिलाइका विषयमा कुनै जानकारी नदिएपछि विभाग ठेक्का रद्द गर्ने प्रक्रियामा समेत पुगेको बताइएको छ। सम्झौताअनुसार आगामी २०८० चैत १९ सम्म काम पूरा गर्नुपर्नेछ। 

काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले निर्माण व्यवसायीलाई कामलाई तीव्रता दिन एक हप्ताको ‘अल्टिमेटम’ दिइएको र समय सीमासम्म पनि निर्माण व्यवसायीले कामलाई अटेर गरेमा कानूनबमोजिम कारबाहीको प्रक्रिया अघि बढाइने बताए। 

Metro Mart
worldlink

उक्त सडकखण्ड विस्तार एवं स्तरोन्नतिका लागि व्यवसायीसँग २० करोड १९ लाखमा सम्झौता गरिएको थियो। सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्र डिबिएम र आस्फाल कालोपत्रे गर्ने कार्यालयले जनाएको छ। साँघुरो सडकका कारण बर्सेनि ट्राफिक जाम बढ्दै गएपछि उक्त सडकखण्ड विस्तार गर्न लागिएको हो। 

निर्माण व्यवसायीले सडक विस्तार गर्नका लागि केही रुख काट्नुपर्ने र सडकमा पर्ने विद्युत्का पोल स्थानान्तरण गर्नुपर्ने कारण देखाउँदै निर्माणको काम एक महिनादेखि रोकेको हो। केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्र गर्न लागिएको थियो। 

उक्त सडक हुँदै उत्तरी नाका तातोपानी पुग्ने गरिन्छ। यही सडक काभ्रेपलाञ्चोकबाट सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायतका विभिन्न ठाउँबाट आवतजावतका लागि प्रयोग हुन्छ। 

प्रकाशित: Apr 12, 2023| 21:12 बुधबार, चैत २९, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्