काठमाडौं- काठमाडौं महानगरपालिकाले सहकारी संघसंस्थालाई मर्जरका लागि प्रोत्साहन गर्ने भएको छ।
आवश्यकताभन्दा बढी सहकारी खुल्दा जोखिमसँगै क्षमतामा समेत ह्रास आएको निष्कर्ष निकाल्दै महानगरपालिकाले मर्जरमा जान प्रोत्साहन गर्ने भएको हो।
काठमाडौं महानगरपालिका सहकारी विभागले मर्जरमा जाने सहकारीलाई दुई वर्षसम्मको व्यावसायिक आयकर छुट दिने बताएको छ। मर्जर भएको आर्थिक वर्ष र लगत्तै अर्को वर्षको व्यवसाय कर छुट दिइने भएको हो।
साथै महानगरपालिकाभित्रका सहकारीको क्षमता वृद्धि एवम् उत्पादनमा केन्द्रित गर्न महानगरले महिला सहकारीलाई वडामा व्यवसाय दर्ता गर्दा कर छुट दिने व्यवस्था समेत मिलाएको छ।
हाल काठमाडौं महानगरको क्षेत्राधिकारभित्र १९ सय ५५ वटा सहकारी संस्था सञ्चालनमा छन् । यीमध्ये अधिकांशले बचत तथा ऋणको काम गर्छन्।